सिरोहिया पक्राउ प्रकरण : कान्तिपुरमाथि गृहमन्त्रीले प्रतिसोध साँधेकै हुन ?

काठमाडौं । मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गर्‍यो । सिरोहियालाई कान्तिपुरको थापाथलीस्थित उनकै कार्यकक्षबाट पक्राउ गरिएको थियो ।

उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको टोली खटिएको थियो ।

उनलाई पक्राउ गरी मंगलबार नै थप अनुसन्धानका लागि धनुषा लगिएको थियो । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको थियो । उक्त आदेशपछि नै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तर, सिरोहिया पक्राउको विषयमा नेपाली समाज दुई भागमा विभाजित भएको छ । यो विषय विशेषगरि सत्तापक्ष र प्रतिपक्षको प्रतिष्ठाको लडाइँ जस्तो बन्न पुगेको छ ।

सत्तापक्ष अर्थात् सरकारले विधिको शासनमा कानुनभन्दा माथि कोही नरहेको प्रतिक्रिया दिएको छ, भने अन्य प्रतिपक्ष दलका नेता तथा विभिन्न मिडियासँग प्रत्यक्ष सरोकार राख्ने सङ्घसंस्थाले त्यसको विरोध जनाएका छन् ।

उनीहरूले सरकारले स्वतन्त्र प्रेसको घाँटी निमोठेको बताएका छन् । गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणको विषयमा समाचार लेख्दा प्रतिसोध साँध्न सिरोहियालाई पक्राउ गरिएको बताएका छन् ।

लामिछानेको प्रतिशोधपूर्ण कदम भएको भन्दै सञ्चार सम्बद्ध सङ्घसंस्था, पत्रकार र मानवअधिकारवादीले त्यसको भर्त्सना समेत गरेका हुन् ।

नेपाल पत्रकार महासंघले आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाउँदा पनि सिरोहियालाई पक्राउ गर्नुले घटना प्रतिशोधपूर्ण रहेको जनाएको छ ।

यस्तै, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले कुनै पनि आरोपबारे राज्यका निकायले छानबिन गर्न पाउने कुरामा दुई मत नरहे पनि यो घटनाले केही गम्भीर शङ्का जन्माएको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनले पत्रकारलाई यसरी निसाना बनाउनु उचित नभएको भन्दै अकोराबले प्रजातान्त्रिक मूल्य मान्यतालाई कायम राख्न सरकारसँग आग्रह गरेको छ ।

यता, सिरोहियालाई पक्राउ गरेको प्रति समाजवादी प्रेस सङ्गठनले पनि आपत्ति जनाएको छ । सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले विज्ञप्ति जारी गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सहकारी ठगी, दोहोरो नागरिकता र राहदानीलगायतका विषयमा निरन्तर समाचार प्रवाह गरेकाले कान्तिपुरमाथि राज्यले प्रतिशोध साँधेको उल्लेख गरेका छन् ।

नेपाल मिडिया सोसाइटीले समेत अनियमितताका विषयलाई लिएर समाचार प्रकाशन र प्रसारण गर्दा प्रतिशोधका आधारमा सिरोहियालाई पक्राउ गर्नु गलत भएको उल्लेख गर्दै त्यसको घोर निन्दा र भर्त्सना गरेको छ ।
यता, सम्पादकहरूको एक समूहले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त पत्र लेख्दै गृहमन्त्री रवि लामिछानेमाथि तत्काल मुद्दा चलाउन सुझाएका छन् ।

विभिन्न सञ्चारमाध्यमका ३२ जना सम्पादकहरूले प्रधानमन्त्रीलाई ५ बुँदे पत्र लेख्दै सिरोहियालाई प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएकोमा आपत्ति जनाएका हुन् । सम्पादकहरूले रवि लामिछाने पहिलो पटक गृहमन्त्री बन्दा नेपालका नागरिक नै नभएको जिकिर गरेका छन् ।

सरकारपक्ष भन्छ– सिरोहियासँग केको रिसइबी ?

सिरोहिया पक्राउ परेको विषयमा चौतर्फी आलोचना भइरहेका बेला सरकारले भने त्यसको खण्डन गरेको छ । सरकारले कान्तिपुरविरुद्ध कुनै पनि रिसइबी नसाधेको बताएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले छोटो प्रतिक्रिया दिँदै सिरोहियालाई अदालती प्रक्रियाबाटै पक्राउ परेको बताएका छन् ।

‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई,’ उनले भने । ‘सरकारले रिसइबी साध्यो भन्ने छ नि’ पत्रकारको प्रश्नमा प्रधानमन्त्री दाहालले भने, ‘त्यो गलत कुरा हो । उहाँसँग केको रिसइबी ?’

यता, गृहमन्त्रीको पार्टी रास्वपाले पनि सिरोहिया पक्राउबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । महामन्त्री डा. मुकुल ढकालले बुधवार एक विज्ञप्ति जारी गर्दै अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरेका छन् ।

‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन, यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ’, उनले भनेका छन् ।

जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नुपर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित हुने उल्लेख गरेको छ ।

‘कोही कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो’ रास्वपाले भनेको छ, ‘यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।’

सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत धनुषाले नागरिकता किर्ते गरेको आरोपमा पक्राउ परेका सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयमार्फत ५ दिन हिरासतमा राख्न माग गरेको थियो । तर, जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सिरोहियालाई हिजो जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको थियो । सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।

पक्राउपछि सिरोहियालाई गाडीमा बिपी राजमार्गबाट धुलिखेल, सिन्धुली हुँदै बुधवार बिहानै जनकपुरधाम पुर्‍याइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *