मन खोलेर हाँस्न र रुन पाउने ठाउँ

नाटक सकिएको आधा घण्टा बितिसकेको थियो । 

कौसी थिएटरका सबै सिट खाली भइसकेका थिए । अरू बेला उनीहरू त्यतिन्जेलमा अन्य तयारी गर्न अनि शाे पछिको व्यवस्थापन गर्न स्टेजमा पुगिसकेका हुन्थे । तर त्यो दिन एउटा सिट भने खाली भएकै थिएन । 

आकांक्षा उसको नजिक गइन् । केही भएको हो कि भनेर सोधिन् । सिटमा बस्ने व्यक्ति आँखाभरि आँशु लिएर रुँदै बसेका रहेछन् । यस्तो लाग्यो कि मानौँ मनमा दबिएका अनेकौँ भावना उनका आँखाबाट बल्ल बग्न पाएका थिए । उनले रुन सक्ने ठाउँ भेटेका थिए । आँशु बगाउँदा समाजले कमजोर ठान्छ भन्ने डरबाट मुक्त भएर बल्ल उनका भावनाहरू बग्न पाएका थिए। आँसुले हराएको बाटो बल्ल पत्ता लगाएका थिए । 

यही हो थिएटरको शक्ति । यसले मानिसभित्रका कुण्ठित भावनाहरू व्यक्त गर्न कहिले मञ्च दिन्छ । अनि दिन्छ मञ्चमा देखाएको कुरा हेरेर महसुस गर्न दिने सिट । २१ औँ शताब्दीमा सामाजिक सञ्जालको विकास हुनाले हरेक कुरा भर्चुअल हुने गरेको छ । मानिसहरूको बोल्ने ठाउँ नै त्यतै पुगेको छ । भावनाहरू पनि इमोजी र स्टिकरबाट साटासाट हुने गरेका छन् । मानिसबीचको आपसी सम्बन्ध पनि झुटो र खल्लो हुँदै गइरहेको छ। 

‘समयले निम्त्याएको अहिलेको यस्तो परिवेशमा मानिस भावनाविहीन हुन पुगिरहेका छन्,’ मनोविज्ञानमा मास्टर्स गरेकी आकांक्षा कार्की भन्छिन्, ‘वर्तमानमा समानुभूतिपूर्ण ठाउँको आवश्यकता ज्यादै छ र थिएटरले त्यो आवश्यकता पूरा गर्न सक्ने सम्भावना बोकेको छ ।’  

आकांक्षा एक कलाकार हुन् । उनी कौसी थिएटरकी निर्देशक पनि हुन् । धेरै नाटकहरू निर्देशन पनि गरेकी छन् । मनोविज्ञान आफूले अध्ययन गरेको भएरै होला उनी मानसिक स्वास्थ्य, समानुभूति सम्बन्धित विषयहरूमा नाटक बनाउने गर्छिन् । उनीहरूले खोलेको कथा घेराले पनि सबैलाई बराबर मान्छे र सबैले आफूलाई व्यक्त गर्न सक्ने गोलो घेराको नै कल्पना गर्छ ।  

‘भावनात्मक रूपमा निराश पार्ने विषयहरू अनि मलाई भित्रैबाट घोचिरहेका कुराहरू नाटकमा उतार्दा उतार्दै थाहा भयो कि मलाई मात्र नभएर अन्यलाई र समाजलाई पनि त्यस्ता विषयले सताइरहेको रहेछ ।’ 

आकांक्षाका अनुसार यदि कुनै विषयले मानिसलाई मानसिक र भावनात्मक स्तरमा असर गरेको छ भने त्यसलाई सम्बोधन गर्न आवश्यक छ । त्यो काम कोही नजिकैको साथीले गर्न सक्छन् । परिवारले । सामाजिक संस्थाहरूले । अनि यस्ता थिएटरहरूले । आफूलाई त्यो महसुस भएपछि थिएटरमा भावनात्मक विषयलाई स्थान दिने गरेको उनी बताउँछिन् । त्यसैले पनि होला उनले काम गरेका र निर्देशन गरेका नाटकहरू लैङ्गिक पहिचान, महिला र सीमान्तकृतका कथा, मानसिक स्वास्थ्य, सामाजिक उत्पीडन सम्बन्धी विषयमा हुने गर्छन्। 

थिएटर एक किसिमको कला हो । सृजनशील हुन र कला प्रस्तुत गर्न सक्ने हुनलाई कलाकारहरूले पहिला एक अर्कालाई राम्रोसँग बुझ्नै पर्छ । एक अर्काका भावना नबुझी कला प्रस्तुत गर्दा त्यो कला  प्रभावकारी नहुने उनको बुझाई छ । 

आकांक्षा नियमित थिएटरमा सक्रिय हुनेबाहेक थिएटर कक्षाहरू पनि दिन्छिन् । विभिन्न प्रोजेक्टमार्फत पढाउँछिन् पनि । 

‘हाम्रो स्कुलको वातावरण नियन्त्रण गर्ने खालको छ । स्कुलमा विद्यार्थीलाई डर देखाइन्छ, कराइन्छ, यो गर, त्यो नगर भनिन्छ । सिक्न आएकालाई कराउनै पर्छ र, डर देखाएर नियन्त्रण गर्नै पर्छ र ?’

उनलाई यदि कोही आफूसँग सिक्न आउँदै छ भने नडराई निर्धक्क भएर सिक्न पाओस् जस्तो लाग्छ । ऊ जति खुलस्त भयो, त्यति नै उत्कृष्ट कलाको सिर्जना गर्न सकिन्छ भन्ने उनलाई लाग्छ । 

उनले आफ्नो निजी अभ्यास तथा कौसी थिएटरको अभ्यासमा पनि यही बुझाइलाई प्रयोग गरेकी छन् । त्यसैले पनि काैसी थिएटर यस्तो ठाउँ बनेको छ, जहाँ कोही पनि गल्ती गर्न डराउँदैनन् । डर, आलोचना र पूर्वाग्रहबिना मनका भावना, मनमा खेलेका कुरा व्यक्त गर्ने र सुनिने वातावरण छ । 

अहिले उनीहरूले भर्खरै नयाँ स्पेस पनि थपेका छन् । त्यसको भित्तामा एउटा चित्र कोरिएको छ । त्यहाँ सबैको हात छन् । त्यहाँ सबै बराबर छन् ।  

रिहर्सलको सुरु दिन भेट्दा कौसी थिएटरमा समूहमा एउटा “कम्युनिटी एग्रिमेन्ट” हुने गर्छ । त्यसको मूल सिद्धान्त “डु नो हार्म” हो । यानिकि कसैला हानि नपुर्‍याउने । त्यसक्रममा नै के कुरा सही हो र के सही हैन भन्ने बारेमा छलफल हुन्छ । विभिन्न ठाउँ बाट फरक पृष्ठभूमि भएका व्यक्तिहरू नाटक सिक्न आउने हुने भएकाले कतिलाई विभिन्न कुराको बारेमा जानकारी नहुन पनि सक्छ। त्यस्ता नजानेका कुराहरूलाई सम्बोधन गरिन्छ । जात, धर्म, भाषालाई लिएर कसैलाई विभेद नगरिने वातावरण सिर्जना गरिन्छ । अनि एउटा समानुभूतिपूर्ण स्वस्थ सिकाइको वातावरण बनाइन्छ । 

‘हामी सिकाइसँगै “सेल्फ केयर” लाई पनि उत्तिकै प्राथमिकता दिने गर्छौं,’ आकांक्षा बताउँछिन्, ‘थिएटरमा तन मन एकत्रित गरेर गहिरो रूपमा तालिम हुने भएकोले कसैलाई बुझ्न गाह्रो भएको अवस्थामा अथवा महिनावारि भएको बेलामा खुलस्त रूपमा आफ्ना समस्या व्यक्त गर्न पाइन्छ ।’ 

 ‘हरेक बबाल कुरा’ र ‘नाइट मदर’, जस्ता कार्कीद्वारा निर्मित नाटकमा मानसिक स्वास्थ्य, अनि आत्महत्या, आत्महत्याका विचार आदि विषय प्रस्तुत गरिएका थिए । यी नाटकहरूले दर्शकका मनमा बस्न सफल भई दर्शकलाई आफ्नो जीवनलाई हेर्ने एउटा नयाँ दृष्टिकोण प्रदान गरेका थिए । त्यति मात्र हैन, यी नाटकमा खेल्ने कलाकारहरूमा पनि भावनात्मक रूपमा परिवर्तन आई अझ समानुभुतिको भावना विकास गरेको छ । जीवनप्रति आशावादी बनाएको छ । 

मानसिक रूपमा स्वस्थ हुन सङ्घर्ष गरिरहेका दर्शकहरूले स्टेजमा प्रदर्शन भइरहेको मानसिक रोगबारे कुरा गरिएको विषय देख्दा कम एक्लो महसुस गर्छन् । मानसिक रोगसँग बाँचिरहेका मानिसहरूको लागि समानुभूति निर्माण गर्ने सम्भावना बोकेको हुन्छ थिएटरले । 

आकांक्षा भन्छिन्, “नाटक सिक्न आएका सबैलाई थिएटर आउँदा घर आएको जस्तो महसुस होस् भन्ने हामी चाहन्छौँ । घरमा जस्तै निर्धक्क भएर बोल्ने, हाँस्ने, सिक्ने, मनमा लागेका कुरा र मनमा खेलेका भावनाहरू खुलस्त रूपमा व्यक्त गर्न पाउने वातावरण बनाउन हामी लागिरहनेछौँ ।’

कौसी थिएटरमा ‘Let’s अभिनय गरौँ’ भन्ने नाटक यही जुन २१ देखि जुलाई २ सम्म लाग्दैछ । सुदाम सिकेले सहजीकरण गर्ने यो प्रस्तुति कलाकारहरूले सँगै मिलेर बनाएका हुन् । उक्त प्रस्तुतिमा संगीत नरेश गजुरेल र शिवराज जोशीको रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *