मकालुमा गीतको कथा

‘बिस्तारै बिस्तारै’ गायक रोहित जोन भन्छन्- ‘बजारमा टिक्नको लागि गीत बनाउँदिन’

त्यो बेला रोहित जोन क्षेत्री काठमाडौँका थुप्रै रेष्टुरेन्टहरूमा गाउने गर्थे । 

एक दिन उनलाई साथीले आस्था तामाङ मास्केको कन्सर्टमा लगे । उनको ‘जिन्दाबाद’ भन्ने गीत सार्वजनिक हुने दिन थियो त्यो । तर साथीको  काम परेर उनीहरू बिचमै निस्किनु पर्‍यो । उनी गीत सुनेर फर्किए । 

त्यति बेला दैनिक १६/१७ घण्टासम्म लोडसेडिङ हुने गर्थ्यो । त्यो दिन पनि साँझको बेला बत्ती थिएन । छेउमा गाडीहरू दौडिइरहेका थिए । उनी ललितपुरको भनिमण्डल बास्केटबल कोर्ट नजिकै बस्थे । 

उनीहरूले इन्भर्टरबाट सानो सिएफएल बत्ती बालेका थिए ।

त्यहीँ बेला उनले ‘बिस्तारै बिस्तारै’ गीत लेखे ।

बिस्तारै बिस्तारै

डुब्दै छु तिम्रो 

मायाको सागरमा म 

दुःख आँसु सबै बिर्सेर 

रम्न चाहन्छु तिम्रै 

न्यानो अंगाोलमा म 

उनलाई यो गीत लेख्न धेरै समय नै लागेन । त्यो कुरा सम्झिँदा अझै पनि छक्क पर्छन् । किनभने उनलाई अझै पनि पहिलो पटकमै गीत पूरा गर्न गाह्रो हुन्छ। कहिले शब्द भेट्दैनन् त कहिले धेरै कोरे पछि मात्र तिन चार दिनमा एक दुई वटा लाइन भेट्छन् । तर त्यति बेला भने उनले गीतको म्युजिक र शब्द सबै एकैचोटिमा सकाए । सायद आस्था तामाङ मास्केको कन्सर्टले प्रेरित गर्‍यो कि ? 

‘के त्यो गीत कसैप्रति समर्पित थियो ?’

अहँ होइन । उनले खासमा त यो गीत प्रकृतिको बारेमा लेख्छु भनेर सुरु गरेका रहेछन् । सुरुमा आएको धुन त्यस्तै थियो जस्तो लागेको थियो । तर कसरी प्रेम गीत लेख्न पुगे ।  

‘मैले एउटा गीत लेखेको छु सुन है’ 

गीत त बनिसकेको थियो । केही समय त्यसलाई खेलाएपछि उनले आफ्नो मिल्ने साथी अशेषलाई गीत सुनाए । उनी रोहितकोमा आइरहेको हुन्थे । एकदमै राम्रो तबला बाधक थिए । 

उनले गीत गाउन थालेसँगै असिसले छेउमा भएको तबला तानेर बजाउन थाले  । 

उनले उसले यस्तो मिठो तबला बजाए कि त्यो सुनेपछि गीतमा तबला पनि हाल्ने रोहितले सोचे । किनकि उनले बजाइरहेको गिटार, असिसले बजाएको तबला र उनको भोकल मज्जाले मिसिइरहेको थियो । असिस नेपाली साहित्यमा पनि राम्रो भएकोले उनले सोधे ‘यसमा केही गर्नुपर्ने छ भने भन ।’

‘केही गर्नु पर्दैन, जा रेकर्ड गर ।’ अशेषले भनिदिए । 

उनी त्यसबेला झम्सिखेलकै काठमाडौँ ज्याज कन्जर्भेटरिमा म्युजिक सिक्ने र सिकाउने गरिरहेका थिए । उनले आफ्नो गीत त्यहाँ भएका दुई तीन जनालाई पनि सुनाए । सबैले मनपराए । मन्जिल केसीले त्यही स्टुडियोमा काम गर्थे । उनले पनि ‘यो गीत निकाल्दे ’ भनेपछि उनलाई थप आँट आयो । कन्जर्भेटरीमा नै रहेका मार्कस डेङ्गेट नामका एक अस्ट्रेलियाली शिक्षकलाई बेस गितार बजाउन अनुरोध गरे । मार्कसले  गीत सुनेपछि एक घण्टा समय लिए । अनि बजाइदिए । रेकर्ड र मिक्सिङ गरिदिने मञ्जिल केसीले नै गितार सोलो पनि बजाइदिए । 

यसरी लेखेको छ/सात महिनापछि ‘बिस्तारै बिस्तारै’ गीत त्यहीँ रेकर्ड भयो ।  

गीत निस्किएपछि उनले गीतलाई साउन्ड प्लटमा राखेँ । त्यहाँबाट राम्रो प्रतिक्रिया आयो । त्यसबाट हौसला पाएपछि म्युजिक भिडियो बनाउने निर्णय गरेँ । उनलाई  फर्स्ट फ्याक्ट्रीको प्रोडक्सन साँच्चै मन पर्थ्यो । तर त्यसको सञ्चालक रोहितलाई भने कहिल्यै भटेका भने थिएनन् । फेसबुक मार्फत मेसेज गरेँ । म्युजिक भिडियो बन्यो । 

भिडियो युट्युबमा गयो । त्यसले उनले सोचेको भन्दा धेरै प्रतिक्रिया आयो । आफूले केही छिनमा लेख्दै कम्पोज गरेको गीत त्यस्तरी जाला भनेर उनले सोधेका पनि थिएनन् । भने ‘मैले सपनामा पनि सोचेको थिइन । यो जुनीमा यस्तो हुन्छ भनेर सोचेकै थिइन ।’

‘किन ?’

उनले एसएलसी दिएपछि नै म्युजिक नेपालमा काम गर्न थालेका थिए । त्यसैले  कसैको गीत चल्न अनि कुनै गीतबाट कोही चिनिन सजिलो छैन भन्ने पनि उनलाई थाहा भइसकेको थियो । म्युजिक भिडियो बनाउने र मिडियामा वितरण गर्ने कुराहरू आफूबाट सम्भव छैन जस्तो उनलाई लाग्थ्यो । साथै मानिसहरूबाट यति धेरै माया पाउनको लागि आफूले केही अद्भुत लेखेको छु भन्ने उनलाई लाग्दैन थियो । 

एक दिन उनी दूध किन्न जाँदै थिए । हिँड्दै गर्दा त्यहाँबाट एक जना मान्छे उनलाई चिनेको चिनेको जसरी हेर्दै आए । अनि आफ्नो साथीलाई कोटाउँधै ‘ऊ हेर्न ओइ, रोहित जङ जस्तै मान्छे’ भनेर गए । 

त्यो दिन उनलाई, मान्छेहरूले आफूलाई चिन्न लागेछन् भन्ने महसुस भयो । बिस्तारै गीत अझै फैलिँदै गयो । बाटोमा हिँड्दा फोटो खिच्न आउन लागे । उनी लजालु स्वभावका मान्छे भएकोले, त्यसरी मान्छेहरू बोल्न आउँदा अप्ठ्यारो लाग्थ्यो । कसरी जवाफ दिने भन्ने उनलाई थाहा थिएन।  

‘अहिले त लाग्दैन होला नि ?’

‘अहिले नि लाग्छ कहिले काहीँ ।’ रोहित हाँस्दै भन्छन् 

त्यति बेला उनलाई सङ्गीतमा बाटो देखाउने कोही थिएनन् । उनले जे सिके आफ्नै समयसँगै सिके । ‘बिस्तारै बिस्तारै’ गीत चलेपछि ‘अब अर्को गीत कहिले त?’ भन्ने प्रश्न आउन लाग्यो । बजारमा टिकी रहनको लागि अर्को गीत लेख्नुपर्ने दबाब भए पनि उनले त्यसकै निम्ति आफूलाई भने कहिल्यै दबाब भने दिएनन् । अझै पनि उनी बजारमा टिक्नका लागि गीत बनाएको बनायै गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्दैनन् । यसो गर्दा कलाप्रति वफादार नभएको उनलाई लाग्छ । नामकै लागि लेखिने गीतमा स्वार्थ लुकेको हुने भएकाले त्यसरी उनी कलामा लिन हुन चाहँदैनन् । 

उनले आफ्नो गायन यात्राको क्रममा धेरै संयोगहरू भेट्टाएका छन् । पहिलो पटक स्टेजमा ‘जिन्दगीको के भरोसा’ भन्ने गीत गाएपछि कर्ण दासको हातबाट पुरस्कार पाएका थिए । त्यो उनको पहिलो पुरस्कार थियो । ‘बिस्तारै बिस्तारै’ ले सनसनी मच्चाएपछि उनले विभिन्न दिग्गज गायकहरूसँग काम गर्ने अवसर पाए । 

त्यही बिचमा अर्को संयोग पनि पर्‍यो । उनी १९७४ एडी ब्यान्डका गीतहरू सुन्दै हुर्केका थिए । उनीहरूको गीत असाध्यै मनपराउँथे । एक दिन उनी झम्सिखेलकै मोक्ष रेष्टुरेन्टमा गीत गाइरहेका थिए । १९७४ एडी ब्यान्डका सञ्जय श्रेष्ठले उनलाई ‘एड्रियन दाइ (एड्रियन प्रधान) यति बेला ब्रेकमा हुनुहुन्छ । यो बेला तिमी र हामी सँगै केही कार्यक्रम गरौँ न’ भनेर प्रस्ताव राखे । सुरुमा दाइले मजाक गर्नुभयो कि जस्तो लागेपनि ठट्टा गरेको होइन भन्ने थाहा पाए पछि सँगै प्र्याकटिस गर्न लागे । उनले ब्यान्डसँग पहिलो कन्सर्ट गरे । त्यो बेलाको क्षण सम्झिँदै भावुक हुँदै उनी भन्छन् कन्सर्ट गर्न स्टेजमा पुग्दा पनि विश्वास लागेको थिएन र जब गीत गाउन लागे आँखा रसाएर आयो ।’ 

१९७४ एडी ब्यान्डसँग भेट्ने सपना पनि देख्न डराएका रोहितको लागि उनीहरूसँगै लिड गायकको रूपमा काम गर्ने मौका पाउनु ठुलो उपलब्धि थियो । उनकै भाषामा भन्दा उनले नदेखेको सपना साकार हुनु जस्तै थियो । 

उनको घरमा सानैदेखि हार्मोनियम तबला र गिटार हुन्थ्यो । उनी नजानी नजानी बजाउने गर्थे । त्यसो गर्दा सबैभन्दा रमाइलो मान्थे । पछि उनले स्कुलमा ड्रम सिके । त्यसबाट आधारभूत कुरा थाहा भए पछि उनलाई सबै वाद्य यन्त्रहरूले आकर्षित गर्‍यो । उनी त्यसैले एउटा गायकलाई बाजाहरूको ज्ञान हुनु आवश्यक छ भन्ने ठान्छन् । भन्छन् ‘गायकको शरीर आफैमा एउटा यन्त्र हो त्यसैले यसलाई ट्युन गर्नका लागि गायकलाई पनि बाजा चाहिन्छ ।’ 

उनी रोहित ड्रम, पियानो, किबोर्ड, गितार र हार्मोनियम जस्ता बाजा बजाउन पोख्त छन् । 

‘मनपर्ने बाजा चाही ?’

‘पियानो र गितार ।’

उनका लागि सङ्गीत भनेको आध्यात्मिक यात्रा हो । रियाज गर्दा उनलाई सन्तुष्टि महसुस हुन्छ । गाउँदा वा प्रस्तुति दिँदा उनी ध्यानमा लीन भएको महसुस गर्छन् । उनी  सङ्गीतमा मनोरञ्जनसँगै शान्ति पनि पाउँछन् । त्यसैले पनि यसप्रतिको माया अझै बढिरहेको छ । यसको महत्त्व उनी अझै बढी बुझिरहेका छन् ।

उनी गीत लेख्न पनि मन पराउँछन् । आफूलाई फिल्मी व्यक्तिको रूपमा वर्णन गर्छन् ।

‘मलाई भूमिका बाँधेर आफ्ना भावनाहरू व्यक्त गर्न मनपर्छ’ मुस्कुराउँदै भन्छन् । उनका गीतहरूमा सुन्दा पनि त्यो कुरा थाहा हुन्छ । 

खुला पङ्ख फिँजाइ आकाशमा

उडेको चरी झैँ 

मुक्त हुन चाहन्छु म

तिम्रो मायामा म ।

उनका हजुरबुवा कविता र कथाहरू लेख्नुहुन्थ्यो । उनका बुबा र आमा पनि लेख्नुहुन्छ । त्यसैले उनीमा पनि त्यो गुण आएको हुनसक्छ । तर सानैदेखि गीत लेख्न मन परेपनि उनी  दैनिक रूपमा भने लेख्न सक्दैन थिए। 

उनलाई सङ्गीतका विभिन्न प्रकारहरू धर्मसँग मिल्दोजुल्दो लाग्छ । बुद्ध धर्म, हिन्दु धर्म, इस्लाम आदि चाहे जुनसुकै धर्म किन नहोस् अन्त्यमा हामीलाई तिनले एउटै कुरा सिकाउँछन् । उस्तै आस्थामा पुर्‍याउँछन् । उनी भन्छन् ‘सङ्गीत पनि त्यस्तै नै हो । ज्याज, पप, रक होस या शास्त्रीय सङ्गीत ,त्यहाँ हुने त उनी भावना नै हो अनि त्यही १२ सुरहरू ।  केही जटिल हुन्छन् त केही सरल । तर जुनै भएता पनि अन्तिममा बज्ने त सङ्गीत नै हो । 

‘यी मध्ये पनि कुनै विशेष मन पर्छ ?’

‘मलाई मनै खाने विधाचाहिँ शास्त्रीय सङ्गीत हो ।’ उनी भन्छन् । 

उनलाई आफ्नो ‘चाहना’ र ‘ए बादल’ गीत रचनाको आधारमा ‘बिस्तारै बिस्तारै’ भन्दा राम्रो भएको जस्तो लाग्छ ।

सन् २०१५ को पृथ्वी दिवसमामा आयोजित कार्यक्रममा उनले वसन्तपुरमा प्रस्तुति दिएका थिए । यो भूकम्पभन्दा पहिलाको कुरा थियो । उनी १९७४ एडीसँग गाउँदै थिए । त्यो दिन इन्द्रजात्राको दिन थियो । नि:शुल्क कन्सर्ट । त्यो विशेष कन्सर्टलाई उनी कहिल्यै भुल्दैनन् । हजारौँ मानिसहरू थिए । उनी धेरै नर्भस भएर  दुई पटक बान्ता गरिसकेका थिए । आफ्नो पावरवाला चस्माको सट्टा साथीको कालो चस्मा लगाएर स्टेजमा पुगे । 

तर स्टेजमा गएको पाँच सेकेन्डमै उनको सारा घबराहट हट्यो ।

त्यसमा  ‘नेपाली हो’ गीत गाउँदा त आधा मान्छे नै उचालिए जस्तै भयो । स्टेजको नजिक नजिकसम्म मान्छेको हुल आइरहेको त्यो दृश्य उनी शब्दमा वर्णन नै गर्न सक्दैनन् । 

अहिले उनको झम्सिखेलमा 3/4 नामको रेस्टुरेन्ट छ । कोभिड महामारीको समयमा यदि भोलि गाउन नसक्दा के गर्ने भन्ने सोच आएपछि उनले भरपर्दो केही गर्ने योजनाअनुसार व्यवसाय गर्ने निर्णय लिएका हुन् । रेस्टुरेन्टबाटै गीत गाएर आफ्नो साङ्गीतिक करियर सुरु गरेकोले अनि रेस्टुरेन्ट र सङ्गीत एक अर्का सँग मिल्न सक्ने क्षेत्र भएकाले पनि त्यो सोच आएको हो । अहिले उनी आफ्नै रेस्टुरेन्टमा साप्ताहिक साङ्गीतिक कार्यक्रम सञ्चालन गर्ने गर्छन् । त्यसरी सङ्गीतसँग सम्पर्कमा रहन्छन् र अन्य मानिसहरूलाई आफ्नो साङ्गीतिक मैदानमा ल्याउँछन् ।

सङ्गीतको क्षेत्र वास्तवमै राम्रो छ । यद्यपि यहाँ दुई प्रकारका बजार छन् । एउटा, जहाँ कलाकार कलामा समर्पित हुन्छ र अर्को मनोरञ्जन क्षेत्र जहाँ शिखरमा टिक्न एकदमै गाह्रो छ । कलामा समर्पित हुनेहरूलाई आर्थिक स्थायित्व पाउन गाह्रो छ । किनकि शास्त्रीय सङ्गीत र ज्याजले ठुलो समर्पण खोज्छ । ती धेरैले मनपराउने विधा पनि हैनन् । अनि मनोरञ्जन क्षेत्रका कलाकारहरूको तुलनामा प्रसिद्ध पनि मिल्दैन । 

उनी पनि ती दुई क्षेत्रको दोसाँधमा उभिएका छन् । तर यो नेपालमा मात्र नभई संसार भरिका आर्टिस्टहरुले भोगिरहेको कुरा भएकाले उनी धेरै कुरा समयलाई छोडिदिन्छन् । अनि गाइरहन्छन्, 

अन्धकारको उजेली

जुनेली रातको जुन 

तिमी मेरो बनिदेऊ 

सुस्तरी सुस्तरी 

गाउँदै छु यो मनले 

गीत तिम्रै नामको । 

 

बिस्तारै बिस्तारै ………

पूरा गीत सुन्ने लिंक :- 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *