मकालु अन्तर्वार्ता

‘कमलमणि त्यही रङ्गकर्मी हो, जसमा अझै पनि नाटकको भोक छ’

कमलमणि नेपाल अभिनयमा चिनिएको नाम हो । विशेषगरी हास्य टेलिशृंखलामा परिचित उनले धेरै फिल्ममा समेत अभिनय गरेका छन् । मण्डला थिएटरका एघारौँ ब्याजको विद्यार्थीलाई लिएर उनले निर्देशन गरेको नाटक ‘कोराघाट’ यति बेला मण्डला थिएटरमा मञ्चन भइरहेको छ । दुई महिनाको प्रशिक्षण पश्चात् अभिनयमा उत्रिएका कलाकारलाई लिएर काम गर्दा अनि १७ वर्षपछि पहिलोपल्ट निर्देशनमा फर्किँदाको उनको भोगाई कस्तो रह्यो ? प्रस्तुत छ– मकालुखबरका लागि होहंसा खड्काले उनीसँग लिएको अन्तर्वार्ताको सम्पादित अंश । 

१७ वर्ष लामो अन्तरालपछि नाटक निर्देशनमा पुनः आगमन गर्नुभयो । निर्देशनको पाना पल्टाउन धेरै समय लागेछ नि हैन ? 

हजुर, सबैभन्दा पहिला त म आफूलाई अभिनयको विद्यार्थीको रूपमा लिन्छु । म यहाँ निर्देशक होइन, अभिनेता बन्न आएको हुँ । त्यसैले त्यतातिर त्यति रुचि पनि थिएन । अनि अर्को, आँटको कुरा पनि हुँदो रहेछ । आफूले गरेको काम राम्रो नहुने हाे कि भन्ने डर सधैँ गडिएर बसिरहेको थियो । ‘कोराघाट’ चाँही मण्डला थिएटरले सम्झिएको हुनाले निर्देशन गरेको हुँ । नयाँ युवापुस्तासँग संलग्न हुँदा रमाइलो हुन्छ र नयाँ कुरा सिक्ने अवसर पनि पाइन्छ भन्ने सोचेको थिएँ । त्यसैले एकखालको हौसला प्रदान गर्यो । यसलाई गरेपछि अब निर्देशनमा पनि रस बस्दै छ । अब निरन्तरता दिनेछु । 

आफूलाई अभिनयमा रुचि रहेछ भन्ने  कहिले थाहा पाउनुभयो ?

म गाउँमा हुँदा सानैदेखि क्यारिकरेचरतिर रुचि थियो । फ्याट्टफुट्ट मधेसी भाषाको बोलाइमा क्यारिकरेचर गर्ने गर्थेँ । सबैले रुचाइदिनु हुन्थ्यो । यो आजभन्दा २७ वर्ष अगाडिको कुरा हो । त्यही क्रममा एक दिन आरोहण गुरुकुल विराटनगरको समूह स्वास्थ्य सम्बन्धी नाटक लिएर गाउँमा आयो । नाटक मञ्चन हुनुअघि, उनीहरूले आफ्नो कलाकार तयार नभएसम्म कसैले केही गर्न चाहनुहुन्छ कि भनेर सोधे । त्यति बेला मैले एक मधेसी लबजमा क्यारिकेचर गरेर दर्शकलाई होल्ड गरेको थिएँ । उनीहरूले त्यसलाई मनपराएका थिए । त्यसबेला नाट्यकर्मीबाट पनि थुप्रै स्याबासी र सकारात्मक प्रतिक्रिया पाउँदा अभिनयमा केही गर्न सक्छु कि भन्ने भयो । 

त्यसपछि गाउँभरिका खाट र तन्ना जोडेर स्टेज बनाउँदै आफैँ नाटक गर्न थालियो । गाँउलेले त्यसलाई पनि रुचाइदिनु भयो ।  दसैँको बेला राती दस बजेसम्म सांस्कृतिक कार्यक्रम हेर्ने चलन थियो । मैले त्यहाँ पनि एउटा नाटक मञ्चन गरे । बिस्तारै अर्को गाउँले पनि हाम्रोमा पनि गर्दिनु न भन्न थालेपछि आफूलाई सफल भएँ भन्ने लाग्न थाल्यो । यी यस्तै कुराहरूले उत्प्रेरणा मिलेपछि अनि साँच्चै गर्न सक्ने रहेछु भन्ने भएपछि म काठमाडौँ आएँ । काठमाडौँ आएर नाटक सिकिसकेपछि त झनै हौसला बढ्यो । 

अभिनय नै गर्छु भनेर काठमाडौँ आउनु भएको ? 

खासमा काठमाडौँ त कम्प्युटर सिक्छु भनेर आएको थिएँ । एसएलसी पछाडि मेजर नेपाली लिएर प्लस टु चाहिँ मोरङमै गरे । तर एउटा ब्याक लागेको थियो । त्यसलाई तीँ छोडेर काठमाडौँमा आएपछि बानेश्वर क्याम्पसमा भर्ना भएँ । ब्याचलर आरआर क्याम्पसमा पढ्दै अभिनय सिक्न थालिसकेको थिएँ । अनि नाचघरमा वीरेन्द्र हमाल सरसँग एक वर्षको प्रशिक्षण लिएपछि अनि  अभिनयकै क्रममा आरोहण गुरुकुलसँग जोडिएर नाटक गर्न थालेपछि पढाइ छुट्दै गयो । त्यो बिचमा डेनमार्क जानु पर्ने भयो र पढाइ छुट्यो । 

अभिनयको पहिलो चरणतिरको कुनै नाटक छ ? जसलाई अहिले सम्झिँदा ओहो मैले त्यस्तो पो गरेको थिएँ है भन्ने लागोस् । 

मैले पहिलो नाटक ‘अझै केही गर्न बाँकी छ’ नाटकमा एउटा तराइवासीको चरित्र गरेको थिएँ । त्यो मैले काठमाडौँ आएपछि मञ्चमा गरेको पहिलाे नाटक थियो । त्यसलाई गर्ने क्रममा मलाई नाट्यशिल्पको हिसाबले धेरै सिक्न बाँकी रहेछ भन्ने थाहा भयो । मैले त केही सिकेको रहेनछु भन्ने लाग्यो ।

सम्झिने नाटकको कुरा गर्दा मलाई ‘सोराठी’ नाटक याद आउँछ । जसमा मैले माझीको चरित्र गरेको थिएँ । ऊ कान नसुन्ने पात्र थियो । नाटक सकिएपछि हरिहर शर्मा सरले दिएको स्याबासी म कहिल्यै बिर्सिन्नँ । त्यसले त झन् नाटकलाई मेरो नशा जस्तो बनाइदियो । गुरुकुलको नाटक सम्झिनुपर्दा भने म सञ्जीव उप्रेतीको ‘घनचक्कर’ सम्झिन्छु, जसको म मुख्य पात्र थिएँ । ‘ताराबाजी लै लै’ नाटकले मलाई बाल्यकालमा  पुर्‍याएको थियो । फर्किएर हेर्दा फरक फरक खालका नाटकहरूले फरक फरक खालका अनुभूति दिएछन् । सम्झिँदा रमाइलो लाग्छ । 

तपाईँले नाटक, टेलिश्रृङ्खलादेखि चलचित्रसम्म सबै विधामा हात हाल्नु भएको छ । कुन विधामा आफूलाई बढी भिजेको पाउनु भयो ?

म त नाटकलाई नै प्रिय मान्छु । एकहिसाबले हेर्ने हो भने मेरो धरातल त नाटक हो । म नाटकबाटै उठेको मान्छे हुँ । धेरै दु:ख गरेर । झन्डै १२- १३ वर्ष नामविहीन भएर । नाटक गरिरहँदा जति जनाले हेर्न आउँथे, उनीहरूले बाहेक अरू कसैले पनि हामीलाई चिन्दैनथे । त्यो भएर मेरो जननी त नाटक नै हो नि । मैले अभिनय सिकेकै नाटकबाट हो त्यो कारणले पनि यसलाई विशेष स्थानमा राखेको हुँ । 

नामका हिसाबमा मलाई चिनाउने काम टेलिश्रृङ्खलाले गर्‍यो । मैले ‘तितो सत्य’ देखि सुरु गरेको हुँ । त्यहाँबाट सुरु भएर ‘सक्किगोनि’ सम्म आउँदा धेरैले मलाई चिन्न थाल्नुभयो । १२ वर्षसम्म नाटक गरेर नपाएको चर्चा यता पाएँ । त्यो टेलिभिजनको पर्दाले दियो । चलचित्रमा फरक फरक किसिमको पात्र गर्न पाइन्छ त्यो बेग्लै मज्जा लाग्छ । यो तीन वटै विधा फरक र रोमाञ्चक छ । तर मलाई विशेष भने जहिल्यै नाटक नै लाग्छ ।  

अब निर्देशकको यात्राबारे कुरा गरौँ न । आफूले अभिनय गर्नु र अरूलाई गराउनुमा के भिन्नता रहेछ ?

अरूलाई गराउँदा अपेक्षा अलिक बढी गरिँदो रहेछ । आफूले त यो गर्न सक्छु भन्ने छ नि त । मैले काम गरेको हिसाबले पनि सत्ताइसाैँ वर्ष भइसक्यो । यतिका वर्षको अनुभवले के गर्दा ठिक के गर्दा बेठिक छुट्टाउन सक्ने भइएछ । सिक्ने क्रम जारी छ, सिकी नै राखेको छु । तर आफूले जति गर्न सक्छु अरूले त्यति नै गर्देहुन्थ्यो जस्तो लाग्छ । तर सधैँ त्यस्तो नहुने रहेछ । यो मेरो पछिल्लो सिकाइ हो । 

कोराघाटमा काम गरेका युवा कलाकारहरू कस्तो लाग्यो ? 

सबै जना एकदमै ऊर्जावान् हुनुहुन्छ । केही गर्ने भनेर नै यहाँसम्म आउनुभएको छ । सबैमा आत्मविश्वास पनि छ । तर त्यस्तो भन्दै गर्दा, सबै जना अलिक चाँडै प्रतिफलको अपेक्षा गर्नुहुन्छ । जसले आफैँलाई हानी गर्दछ । हामीले प्रतिफल चाँडै खोजेर पाएका भए एघारौँ वर्षसम्ममा स्थापित भइसक्नुपर्थ्यो । तर एघार वर्ष त हामीलाई आफू चिनाउनै लाग्यो । एघार वर्ष भनेको त एक दशक नै हो नि । तर उँहाहरु चाहिँ आजको भोलि चमत्कार भइहाले हुन्थ्यो भन्ने सोच्नु हुन्छ । त्यसरी प्रतिफलको अपेक्षा राख्ने भन्दा पनि मेहनत गर्ने र धैर्य राख्ने हो भने प्रतिफल आफैँ हामीलाई खोज्दै आउँछ । तर सबै जना बुझ्ने नै हुनुहुन्छ । यो कुरा पनि  बिस्तारै बुझ्नुहुन्छ । बुझ्नुभएन भने आफैँलाई घाटा हो ।  

यतिका समय अभिनय गरेपछि आजको दिनमा आएर हेर्दा अभिनय के रहेछ जस्तो लाग्छ ?

अभिनय जीवनको अभ्यास हो । म चाहिँ त्यसरी लिन्छु किनभने मैले गर्ने अभिनय त मैले भोगेकै जीवनसँग सम्बन्धित हो । कतिपय  कुराहरू विसङ्गति पनि हुन्छ जुन बिम्बात्मक रूपमा देखाइन्छ । त्यसको भावभंगी फरक हुन्छ । तर यथार्थवादी नाटकमा त जे देखेको हो, जे भोगेको हो, त्यही देखाउने त हो । त्यसरी हेर्दा मञ्चमा अभिनय गर्नु भनेको जीवन बाँच्नु हो । 

निर्देशन चाहिँ के रहेछ ?

निर्देशन अलिक गाह्रो कुरा रहेछ । मैले निर्देशन गर्छु भनेर कहिल्यै योजना बनाएको थिइनँ । सुरुमै भनेँ नि म अभिनयमा जति सक्षम छु, निर्देशनमा त्यति नै सक्षम छु भन्ने आँट थिएन मलाई । तर जब विजय बराल भाइले मलाई, ‘दाइ एउटा नयाँ कलाकारसँग नाटक गर्नु छ, तपाईँले गर्नु पर्यो, केही पारिश्रमिक पनि छ, गर्नुहुन्छ?’ भन्नुभयो, मैले नाइँ भन्न सकिन । बाँच्नु पनि त पर्‍यो नि हैन ? 

त्यसैले पारिश्रमिक पाए कमलमणि नेपालले अभिनय मात्रै नभई निर्देशन पनि गर्छ है भनेर चिनिन्छ भनेर यो नयाँ क्षेत्रमा लाग्ने निर्णय गरेँ । आफ्नै पनि पहिलो पटक अनि त्यसमाथि नयाँ कलाकारसँग काम गरेको हुनाले निक्कै गाह्रो भयो । आफूले अभिनय गर्नु जस्तो सहज अरूलाई गराउनुमा नहुने रहेछ । मैले आफूले आफैँलाई मूल्याङ्कन गर्दा अझै अब्बल निर्देशक बनिसकेको छैन भनेर स्वीकार गरेको छु । अझै सिक्दै छु । अब गर्ने अर्को नाटक चाहिँ अलि राम्रो गर्छु कि ?

नाटकलाई कसरी फ्रेम गर्नुभयो ?

नाटक कलाकारलाई दिएपछि तीन चार पटक आफैँ पनि पढेँ । यो नाटक धेरै भारी थियो । अलि बढी गहन विषय बोकेको । यो राजनीतिक विसङ्गतिमाथि छ । तसर्थ प्रत्येक कलाकारलाई राजनीतिक चेत हुनु अति आवश्यक छ । उँहाहरु त भर्खर सिक्दै गरेको भएर राजनैतिक ज्ञान नहुँदा नाटक राम्रो बन्दैन भनेर मैले अर्को नाटक गर्ने पनि सोचेको थिएँ तर कलाकारले यही नै नाटक गर्न अनुरोध गर्नुभयो । त्यसले मलाई पनि चुनौती थपियो । गर्नै पर्ने भएपछि यसमा भएका अस्पष्टता हटाउन मैले यसलाई बुझ्न सजिलो हुने गरी फ्रेम गरेँ । यो मूर्खतामा आधारित नाटक भएकोले मैले वास्तविकता र अब्सर्डिटी मिश्रण गर्ने निर्णय गरे । थप यथार्थवादी बनाउन पेन्टोमाईन पनि थपेँ । 

यो नाटक निर्देशन गर्ने प्रक्रियामा आफू सन्तुष्ट भएको कुनै क्षण सम्झन सक्नुहुन्छ ?

नाटक बनेर तयार हुनु नै मेरो लागि सन्तुष्टि हो । यहाँ २५ कलाकार हुनुहुन्छ । यत्तिको सानो स्टेजमा सबै थोक अटाउनु अनि सबैलाई काम गराउनु आफैँमा सन्तुष्टिको काम हो । मलाई उहाँहरूले कस्तो प्रदर्शन गर्नु हुन्छ भन्ने डर थियो । एक महिनाको कडा परिश्रमको साक्षी हुनुको साथसाथै नाटक बनेर मञ्चन भएको हेर्न पाउँदा पनि सन्तुष्टि मिल्यो । यसलाई कोरा मान्छेले गरेको नाटक ‘कोराघाट’ भनेर नि लिन सकियो । नयाँ कलाकारले यत्तिको गर्नुभयो त्यसमा पनि सन्तुष्ट छु । 

तपाईँले आफ्नो इन्स्टाग्रामको बायोमा हामी रमाइलोसँग काम गर्छौ तर कामसँग रमाइलो गर्दैनौँ राख्नुभएको छ । त्यसले के भन्न खोज्नुभएको ?

जब हामी काम गर्छौँ, हामी कामसँग रमाइलो गर्दैनौँ । यदि कामसँग रमाइलो गरियो भने काम बिग्रिन्छ । बरु हामी काम सकिएपछि रमाइलो गर्छौँ भन्न खोजेको हो ।

फेरि अभिनयकै प्रश्न । तपाईँमाथि एकै खाले साइडरोल अनि उस्तै उस्तै लाग्ने हास्यव्यङ्ग्य गर्ने कलाकार भन्ने टाइप कास्ट छ । मुख्य भूमिका गर्न पाए हुन्थ्यो जस्तो लागेन ? 

एउटा अभिनेताको लागि टाइप कास्ट एकदमै खतरनाक हो । मैले गरेको कुनै पात्र हाबी भयो भने सक्कियो । त्यही भएर म मेहनत गर्छु । जस्तै ‘खुपिका बाउ’ बनेर मैले गरेको चरित्र दर्शकको मनमा यस्तरी गडेर बस्यो कि दर्शकले कमलमणिलाई त्यो चरित्रबाहेक अरू चरित्रमा देख्नै चाहँदैनन् । तर त्यो क्यारेक्टर त कमलमणि नेपालले निभाएको हो नि भन्ने कुरा दर्शकले बुझ्नुहुन्न । त्यसैले म त्यो पात्रलाई मेरो फिल्म र नाटकमा नलाने प्रयास गर्छु । यदि मैले अर्को फिल्ममा नेगेटिभ क्यारेक्टर खेलेँ भने दर्शकले यो रोल कमलले भन्दापनि खुपिका बाउले खेलेको हुन् भन्ने सोच्नुहुन्छ । त्यही नहोस् भनेर मेहनत गरिरहन्छु । र मेहनत जारी छ । 

मुख्य भूमिकाको कुरामा भने यदि राम्रो मौका मिले गर्न सक्छु भन्ने आत्मविश्वास छ । तर अहिलेसम्म त्यस्तो अफर नआएको हुनाले नगरेको हो । राम्रो रोल आएमा पक्कै गर्नेछु ।

अन्तिम प्रश्न । धेरैले कमलमणिलाई विभिन्न पात्रको रूपमा हेर्छन् तर कमलमणिलाई तपाईँ आफू कसरी वर्णन गर्नुहुन्छ ?

कमलमणि एउटा रङ्गकर्मी हो जसले आफूलाई मन लागेको काम गर्छ । म विगतमा पनि धेरै ठुलो सपना बोकेर आएको मान्छे हैन । नाटक गर्न आएको बेला फिल्म खेल्ने कुरा मेरो कल्पनामा थिएन । म नाटकमा अभिनय गर्न आएको थिएँ । तर बाँच्नका लागि फिल्म गरेको हो । बाँच्नको लागि सिरियल गरेको हो । कमलमणि त्यही रङ्गकर्मी हो, जसमा अझै पनि नाटकको भोक छ ।

सबै फोटोः आदेश थापा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *