८४ मा कांग्रेसले जुनै पार्टीसँग मिलेपनि जित्दैन : प्रदीप पौडेल

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनैपनि पार्टीसँग मिलेपनि काँग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले काँग्रेस सरकारमा भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिनसके २०८४ सालमा कुनैपनि नयाँ पार्टीहरूबाट काँग्रेस डराउनु नपर्ने बताए । उनले काँग्रेसको मुख्य कुरा मिसन ०८४ हो भने उहाँले सरकारमा अहिले भएको बेलामा कजनताका लागि काम गर्न नसके काँग्रेस विजयी नबन्ने भन्दै सरकारमा रहेका मन्त्रीहरूले जनताका पक्षमा काम गर्न आग्रह गरे ।

उनी भन्छन्, ‘हामी जुन जुन सरकारमा छौँ, ती सरकारमा सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा छन्, जनतालाई डेलिभर गर्न चाहन्छन् भन्ने म्यासेज हामीले दिन सक्यौँ भने २०८४ को चुनावमा कसैसँग मिल्नु पर्दैन, एक्ल चुनाव जितिन्छ । कसैसँग डराउनु पर्दैन, ८४ मा चुनाव जित्ने किन सरकारमा जान होइन, अहिले पनि हामी सरकारमा त छौँ । हामीले अहिले सरकारमा रहेका ठाउँमा जनताको निम्ति काम गरेर देखायौँ भने ८४ को चुनावमा जो जो नयाँ आए पनि हामीलाई कसैले केही गर्न सक्दैन । सरकार यसरी नै चलिरहने हो भने ८४ मा जो जोसँग मिलेपनि हामीले चुनाव जित्न सक्दैनौँ । त्यसैले मुख्य कुरा मिसन ८४ हो भने हामीले जहाँबाट ८४ लाई मिसन बनाउनुपर्ने हो त्यहाँबाट बनाऔँ ।’

नेता पौडेलले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह गरे । पार्टी र पार्टीका नेताका बारेमा राम्रो लेख्नुपर्ने उहाँको भनाइ थियो । नेता पौडेलले चुनावका बेला प्रतिष्पर्धीले सोही पार्टीका विरुद्धमा लेखेको प्रमाण देखाएर टिकट लिएर जाने गरेका भन्दै आफ्नो प्रमाण आफैँले पेस गर्ने काम नगर्न आग्रह गरे ।

उनले भने, ‘मैले डिजिटल युनिटको कुरा गरेँ, यसमा म के भन्न चाहन्छु भने साथीहरूलाई सामाजिक सञ्जालमा पार्टीविरुद्ध नलेख्न आग्रह गर्न चाहन्छु । रिस उठ्छ लेख्नुहुन्छ, भोलिपल्ट मेट्नुहुन्छ । हामीले जान्न के प¥यो भने त्यो रातभरमा थुप्रैले स्क्रिन सर्ट गरेर राखिसक्छन् । हामी त अनि महत्वकांक्षी छौँ, आकांक्षा छ, चुनाव आउँछ, प्रतिस्पर्धामा उत्रिन्छौँ । यस्तो लेख्ने साथी पदका लागि आकांक्षा प्रस्तुत गर्नुहुन्छ, अर्कोले स्क्रिन सर्ट गरेर अर्को प्रतिष्पर्धीले देखाइदिन्छ, त्यसैले आफ्नै विरुद्ध प्रमाण जुटाउने काम नगरौँ, सकेसम्म पार्टीको पक्षमा, पार्टीका नेताको पक्षमा लेखौँ ।’

नेता पौडेलले टोल, वडा सम्मेलन गरेर पार्टीलाई बलियो बनाउन सुझाव संकलन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =