आर्थिक मन्दीले निम्त्यायो विकृति : दिनदहाडै चोरीदेखि हत्यासम्म !

केही समयअघि राजधानीको चाबहिलस्थित क्रूर हत्या भएको थियो । एउटा सुनको सिक्रीका लागि सरस्वतीनगरमा दिउँसै मान्छेको ज्यान लिइयो । यता, बैंकका कर्मचारीले समेत बचतकर्ताको खाताबाट रकम निकालेको घटना सार्वजनिक भयो । शेयर र घरजग्गामा डुबेर जुवाको लत लागेका ती हाकिमले पैसा चोरे । यो घटना एभरेष्ट बैंकको हो । माछापुच्छ्रे बैंकबाट पनि खाताबाटै पैसा हरायो । पछिल्लो समय गाउँदेखि सहरसम्म चोरी ह्वात्तै बढेको छ ।

दिउँसै चोरी गर्न थालिएको छ । दुई वर्षअघि यतिका चोरीका घटना सुनिँदैनथ्यो । अहिले त बैंकका कर्मचारी नै चोर बनेका छन् । चोरीका लागि दिनदहाडै मान्छे मार्न थालिएको छ । सार्वजनिक यातायातमा पनि पाकेटमाराहरू ह्वात्तै बढेका छन् । घरमा पनि चोर पस्न थालेको छ । यस्तो किन भयो त ? चोरी घटना एकाएक बढ्नुको कारण के ? अहिले अधिकांश मान्छे बेरोजगार छन् । रोजगारी छैन, काम लगाएकाले पनि तलब दिन सकिरहेका छैनन् ।

सहकारीमा काम गरिरहेका ६ लाख जनशक्ति रोजगारविहीन बनेका छन् । ठेकेदारहरू काम लगाउँछन्, तलब दिँदैनन् । व्यापार व्यवसाय गर्नेहरूलाई पनि उत्तिकै सास्ती छ । दिनभरि पसल कुरेर बस्यो, बोनी पनि हुँदैन । पसल, निजी संघसंस्थालगायत अन्य क्षेत्रमा काम गरिरहेकाहरूको अवस्था पनि नाजुक भएको छ । सरकारले धमाधम करारका कर्मचारी निकाल्न थालेपछि उनीहरू पनि बेरोजगार भएका छन् । अहिले बजारलाई आर्थिक मन्दीले छपक्कै छोपेको छ ।

सहकारी डुबेपछि बचतकर्ताहरूको रोइलो लागेको छ भने बजार प्रतिनिधिहरूको त रोजगार नै छिनिएको छ । यहाँ घरायसी काम गर्नेहरू धेरै छन् । घरायसी काम गरेर आफ्नो घरखर्च टार्नेहरू यतिबेला मर्कामा परेका छन् । कि कामबाट निकाल्छन् कि तलब घटाउँछन् । अनि कसरी आफ्नो गुजारा गर्ने ? मजदुरी गरेर बिहानबेलुका हातमुख जोर्नेहरूलाई पनि के खाऊँ ? के लाऊँ ? भन्ने अवस्थामा पुगेका छन् । एकातिर काम छैन, अर्कोतिर काम गरेपनि तलब पाएका छैनन् ।

निजी संघसंस्थाले पनि आफूलाई नाफा भएसम्म कर्मचारीलाई तलब खुवाउने हो । आफूहरू घाटामा रहेको बताउँदै निजी क्षेत्रले धमाधम कर्मचारी हटाइरहेको छ । उसै त पहिले थोरै तलब दिन्थ्यो, अहिले त कामबाटै हटाइरहेको छ । होटल, रेष्टुरेण्ट, पसलहरूमा रोजगारी गरिरहेकाहरू पनि तनावमा परेका छन् । व्यापार नभएपछि साहुले धमाधम कामबाट निकालिरहेको छ, उनीहरूलाई कहाँ जानु र के खानु भएको छ । बेरोजगारी र महँगीले इमानदारलाई पनि चोरी गर्नुपर्ने बाध्यता सिर्जना गरेको छ ।

बिहानबेलुका खानै पर्‍यो । त्यसको लागि पैसा हुँदैन । अनि अन्तिम विकल्पका रूपमा चोरी गर्छन् । लुगा थोत्रा पुराना लगाएपनि हुन्छ । घर नभएपनि चल्छ । गाडी नचढेपनि हुन्छ । तर, खानु त पर्‍यो । दुईतीन दिन खान पाएन भने मान्छे बेहोस हुन्छ । एकदिनभन्दा उता भोक खप्न पनि सकिँदैन । खान नपाएपछि दुइटा विकल्प हुन्छ: माग्ने कि चोर्ने । भोक लाग्यो भनेर माग्दा पनि यहाँ कसैले दिँदैनन् । खान नपाएपछि चोर्नुबाहेकको विकल्प नै रहँदैन ।

माग्न आउँदैन कसैले दिँदैन, काम खोज्यो काम पाउँदैन, अनि के गर्ने ? राज्यले जनतासँग कर लियो, सरकारमा जानेहरूले जनताबाट भोट लिए । देशको जनसङ्ख्या भन्न राज्यले सिक्यो । तर, जनताले पाउनुपर्ने कुनै हकअधिकार दिन सकेन । गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत हकको संरक्षणसमेत राज्यले गर्न सकेन । आफ्नो दायित्वबाटै सरकार पन्छियो । देशमा उद्योग कलकारखाना छैन । जग्गा सबै घर र बाटो गर्दागर्दै सकिसक्यो ।

विदेशी ऋण निरन्तर उकालो लागिरहेको छ । एक जना नेपालीको टाउको ९० हजार रुपैयाँ विदेशी ऋण पुगेको छ । जनताले तिरेको कर नेता र सरकारी कर्मचारीको आवश्यकता पूरा गर्दै सकियो । तलबभत्ता, सरकारी गाडी, विदेश भ्रमण गरेर सरकारले उठेको कर सकायो । नपुगेर विदेशीसँग हात थाप्ने काम भयो । नेपालीहरू भेडाबाख्राझैं विदेशमा बेचिएका छन् । उनीहरूले पठाएको विप्रेषणले तिनको घरपरिवार धानिएको छ । राज्य त्यसबाटै सञ्चालन भएको छ ।

राज्यकै कारण आज समाजमा यत्रो बेतिथि निम्तियो ।  सबैलाई रोजगारीको सुनिश्चितता गर्न सकेको भए, दिउँसै चोरेर हिँड्नुपर्दैनथ्यो । नागरिकता दिँदैमा र नागरिक भन्दैमा राज्यको कर्तव्य पूरा हुँदैन । एउटा सुनको लागि व्यक्तिको ज्यान लिनु घटना कति कहालीलाग्दो छ । सुन लगाएर हिँड्नु खतरा भएको छ । अब राज्यले यस्तो घटनालाई कसरी रोक्छ ? बेरोजगारीले समाजलाई कस्तो अवस्थामा पुर्‍याएको छ ? यो त स्पष्ट भइसकेको छ ।

सुनको लागि एउटा व्यक्तिको ज्यान गयो, एउटा जेल पर्‍यो । दुवै नेपाली थिए तर बेरोजगारीले त त्यो भनेन । राज्यका कारण समाजमा जटिल अवस्था बनिसकेको छ । सरकारले कि खान नपाएकालाई खान दिनुपर्‍यो । रोजगारी नभएकालाई रोजगारी दिनुपर्‍यो । कि भत्ताको व्यवस्था गर्नुपर्‍यो । भोट लिने, कर उठाउने, जनता भन्ने अनि हकअधिकार केही नदिने ? यहाँ पाँचदेखि १५ हजारमा महिनाभर काम गर्नेहरू छन् । त्यो पनि समयमा पाइदिए त हुन्थ्यो ।

काम गर्‍यो, तलब पाउनकै सास्ती हुन्छ । महँगी बढेको बढ्यै छ । घरधनीले हरेक तीन महिनामा भाडा बढाउँछ । यातायात व्यवसायीले वर्षमा चारचोटी गाडी भाडा बढाउँछ । तर, भाडा घटेको बेला घटाउँदैन । अनि कसरी गुजारा गर्ने ? काम लगाउने अनि तलब नै नदिने, यस्तो पनि हुन्छ ? कसैले जबरजस्ती काम देऊ भनेका त थिएनन् । आफ्नो फाइदाका लागि काममा राख्ने अनि तलब नदिने । अनि नचोरेर के गर्ने ? चोर्नलाई बाध्य नै बनाइयो ।

तलब नदिनेलाई सरकारले कानुनको दायरामा ल्याउनुपर्थ्यो । तर, सरकारले त्यसो गर्न पनि सकेन । कसैले काम लगाएबापत अनिवार्य १५ हजार रुपैयाँ तलब दिनुपर्ने प्रावधान छ । यद्यपि, कसले टेर्ने ? हरेक क्षेत्रमा श्रम शोषण छ । यातायातमा काम गर्ने मजदुरहरूले दुईदेखि पाँच हजार रुपैयाँ  तलब पाउँछन् । होटल, रेष्टुरेण्टमा पनि त्यस्तै छ । अनि कसरी घरखर्च चलाउने ? धनीहरूले गरिबलाई भोकभोकै मर्नुपर्ने बाध्यता बनाइदिएका छन् । आम्दानी हुने र नहुनेले उति नै पैसा तिरेर सामान किन्नुपरेको छ ।

तलब थोरै छ भने घरधनीले भाडामा छुट दिँदैन । पसलेले सस्तोमा सामान दिँदैन । सबै वर्गका लागि सामानको रेट उति नै छ । तर, तलब त बराबर छैन । सरकारले आर्थिक अवस्था कमजोर भएकालाई रासन कार्डको व्यवस्थापन गर्नुपर्थ्यो । विडम्बना, त्यो पनि गर्न सकेन । धनीहरू देखासिकी गर्न महँगामहँगा सिक्री लगाएर हिँड्छन् । गरिबहरू तिनलाई मारेर जेल जान्छन् । धनी र गरिबबीचको अन्तर बढ्दै जाँदा मुलुकमा धेरै विकृति निम्तिन थाल्यो ।

पैसा हुनेहरूले गरिबको शोषण गर्न थाले । सार्वजनिक सवारी साधनमा पाकेटमाराको सङ्ख्या ह्वात्तै बढेको छ । अब सरकारले यसलाई कसरी न्यूनीकरण गर्ने ? भन्नेमा ध्यान पुर्‍याउनुपर्छ । हरेक क्षेत्रमा डामाडोल बनेको छ । राज्यले अर्थतन्त्रलाई ट्रयाकमा नल्याउँदाको कुनै विकल्प त दिनुपर्‍यो । गोजीमा पैसा नभएपछि नेपालीहरू अत्तालिएका छन् । बिहान खायो भने बेलुका के खाऊँ ? भन्ने अवस्था सिर्जना भएको छ । यो संकटको घडी हो । सबैले हातेमालो गर्‍यो भने यो संकटबाट बाहिर निस्किन सकिन्छ ।

यसका लागि मानवताको भावना चाहिन्छ । कुनै पनि उपाय नदेखेपछि कतिपयले आत्महत्याको बाटो रोजेका छन् । बैंक, फाइनेन्सले कर्जा तिर्न च्याप्नुभएन । घरधनीले भाडा तिर्न भन्दै तनाव दिनुभएन । संकट सबैलाई परेको छ, त्यसैले सबैजना मिलेर धैर्य गरौँ । अहिले बजारमा विकृति बढ्नुको कारण आर्थिक मन्दी नै हो । सरकारले आर्थिक मन्दी हटाउन आफ्नो ठाउँबाट सक्दो प्रयत्न गर्नुपर्छ । बुढापाकाले भन्छन्,‘बरु मागेर खाऊँ, चोरेर नखाऊँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *