काँग्रेस जिल्ला सभापतिहरूको गुनासो–पार्टी गतिविधि शिथिल भयो

काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले पार्टीको गतिविधिहरू शिथिल हुन थालेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरूको बैठकमा बोल्ने सभापतिहरूले पार्टीको गतिविधिहरूमा शिथिलता आउन थालेको धारणा राखेका हुन् । उनीहरूले पार्टी गतिविधिमा शिथिलता आएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । आ–आफ्नो धारणा राख्ने क्रममा सभापतिहरूले पार्टीलाई पुनः जागरण गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । उनले सरकारमा मन्त्री रहेका सभापतिहरूले आफूले सरकारमा भोगिरहेको अप्याराहरूको बारेमा कुरा राखेका र सरकारमा नभएका जिल्ला सभापतिहरूले भने सरकारसँग आफूहरूको कुनै समन्वय नभएको गुनासो राखेका बताए ।
उनले भने ‘मन्त्री नै रहनुभएका पार्टी सभापतिहरूले मन्त्रीलाई परेका अप्याराहरूको  बारेमा राख्नुभएको छ । मन्त्री नहुनुभएका माननीय सदस्य मात्रै रहनुभएका पार्टी सभापतिहरूले सरकारसँगको समन्वय नभएको गुनासो राख्नुभएको छ । सँगसँगै पार्टी सभापतिहरूले पार्टीका कार्यक्रमहरूमा केही शिथिलताहरू हुन थाले । केन्द्रमा आसन्न बैठकले त्यस विषयमा पनि दरिलो ढङ्गबाट छलफल गरोस् । गहिरो ढङ्गबाट यसलाई छलफल गरोस् । विश्लेषण गरोस् र पार्टीलाई पुर्नताजगी गर्नका लागि विशेष कार्यक्रम ल्याओस् भन्ने पार्टी सभापतिहरूको धारणा छ ।’
जिल्ला सभापतिहरूको बैठकमा क्रियाशील सदस्यता र काँग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषय एजेण्डा रहेको छ । त्यस्तै पार्टीले विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापन लगायतका अन्य विविध साङ्गठनिक विषय बैठकको एजेण्डा रहेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =