महिला प्रहरीलाई ‘तिम्रो फिगरको फ्यान हुँ’ भन्ने इन्स्पेक्टरमाथि छानबिन गर्न बन्यो समिति

काठमाडौँ । इन्स्पेक्टर सुवास तिमिल्सिनामाथि छानबिन अघि बढेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको बाहिरिएपछि छानबिन अघि बढेको हो ।

पीडित महिला प्रहरीले इन्स्पेक्टर तिमिल्सिनाले पठाएको भनिएको म्यासेजको स्क्रिनसट ट्विटरमा पोष्ट गर्दै आफूलाई असुरक्षित बनाएको उल्लेख गरेकी थिइन् । ‘सुरक्षा सेवक भएर उनले महिलामा असुरक्षा पैदा गरिरहेका छन्, नेपाल प्रहरीको शक्तिमार्फत,’ ती महिलाले भनेकी छन् ।

उनले पोष्ट गरेको स्क्रिनसटमा तिमिल्सिनाले आफू ती महिला प्रहरीको ‘फिगरको फ्यान’ भएको, फोटो पठाउन अनुरोध गरेकालगायत म्यासेज छन् । ट्विटर ह्याण्डलमा उक्त विवरण सार्वजनिक भएलगत्तै कास्की प्रहरीले छानबिन गर्न समिति गठन गरेको हो ।

इलाका प्रहरी कार्यालय शिसुवामा कार्यरत डिएसपी प्रकाश दाहालको संयोजकत्वमा इन्सपेक्टरदेखि प्रहरी जवानसम्म सदस्य रहेको छानबिन समिति गठन गरेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए । ‘इन्स्पेक्टरले म्यासेज पठाएको हो कि होइन, हामी साइबर ल्याबबाटै छानबिन गर्छौं,’ एसपी केसीले भने, ‘छानबिनबाट दोषी देखिए कारबाही अघि बढ्छ ।’

घटना सार्वजनिक भएलगत्तै तिमिल्सिनाले कास्कीका प्रहरी प्रमुखसमक्ष निवेदन दिएका छन् । उनले आफ्नो अकाउण्ट ह्याक भएको दाबी गरेका छन् । छानबिन गरेर कारबाही गर्न उनको निवेदनमा माग गरिएको छ ।

यो पनि : इन्सपेक्टर महिला प्रहरीको फिगरको फ्यान हुँदा….

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *