नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न सभामुखको निर्देशन 

काठमाडौँ । सभामुख देवराज घिमिरेले नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उहाँले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

उनले अहिले ठेक्का प्राप्त समयको हिसाबले काम कम भएको बताउनु भयो । उहाँले अबका दिनमा कामले गति लिने विश्वास व्यक्त गरे । उनले विगतका प्रतिकुलतालाई अनुकूलतामा बदलेर तोकिएको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘समयको हिसाबले काम कम छ, तर अब यसले गति लिन्छ, सबै लाग्नुपर्छ, बन्नुपर्छ समयमा नै । यो राष्ट्रको आवश्यकता हो । हिजोका प्रतिकुलतालाई अब अनुकूलतामा बदलेर समयमा नै काम सक्नुपर्छ । अब अनुकूलता सबै ठाउँमा छ । यसले अब समयमा नै काम सकिन्छ ।’

सभामुख घिमिरेले वर्तमान अवस्थामा देशको अर्थतन्त्र सन्तोषजनक नरहे पनि संसद भवन निर्माण कार्यका लागि सरकारले भुक्तानी गर्न आनाकानी नगरेको बताए ।

उनले सबै भुक्तानी समयमा नै दिइरहेकाले निर्माण पक्षले पनि सरकारको आवश्यकतालाई बुझेर निर्माण कार्य समयमा नै सम्पन्न गर्नुपर्ने बताए । उनले मन्त्रालय र ठेकेदार कम्पनीले एकले अर्कोलाई दोष लगाउनु भन्दा आफ्नो काम सम्पन्न गर्नेकुरामा बढी जोड दिनुपर्ने बताए ।

उनले भने, ‘हामीले समयमा नै काम सक्नुपर्छ, अहिले देशको अर्थतन्त्र त्यति गतिलो छैन । हामीले कतिपय ठाउँमा पेमेन्ट गर्न नसकेर ठेकेदारहरू त्यत्तिकै बसेका छन्, तर यहाँ त कुनै पेमेन्टको समस्या नै छैन भनेपछि काम समयमा नै सक्नुपर्छ । सांसदका कर्मचारीहरूले बिहानदेखि काम गर्दा खाजा खान नपाएको कुरामा नै आज हामी छलफल गर्दैछौँ । देशको आर्थिक संकट यस्तो छ । कर्मचारीहरूले यस्तो व्यहोरेर भए पनि कसरी काम चलाउने भन्ने कुरा छ । एकले अर्कोलाई दोष नदेखाऔँ । साझा दायित्वका रूपमा काम गरौँ । ६३ प्रतिशत बल्ल पुगेको छ । समग्रमा ५० प्रतिशतमा छौँ ।’

सभामुख घिमिरेले संसद भवन निर्माणको काम देशको साझा र आवश्यकताको विषय ठानेर निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *