‘हेलो सरकार’ कार्यक्रमलाई सशक्त र प्रभावकारी बनाउनु पर्छ : सुमना श्रेष्ठ
२०८० असार ८ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरू पर्याप्त नभएको बताएकी छिन् ।
शुक्रवार प्रतिनिधिसभाको दोस्रो बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग उनले सो कुरा बताएकी हुन् ।
सांसद श्रेष्ठले पश्चिम नेपालमा भूकम्प आउने खतरा विज्ञहरुलै औंल्याएपनि त्यसको बारेमा बजेटमा कुनै कार्यक्रम नआएको स्पष्ट पारिन । उनले विपद् पोर्टल पालिका स्तरमा पुर्याउने कुरा बजेटमा उल्लेख भएपनि जनशक्तिको अभावमा कार्यान्वयन हुन सक्ने अवस्था नरहेको दाबी गरिन् ।
सांसद श्रेष्ठले भनिन्, ‘विपद् व्यवस्थापनका तत्कालीन, मध्यम अवधि र दीर्घकालीन रणनीतिहरू पर्याप्त भएन । यो बजेटको कार्यक्रममा त्यो देखिएको छैन । पश्चिम नेपालमा अनुमानित भूकम्प, ठूलो भूकम्प जान्छ भनेर धेरै विज्ञहरूले भनिसकेका छन् । त्यसको लागि मैले यो बजेटको कार्यक्रममा देखिन । विपद्का बेला मन्त्रालयहरुबीच तालमेल मिलाउन डिजाइनले मात्रै पुग्दैन । यसको लागि ५० लाख छुट्ट्याइएको छ । त्यसपछि विपद् पोर्टल पालिकामा लेबलमा लैजाने भनिएको छ । त्यो ठिकै छ । तर, पालिकामा टेक्नोलोजी मात्रै गयो, जनशक्ति जुटाएन भने हामी कतै पुग्दैनौँ । त्यसमा जनशक्ति नजुटाईकन डिजिटल टेक्नोलोजीमात्र पालिकामा लगेर हामीले केही गर्न सक्दैनौँ । र, अर्को महत्वपूर्ण कुरा ट्राफिक पुलिसहरूमा सन् २०२२ मा एउटा अध्ययन भएको थियो । उहाँहरूको मानसिक स्वास्थ्यको स्थिति भयावह छ । उहाँहरूमा डिप्रेसनको लेबल एकदम हाई छ । त्यसकारण उहाँहरूको मानसिक स्वास्थ्यको लागि मैले यो बजेटमा केही मागहरू पनि राखेको छु । हेलो सरकार । २०६७ सालमा आएको यो कार्यक्रमले धेरैलाई सहयोग पुगेको थियो । एउटा ठाउँ त छ नि राज्यलाई गुहार्न सक्ने भन्ने एउटा ठाउँ थियो । त्यसका लागि जम्मा १० लाख विनियोजन गरिएको छ । त्यसले पुगेन । यसलाई पहिला जस्तै सशक्त बनाउनु पर्याे । ’
सांसद श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ कार्यक्रमलाई प्रभावकारी बनाउन, सशक्त बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।
२०८० असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








