भ्यागुताको बिहे : अनावृष्टि र अत्यधिक तापक्रमको प्रभाव

काठमाडौँ । उहिल्यैदेखि मानिसमा इन्द्र देवता खुसी भए पानी पर्छ भन्ने जनविश्वास रहिआएकाे छ । मानिसले इन्द्र देवतालाई खुसी बनाउन पूजा गर्ने, भ्यागुताको विवाह गरिदिने गर्दै आएका थिए ।

विगतमा गरिने विधिअनुसार भ्यागुताको विवाहमा एक जोडी भ्यागुतालाई बेहुला–बेहुली बनाएर शृङ्गार गरिन्छ । सिन्दूर लगाएर उनीहरूको विवाह गराइन्छ । भ्यागुताको विवाहमा जन्ती पनि आउने चलन छ । कतिपयले दाइजो पनि दिन्छन् । भोज–भतेर पनि खुवाइन्छ । अनि नजिकैको कुलोमा लगेर ती भ्यागुतालाई छाडिदिएपछि  विवाह सम्पन्न हुन्छ ।

अहिले सामाजिक सञ्जालमा भ्यागुताको विवाह भएको तस्बिरहरूले निकै चर्चा पाइरहेको छ । कतिपयलाई उक्त तस्बिरहरू देख्दा  हाँसो लाग्न सक्छ । हाँसो लाग्नु स्वाभाविक पनि हो । तर उक्त तस्बिरहरू हाँसोको किस्सामात्र नभएर वर्तमान मानिसले भोगिरहेको अनावृष्टि र अत्यधिक तापक्रमको प्रभाव हो ।

अत्यधिक गर्मीले तराई क्षेत्रमा  ‘लु’ को प्रकोप देखिएको छ । तातो हावाको कारण तराईमा बिरामी  सङ्ख्या वृद्धि हुनुका साथै विद्यालय पनि धमाधम बन्द भइरहेको छ । साथै झाडा पखाल ,कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने र बान्ता लाग्ने जस्ता समस्याहरू देखिएका छन् ।

बर्खा लाग्दा पनि पानी नपरेर खेतका बिउ–बाली सुक्न थालेपछि किसान चिन्तित भएका हुन् । प्रकृतिले नै ठगेका मानिसको जनजीवन यतिखेर खडेरी र अत्याधिक तापक्रमले गर्दा झनै अस्तव्यस्त बनिरहेको छ ।

मानिसको अनुकूल तापक्रम भूगोल अनुसार  फरक हुने भए पनि सामान्यतया २०–३० डिग्री सेल्सियसको तापक्रमलाई अनुकूल तापक्रम मानिन्छ । तर जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको तापक्रम ३२ दशमलव २ डिग्री सेल्सियस रहेको छ भने धनगढीमा ४० दशमलव ४ प्रतिशत रहेको छ । त्यस्तै सबैभन्दा उच्च तापक्रम नेपालगञ्ज रहेको छ । नेपालगञ्जमा अहिले ४१ दशमलव ७ डिग्री सेल्सियस तापक्रम रहेको छ भने जनकपुरमा ४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम रहेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढेको छ । विश्व मौसम सङ्गठनले पनि आगामी पाँच वर्षमा हालसम्मकै सबैभन्दा धेरै तापक्रम रेकर्ड हुने सम्भावना रहेको औँल्याएको छ।

अहिले पृथ्वीमा मानवीय क्रियाकलाप बढ्नाले वायुमण्डलमा हरितगृह ग्यासको उत्सर्जनमा वृद्धि विश्वव्यापी रूपमा नै तापक्रम वृद्धि भएको छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकायको प्रतिवेदनअनुसार पृथ्वीको औसत तापक्रम एक दशमलव एक डिग्री सेल्सियसले बढेको छ । सन् १८५०–१९०० को तुलनामा पृथ्वीको औसत तापक्रम बढेको हो ।

दिनप्रतिदिन मानिसहरूले कहिल्यै नाम नसुनेको र नभोगेको प्राकृतिक प्रकोपहरू भोगिरहेका छन् । जसको जवाफ स्वयम विज्ञानसँग पनि छैन । त्यसैले भविष्य अनविज्ञ भएका मानिसहरू दुःख र सङ्कट आइपर्दा देवतालाई नै सम्झन्छन् , पुकारा गर्छन् । आराधना गर्छन् । अनि भ्यागुताको बिहे पनि गर्छन् । भ्यागुताको बिहे वर्तमान समस्याको प्रभाव हो भन्दा फरक पर्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *