समाजलाई अगाडी बढाउन पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले पत्रकारिता क्षेत्रले सांसदलाई राष्ट्रको हितमा काम गराउन भूमिका खेल्ने बताएका छन् ।
बुधवार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभामुख घिमिरेले सांसदलाई सबल र राष्ट्रको हितमा काम गराउन पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताएका हुन् । उनले सांसदभित्र भएका समस्या र कमी कमजोरीहरूलाई क्षमता र योग्यताले भ्याएसम्म व्यवस्थापन गर्दै जाने बताए । उनले पत्रकारिता क्षेत्रले नेपाली समाजलाई अगाडी बढाउन विगतदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
उनले भने ‘पत्रकारितासँग सम्बन्धित तपाईँहरूको जिम्मेवारी भए पनि संसद परिवारभित्रकै एउटा महत्त्वपूर्ण जिम्मेवारीमा रहेको संस्थाको रूपबाट तपाईँहरू हुनुहुन्छ । यसलाई निर्वाचन गराउनेसम्म आइपुग्दाखेरी धेरै साथीहरूको अनुभवहरू छन् । हिजो पत्रकारिताले नेपाली समाजलाई अगाडी बढाउनको लागि मेरो बुझाइमा धेरै महत्त्वपूर्ण भूमिका निर्वाह गर्थ्यो । अब अहिले निर्दिष्ट उद्देश्य प्राप्ति गर्नको लागि कमजोरीहरूलाई फालेर हामीले यसलाई सबल बनाउनको लागि जनताको हितमा, राष्ट्रको हितमा सांसदलाई कसरी लाने भन्नेकुरा सञ्चार क्षेत्रबाट यसले खुड्किलो थप्ने छ । अरू गति दिने छ । र प्रभाव दिनेछ भन्ने मैले विश्वास लिएको छु । यहाँ भएका समस्याहरू कमी, कमजोरीहरू हाम्रो आफूभित्रका कुराहरू हुन् । हाम्रो क्षमता, योग्यताले भ्याएसम्म यसको व्यवस्थापन गर्दै जाने कुरामा जो–जो जहाँ–जहाँ भए पनि त्यो भूमिका निर्वाह हुने कुराको विश्वास दिलाउँछु ।’
त्यसै गरी कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरू चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताए । उनले चुनाव जसरी पनि जित्नुपर्ने नभई स्वस्थ प्रतिस्पर्धा गरेर जितेर आउनु राम्रो हुने धारणा राखे ।
उनले भने ‘तपाईँहरूलाई सांसदका पदाधिकारीहरू, सचिवालय सबैले गर्नुपर्ने खालका सबै सहयोगहरू गर्नुपर्छ । व्यक्तिगत हिसाबले कहीँ, कतै केही कमजोरीहरू हुँदा स्वाभाविक आलोचना त गर्नैपर्छ । त्यो नगरीकन गुणगान गाउनका लागि मात्रै त पत्रकार हुनै पर्दैन । आग्रह पूर्वाग्रह, कसैको विरोध मात्रै गर्ने कहीँ आँखा चिम्लेर समर्थन गर्ने । त्यो पत्रकारिताको मर्मभित्र पर्दैन । प्रतिस्पर्धा सहज ढङ्गले हुनु अन्यथा भएन । लोकतान्त्रिक प्रक्रियामा त्यो हुन्छ । सहजतापूर्वक लिने र एकदमै सहज ढङ्गले निर्वाचन गराउने । नेपालको राजनीतिमा जसरी पनि जित्नुपर्छ भन्ने छ । जसरी भन्ने कुरालाई हटाउन राजनीतिक दलहरू अरू चुनावमा पनि पर्छ । कहीँ पनि त्यसरी जसरी पनि होइन । एउटा स्वस्थ प्रतिस्पर्धाले विश्वास जितेर आउने गरीकन चुनावहरू भयो भने राम्रो हुन्छ ।’
उनले संसदीय बिटमा पत्रकारिता गर्ने पत्रकारहरूलाई सङ्घीय सांसदका पदाधिकारीहरू, संसद सचिवालय लगायत सबैले सहयोग गर्नुपर्ने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *