नयाँ दललाई ठाउँ छोड्न गाह्रो हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताएका छन् । सोमबार स्व. गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको बताएका हुन् ।

उनले सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्तिलाई रोक्न जरुरी रहेको बताए । नयाँ इच्छाशक्तिसहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने देश दुर्घटनामा जाने प्रधानमन्त्रीले बताए । नयाँ पार्टीहरूप्रति लक्षित गर्दै उनले पुराना पार्टीहरूको भन्दा राम्रो विचार लिएर आउने, राम्रो एजेण्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरूलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले अहिलेको अवस्थामा त्यस्ता पार्टी र राजनीतिक दलहरू नरहेको बताए । उनले अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याइँ गर्ने हो भने देशकै भविष्य दुर्घटनामा पर्ने दाबी गरे । सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको उनको भनाई छ ।

उनले भने, ‘आम नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको यो परिवर्तन अहिले विचारको आवश्यकता पनि महसुस नगर्ने, सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई नै दायाँबायाँ गर्न खोज्ने जो प्रवृत्ति देखिएको छ, हामीले आफ्नो आत्मसमीक्षा गरेर फेरि एउटा नयाँ इच्छाशक्ति सहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने, मैले कहिलेकाहीँ भन्ने गर्दछु, हाम्रो भन्दा राम्रो विचार लिएर आउने कोही छ भने, हाम्रो भन्दा धेरै त्याग तपस्या गरेका दलहरू कोही अघि आउने, हाम्रो भन्दा राम्रो एजेण्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने हामीलाई तिनीहरूलाई सम्मान गर्न, तिनीहरूको लागि ठाउँ छोड्दिन केही गाह्रो छैन, तर म हजारौँ पटक विचार गर्छु, त्यस्तो स्थिति छैन, हामीले अलिकति पनि हेलचेक्र्याइँ गर्ने हो भने यो सिस्टम मात्रै होइन, यो देशकै भविष्य अहिलेको विश्व राजनीतिक परिवेशलाई हेर्दा पोलराइजेशनको जो प्रक्रिया जुन दुनियाँमा चलिरहेको छ, त्यसलाई हेर्दा र त्यसभित्रै जस्ता प्रवृत्ति र अराजकता देखिँदै छ, त्यसलाई हेर्दै गर्दा हामीले हेलचेक्र्याइँ गर्ने हो भने देशकै भाग्य भविष्य दुर्घटनामा पर्ने देखिन्छ । मैले नयाँ संकल्पका साथ अहिलेको प्रधानमन्त्रीलाई लिएको छु । सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता छ । यहाँ सामान्य सुधारद्वारा समस्याको हल हुने देखिँदैन ।’

प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐन, मन्त्रीपरिषद्मा छलफल गरी मन्त्रीपरिषद्कै समितिमा पठाइसकेको उल्लेख गर्दै केही दिनभित्र नै संसदमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाए । उनले विश्वविद्यालय ऐनको पनि आवश्यकता रहेकाले त्यसको तयारीमा लाग्ने पनि बताए । गिरिजाप्रसाद कोइराला मेमेरोयिल कलेजलाई विश्वविद्यालय बनाउने काम अघि बढाउने प्रतिविद्धतासमेत उनले व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 11 =