मकालु ब्लग

मेरै कथा जस्तो ‘ऐना झ्यालको पुतली’

म घर फर्किँदै थिएँ । घामको तातोले चुली छोएको थियो ।

घर जाने बाटोमा चौतारा रहेछ । म चौतारा पुगेँ । पसिनाले लुथ्रुक्क भिजेकी मान्छे आँखाकै अगाडि चौतारा देख्दा स्वर्गकै सिँढी उक्लिन खोजेको जस्तो भयो । म एकछिन उभिएँ अनि आराम गर्न बसेँ ।

टुसुक्क बसेकी मात्र थिए पाँच जना विद्यार्थीहरू म जस्तै गरी छहारीको खोजीमा भौँतारिरहेका रहेछन् । उनीहरूले पनि चौतारो देखेछन् । ती सबै दौडिँदै मेरै नजिक आएर बसे अनि खुसुर्पुसुर गर्न थाले । मैले सुरुमा त के कुरा गरिरहेका छन् बुझिनँ ।

‘होइन हौ, नेपाली फिल्मले त बलिउड्को नक्कल मात्र गर्छ ।’

उनीहरूले भनेको यो वाक्य मैले बुझ्ने गरी सुने । त्यसपछि म उनीहरूको कुरामा तानिएँ । चाख लाएर सुन्दा थाहा पाएँ उनीहरूले नेपाली चलचित्रको  विषयमा छलफल गरिरहेका रहेछन् । म सानैदेखि लुकी-लुकी चलचित्र हेर्थेँ । हेरेर फर्किएपछि गीत र डायलग सुनाएर अरूलाई हैरान बनाउँथे । त्यसरी हुर्केकी मान्छे वा चलचित्र भनेपछि हुरुक्कै हुने मलाई नेपाली चलचित्रमाथि कसैले त्यसरी गरेको टिप्पणी चित्त नबुझ्नु स्वाभाविकै थियो ।

नेपाली चलचित्रको पृष्ठभूमिमा बलिउड्को नक्कल गर्ने क्रममा  मौलिकता हराएको हो या दर्शकले नै छनोट गर्न चुकेका हुन् भन्ने कुरामा उनीहरू फेरी वादविवाद गर्न थाले । कसैले भने ‘दर्शक नै छैनन् राम्रो ।’ कसैले भने ‘फिल्म राम्रो नभएपछि दर्शक कसरी हुन्छ ?’

मलाई उनीहरूको त्यो वातावरण नै अनौठो लाग्यो । एक त युवापुस्ता त्यस्तो निराशामा कुरा गर्दैछन् । सबै फिल्मलाई एउटै डालोमा हाल्दैछन्  । त्यही माथि चौतारी, सबै जना भेला हुने ठाउँ । चौतारीले शीतलता दिने मात्र नभई सामाजिक जमघटमा नयाँ पुस्ता लाई समेट्नमा पनि ठुलो भूमिका खेलेको हुन्छ । तर यो चौतारोले त नकारात्मक कुरा मात्र पो गर्दै छ ।

केही समयपछि सूर्य लाई बादल ले डाक्यो मानौँ सूर्य र धर्ती लुकामारी खेल्दै छन् त्यही लुकामारी खेलिरहेका छन् । उनीहरू उस्तै गरी गफ गरिरहेका थिए ।

‘म त कहिल्यै पनि नेपाली फिल्म हेर्दिनँ ।’

‘झुर फिल्म हेरेर कसले समय बर्बाद गरोस् ?’

मलाई उनीहरूले गरेको एकोहोरो गफदेखि रिस उठ्यो । सम्झाउन खोज्दा पनि चित्तै दुखिरह्यो । केही भन्दिनँ भन्ने सोचेको थिएँ तर मिलेन । ‘के  हामी दर्शक नै चुकेका हौँ त ?’ ‘कुनै गतिलो फिल्म नै नबनेको हो त?’ यस्तो प्रश्न आइरह्यो ।

‘हामी नेपालीको बानी नै नराम्रो । जे मनमा आयो त्यही खोज तलास बिनै सामूहिक छलफल मा भन्दिहाल्ने।’

‘कतिवटा फिल्म हेरेपछि त्यस्तो भन्ने भको हो तिमीहरू ?’

‘यहाँको सबै फिल्म नराम्रो छ ? राम्रो फिल्म हेर्नुछैन अनि ।’

यसरी खै कैले उँभो लाग्ने हो हामी?

म यस्तो भन्दै गएँ ।

‘ए सानी नानी । कसलाई के भनेकी ?’

‘किन रिसाएकी के भयो ?’

कसैले यसरी बोलाएको पो सुनेँ । ‘कलेज छैन आज?’ ‘हेर त ढिलोसम्म नसुतेर सपना देख्दै रैछे अहिले बिहान बिहान ।’

यसो ध्यान दिएर सुनेको त आमाको आवाज रहेछ ।

‘हिजो कुनचाहिँ फिल्म हेरेर ढिलो घर आई अनि बिहान चैँ घोडा बेचेर सुतेझैँ सुतिरछे । उठ छिटो ।’ आमा यस्तो भन्दै मलाई कराउनु हुँदैरहेछ । घडीको स्विचले टिक टिक गर्दै उठ्ने चेतावनी दिँदै रहेछ । मुन्टो फर्काएर माथि  हेरेको त बिहानको ६ बजिसकेछ ।

सोचे आज कस्तो मिठो निन्द्रा लाग्यो जस्तो पनि भयो । अनि फेरी निन्द्राले झस्किएर थाकेको जस्तो पनि भयो । सपनामा घोचेको ‘के  हामी दर्शक नै चुकेका हौ त ? बन्ने प्रश्न भने आइरह्यो । अनि हिजो हेरेको फिल्म पनि सम्झना भइरह्यो ‘ऐना झ्यालको पुतली ।’

सुजित बिडारीकाे निर्देशनमा बनेको ‘ऐना झ्यालको पुतली’ नोस्टाल्जियाको सुगन्धले बेरिएको उपहार हो भन्दा फरक नपर्ला । प्रेममा आधारित चलचित्र व्यापक रूपमा बजारमा आएको बेला बिडारीले भने भिडबाट पन्छिएर, एकअर्कासँग झगडा भए पनि एकअर्कालाई निःशर्त माया गर्ने दुई दिदीभाइ र छोरीलाई पढाइका लागि राम्रो ठाउँमा पठाउन कडा मेहनत गरिरहेकी आमाको कथालाई आफ्नो चलचित्रको मूल विषय बनाई ग्रामीण जीवनको अत्यन्तै सरल तर मिठो रूपमा चित्रण गरेका छन् । अमर महर्जन छायाकार रहेको फिल्मले नेपाली समाजको एउटा हिस्सा बोकेको छ ।

कथा विद्या र उनको भाइ वसन्तको वरिपरि घुम्छ । वसन्तको चरित्र रमाइलो छ जसले बाल्यकालमा लिएर जान्छ । विद्या एक उत्कृष्ट विद्यार्थी र एक महत्त्वाकाङ्क्षी कवि हुन् । उनको थप शिक्षा हासिल गर्ने सपना छ अनि आफ्ना कविताहरू मासिक बाल पत्रिकामा प्रकाशित गर्ने रहर छ । उनी त्यसको लागि लागिरहन्छिन् ।

यद्यपि उनको बाटो सजिलो कहाँ छ र ? उनी छोरी मान्छे । उनले भोग्ने समस्या धेरै छन् । उनलाई पढ्न नै गाह्रो छ । उनी हुर्किनै नपाई बिहे आइहाल्छ । उनलाई हेर्दै गर्दा मलाई मेरो पनि त्यसरी नै बिहे भएको भए के हुन्थ्यो होला नि लागेको थियो ।

फिल्ममा विद्याले भोगेको मानसिक पीडाले, नारीमाथिको हिंसा शारीरिक रूपमा नदेखिएपनि मानसिक रूपमा भइरहेको हुनसक्ने कुरालाई प्रस्टाएको छ । शारीरिक हिंसाको दृश्य फिल्ममा नभए पनि नारीहरूमाथि गरिएको मनोवैज्ञानिक हिंसालाई सजिलै अनुभूत गर्न सकिन्छ । राम्रो पढेर पनि कक्षामा प्रथम हुन नसकी छात्रवृत्ति गुमाउनुपर्दा, मुना पत्रिकामा अब्बल कविता पठाउँदा पनि नछापिएको पीडा सहनुपर्दा, हर्नामाडी गएर माथिको कक्षामा पढ्ने इच्छालाई मार्नुपर्दा, विद्यालयमा कविता वाचनको अवसरबाट वञ्चित हुनुपर्दा विद्याले भोगेको सानो सानो मानसिक पीडाले दर्शकको पनि मन अमिलो बनाइदिन्छ ।

अनि फिल्मको अन्तिमतिर विद्याको सपना समाजको जालमा चकनाचुर भएको घटनाक्रममा सहभागी हुनु पर्दाको पीडाले त झन् मनै हुँडल्छ ।

चलचित्रले दशक अघिको दुर्गम गाउँको समाजलाई  चित्रण गरेता पनि लाग्छ कि यहाँको हरेक पात्र म हुँ, यहाँ घटित सबै घटनाको कर्ता स्वयम् म हुँ । मुना किताब पढ्नको लागी गरेको सङ्घर्ष मेरो हो । कविता प्रतियोगिता हुँदा स्कुलमा भाग लिने । फिल्म हेर्न लाई शनिबारनै कुर्नु पर्ने । त्यो पनि सबै म ।

यो मेरो र तपाई हाम्रो, हामी सबैको कथा हो ।

बिडारीले सबै नयाँ कलाकारसँग काम गरेका छन् । तर फिल्ममा कतै पनि ती नयाँ भएको छनक मिल्दैन ।

मित्रता, झगडा, संस्कार, पात्र, स्थानीय चलचित्र थिएटर, विद्यालय, संस्कृति, अभ्यास, समाचार, सङ्गीत, गीत लगायत अन्य विषय लाई बिडारीले ९० को दशककोत्यो नोस्टाल्जियाको रूपमा उतार्न सफल भई नेपाली चलचित्र को क्षेत्रमा उल्लेखनीय छाप छोडेका छन् । अनि नेपालमा राम्रो फिल्म बन्दैन भन्ने साधारण बुझाइको विरुद्धमा गतिलो जवाफ दिएका छन् ।

‘तर मैले सपनामा त्यो कुरा किन देखेँ ?’

‘मलाई राम्रो लगेर मात्र मैले फिल्मको बारेमा केही नराम्रो नदेखेको हु कि?’

‘कि अरूले पनि यस्तै भन्दै छन् ?’

ब्युँझिएपछि पनि मेरो मनमा यस्तो प्रश्न आइरह्यो । अब यसको एकमात्र उपाय भनेको सबै दर्शकसँग बसेर ती पाँच विद्यार्थीले चौतारामा बसेर गरेको जस्तै छलफल गर्नु हो भन्ने लाग्यो । तर त्यो सम्भव होला जस्तो नलागे पछि सोसियल मिडियाबाट पत्ता लगाउने निर्णय लिएँ र युट्युब तिर लागेँ । ट्रेलरमा १८० हजार भ्युज आएको देखेरै मक्ख परे । सुन्दा जम्मा त्यति? भनेजस्तो लाग्न सक्छ तर यस्तो फिल्मले नेपालमा पाएको भ्युज यहाँको सन्दर्भमा धेरै नै हो । कमेन्ट हेर्दै जाँदा त झनै गदगद नै भए ।

त्यहाँ धेरैले कमेन्ट गरेका थिए । धेरै म जस्तै फिल्म हेरेर आएका थिए । तीनले भनेका थिए;

‘नेपाली फिल्म क्षेत्रलाई अझ उचाइमा पुर्‍याउन यो खालको चलचित्रको अझै आवश्यकता छ ।’

‘सेलिब्रेटी कलाकारहरूको भन्दा दमदार अभिनय र कथा रहेको यो फिल्म व्यवसायिक रूपमा के कति सफल भयो तर मेरो लागि यो एकदमै सफल चलचित्र भैसकेको छ।’

‘म सिरु दिज्जु को ठुलो फ्यान हो तर सोचेको थिएन यस्तो राम्रो फिल्म खेल्नुहुन्छ भनेर ।‘

फिल्मको ट्रेलर को कमेन्ट सेक्सनमा आएका यस्तै सकारात्मक प्रतिक्रियाले भने, मेरो सपनामा आएका दर्शकले भनेको कुरा साँचो हैनन् । केही होला तर सबै साँचो हैनन् ।

ऐना झ्यालको पुतली’ चलचित्रले नेपाली फिल्म कमजोर नभएको संकेत त गर्छ नै दर्शक पनि यस्ता फिल्मतिर तानिएको संकेत गर्छ । म त यस्ता फिल्म हेर्न अब कहिल्यै छोड्दिनँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *