बाढी–पहिरो पीडितलाई उद्धार, उपचार र राहत तत्काल दिनुपर्छ : हितराज पाण्डे

काठमाडौँ । सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पूर्वी पहाडी जिल्लामा वर्षापछि आएको बाढी पहिरोका पीडितहरूलाई उद्धार, उपचार र उचित राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
मङ्गलवार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले तीन वटै तहका सरकारले बाढी पहिरो पीडितहरूलाई राहत, उद्धार र उचित क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रमुख सचेतक पाण्डेले सो घटनामा परी मृत्यु भएकोहरुप्रति श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरे ।
उनले भने ‘हालै ताप्लेजुङ, पाँचथर, सङ्खुवासभालगायत पूर्वी पहाडमा ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछु । मृतकप्रति श्रद्धाञ्जली र परिवारका सदस्यहरूप्रति समवेदना व्यक्त गर्दै सम्पूर्ण प्रभावित परिवारप्रति सहानुभूतिका साथ तीन वटै तहका सरकारलाई शिघ्राधिशिघ्र उद्धार, उपचार, राहत र पुनर्निर्माणको लागि ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रमुख सचेतक पाण्डेले पीडितहरूलाई पुनर्वासको व्यवस्था गर्न पनि सरकारलाई ढिलाइ नगर्न सचेत गराए ।








