परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीको उत्थान हुँदैन : मन्त्री गुरुङ
२०८० असार ४ गते

फाइल
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीहरूको उत्थान हुन नसक्ने बताएका छन् ।
सोमवारबाट काठमाडौँमा सुरु भएको ट्रेड युनियन काँग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा श्रमजीवी र परजीवी गरी दुई प्रकारका जीवी रहेको उल्लेख गर्दै परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीहरूले सम्मान पाउन नसक्ने बताए ।
उनले भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम ट्रेड युनियन काँग्रेसले गर्नुपर्ने बताए । उनले ट्रेड युनियन काँग्रेसले मागेर नभई खोसेर आफ्नो अधिकार लिन सक्नुपर्ने बताए ।
उनले भने ‘अब यो मुलुकमा एउटा प्रवृत्तिको जरो हल्लाउने काम तपाईँहरूले नै गर्नुपर्छ । त्यो भनेको भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम तपाईँहरूले गर्ने हो । नेपाली राजनीतिमा दुई वर्ग छन् । दुई वटा जीवी छन् । एउटा श्रमजीवी र अर्को परजीवी । परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीहरूको उत्थान हुन सक्दैन । ट्रेड युनियन काँग्रेसले मागेर होइन, खोसेर अधिकार लिने हो । अब खोस्न अघि बढ्नुस् । आज यो मुलुक भ्रष्ट प्रवृत्तिका कारणले गर्दा बन्न नसकेको हो । भ्रष्ट प्रवृत्ति बदल्न आवश्यक छ ।’
मन्त्री गुरुङले मुलुक भ्रष्ट प्रवृत्तिका कारणले बन्न नसकेको भन्दै भ्रष्ट प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।
२०८० असार ४ गते
प्रतिक्रिया
सम्बन्धित








