अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराइँदै 

काठमाडौँ । सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिहरूलाई पनि आबद्ध गराउने भएको छ ।
बुधवारदेखि नै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा दायरा बिस्तार गर्नेगरी शुभारम्भ गर्ने कार्यक्रम भएपनि प्रधानमन्त्री पत्नी सीता दाहालको निधनको कारण रोकिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गरी  स्वरोजगार र अनौपचारिक क्षेत्रमा रहेका व्यक्तिहरूको कोषमा आबद्धता गराउने प्रक्रिया औपचारिक रूपमा छिटै गर्ने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए ।
उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार रहेका श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ सरकारले स्वीकृत गरेको बताए । उनले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गर्ने कार्यक्रम रहेपनि विशेष कारणवश हुन नसकेको बताए । उनले कोषले सुरुवाती अवस्थामा घरेलु श्रमिक,कृषि क्षेत्रमा काम गर्ने श्रमिक,निर्माण क्षेत्र र यातायात क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई आबद्ध गराउने योजना रहेको बताए ।
उनले सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने,स्वरोजगार श्रमिकलाई पारिश्रमिकको ३१ प्रतिशत हुन आउने रकम कोषमा जम्मा गर्ने, ३ गुणासम्म जम्मा गर्नसक्ने व्यवस्था गरेको बताए । उनले उक्त व्यवस्था अन्तर्गत श्रमिकहरूलाई औषधि उपचार,स्वास्थ्य,मातृत्व सुरक्षा,दुर्घटना,अशक्तता,आश्रित परिवार सुरक्षा योजना लगायत ६० वर्षपछि बाँचुन्जेल पेन्सनको व्यवस्था गरिएको पनि बताए ।
कार्यकारी निर्देशक ज्ञवालीले अनौपचारिक क्षेत्रमा श्रमिकहरूको लागि न्यूनतम आधारभूत पारिश्रमिक २०.३७ प्रतिशत हुन आउने गरी मासिक रूपमा कोषमा जम्मा गरेपछि औपचारिक क्षेत्रका श्रमिक सरह सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको बताए । उनले कोषमा अहिलेसम्म  ६ लाख २५ हजार भन्दा बढी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएको बताए । उनले कोषले उपलब्ध गराउने सुविधाहरू कतिपय असीमित दायित्व पनि रहेको बताए ।
उनले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गर्नु चुनौतीपूर्ण रहेको पनि बताए । उनले नेपालको ट्रेड युनियन आन्दोलनमा करिब दुई दशकको आन्दोलनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाका योजनाहरू भित्र आबद्ध गरी सुरक्षा प्रदान गर्ने उद्देश्य रहेको बताए ।
उनले भने, ‘अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार रहेका श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ सरकारले स्वीकृत गरेको थियो । यसले कभर गर्ने क्षेत्र ठुलो छ । आज नै प्रधानमन्त्रीबाट उद्घाटन गर्ने तयारी थियो । तर दुखद घटनाको कारण आज औपचारिक शुभारम्भ गर्न सकेनौँ । छिटै औपचारिक शुभारम्भ गर्नेछौँ । अनौपचारिक क्षेत्रमा रहेका र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने गरी कार्यविधि तयार भएको छ । अनौपचारिक क्षेत्रका श्रमिक भनेर राजपत्रमा प्रकाशित भएको छ । कोषले सुरुवाती अवस्थामा घरेलु श्रमिक,कृषि क्षेत्रमा काम गर्ने श्रमिक,निर्माण क्षेत्र र यातायात क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई पाइलटिङ गरेर आबद्ध गर्ने पहिलो योजना हो । नेपाल सरकारले तोकेको पारिश्रमिक जुन छ त्यसलाई आधार मानेर त्यसमा योगदान गने,स्वरोजगार श्रमिकलाई पारिश्रमिकको ३१ प्रतिशत हुन आउने रकम कोषमा जम्मा गर्ने,त्यसको ३ गुणासम्म जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।
त्यो व्यवस्था अन्तर्गत श्रमिकहरूलाई औषधी उपचार,स्वास्थ्य,मातृत्व सुरक्षा,दुर्घटना,अशक्तता,आश्रित परिवार सुरक्षा योजना लगायत ६० वर्षपछि बाँचुन्जेल पेन्सनको व्यवस्था गरिएको छ । अनौपचारिक क्षेत्रमा श्रमिकहरूको लागि न्यूनतम आधारभूत पारिश्रमिक २०.३७ प्रतिशत हुन आउने गरी मासिक रूपमा कोषमा जम्मा गरेपछि अगाडिका सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ । अहिले पछिल्लो समय ६ लाख २५ हजार भन्दा बढी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । उहाँहरूले विभिन्न किसिमका सुविधाहरू लिनु भएको छ । कोषले उपलब्ध गराउने सुविधाहरू कतिपय असीमित दायित्व भएकाहरू पनि छन् । अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गर्नु चुनौतीपूर्ण हो । यसभित्र नेपालको ट्रेड युनियन आन्दोलनमा करिब दुई दशकको आन्दोलनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाका योजनाहरू भित्र आबद्ध गर्नसक्यो भने उहाँहरूको सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने खालको संयुक्त अभियान हो । संयुक्त अभियानले मूर्त रुप लिने अवसर पनि हो ।’
कार्यकारी निर्देशक ज्ञवालीले कोषले पालिकाहरूसँग सम्झौता गर्ने र त्यो भित्र आबद्ध भएका विभिन्न क्षेत्रमा काम गरिरहेका अनौपचारिक श्रमिकहरू र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पहिचानको आधार, परिचय दिने आधार र सम्भव भएसम्म स–योगदान गरेर त्यसको व्यवस्थापन पनि पालिका स्तरबाटै गर्ने योजना रहेको बताए । उनले कोषले बुधवार स्याङ्जाको फिदिमखोला गाउँपालिकासँग सम्झौता गरेको बताए । उनले पालिकाले २०७६ सालदेखि पालिका अन्तर्गत कार्यरत अनौपचारिक श्रमिकहरूलाई योगदानमा सामाजिक सुरक्षा योजनाहरू उपलब्ध गराइरहेको योजनालाई सामाजिक सुरक्षा कोष अन्तर्गत उपलब्ध गरायो उद्देश्यले सम्झौता गरेको बताए ।
उनले ललितपुरको बागमती गाउँपालिका दुग्ध उत्पादक किसानहरू सामाजिक सुरक्षामा आबद्ध हुने प्रक्रिया अघि बढेको बताए । उनले कोषले सबै काम प्रविधिमैत्री बनाएको बताए । उनले औपचारिक क्षेत्रका श्रमिकहरूको अनिवार्य आबद्धता अनुसार अनिवार्य आबद्धता गर्ने कानुनी प्रक्रिया र श्रमिकलाई दिनुपर्ने सेवा सुविधामा कोष प्रतिबद्ध रहेको बताए ।
उनले भने ‘ कोषले पालिकाहरूसँग सम्झौता गर्ने र त्यो भित्र आबद्ध भएका विभिन्न क्षेत्रमा काम गरिरहनुभएका अनौपचारिक श्रमिकहरू र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पहिचानको आधार, परिचय दिने आधार र सम्भव भएसम्म स–योगदान गरेर त्यसको व्यवस्थापन पनि पालिका स्तरबाटै हुने गरी अघि बढ्दा कोष सफल रूपमा पुर्याउन सक्छौँ । त्यही अनुरूप आज कोषले स्याङजाको फिदिमखोला गाउँपालिकासँग सम्झौता गरेका छौँ । जुन पालिकाले २०७६ सालदेखि पालिका अन्तर्गत कार्यरत अनौपचारिक श्रमिकहरूलाई योगदानमा सामाजिक सुरक्षा योजनाहरू उपलब्ध गराइरहेको थियो । त्यो जुन योजनाहरू छन् त्यसलाई सामाजिक सुरक्षा कोष अन्तर्गत उपलब्ध गरायो उद्देश्यले सम्झौता गरेका छौँ । त्यस्तै ललितपुरको बागमती गाउँपालिका दुग्ध उत्पादक किसानहरू सामाजिक सुरक्षामा आबद्ध हुने प्रक्रिया अघि बढेको छ । कोषले सबै काम प्रविधिमैत्री बनाएको छ । औपचारिक क्षेत्रका श्रमिकहरूको अनिवार्य आबद्धता हो । अनिवार्य आबद्धता गर्ने कानुनी प्रक्रिया र श्रमिकलाई दिनुपर्ने सेवा सुविधामा कोष प्रतिबद्ध छ । तर अनौपचारिक क्षेत्रमा श्रमिक र स्वरोजगारमा रहेका श्रमिकको लागि अनिवार्य होइनन् । उहाँहरू ऐच्छिक रूपमा आबद्ध हुने हो । आधारहरू तयार भएको छ । ऐछिक भएपनि अनौपचारिक श्रमिकहरू कोषमा आबद्ध हुने आधारहरूको सन्दर्भमा योगदानमैत्री सुविधाहरू उपलब्ध गराउने र कोषले दिनसक्ने सेवा सुविधाबारेमा जानकारी दिन सक्यो भने धेरै श्रमिक आबद्ध हुनेछन् ।’
उनले अनौपचारिक क्षेत्रमा श्रमिक र स्वरोजगारमा रहेका श्रमिकको लागि योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्धता अनिवार्य नभएको बताए । उनले अनौपचारिक र स्वरोजगार श्रमिकहरू ऐच्छिक रूपमा आबद्ध हुनसक्ने बताए । उनले ऐछिक भएपनि अनौपचारिक श्रमिकहरू कोषमा आबद्ध हुने आधारहरूको सन्दर्भमा योगदानमैत्री सुविधाहरू उपलब्ध गराउने र कोषले दिनसक्ने सेवा सुविधाबारेमा जानकारी दिनसके धेरै श्रमिक आबद्ध हुने क्रम बढ्ने अपेक्षा रहेको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =