चलचित्र क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चलचित्र क्षेत्रमा राजनीति प्रवेश गराउनु नहुने बताएका छन् ।

आइतबार काठमाडौँमा भएको एका कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा हरेक क्षेत्रमा राजनीति हाबी भएको उल्लेख गर्दै चलचित्र क्षेत्रले राजनीतिलाई नबोकी अघि बढ्नुपर्ने बताए । उनले कलाकारहरू राजनीतिक दलका सङ्गठनहरूमा लागेर नियुक्तिका लागि पार्टीमा लाग्न छोड्नुपर्ने बताए ।

उनले नेपालको चलचित्र क्षेत्रलाई विज्ञान र प्रविधिको विकाससँगै अघि बढाउन जरुरी रहेको बताए । उनले चलचित्र क्षेत्र सबैको माया पाउने क्षेत्रका रूपमा विकास हुन आवश्यक रहेको उल्लेख गरे । उनले नेपाली चलचित्रले आफ्नो बहु आयामिक पहिचानलाई बचाइरहन आवश्यक रहेको बताए ।

उनले भने ‘नेपालको चलचित्र क्षेत्रलाई विज्ञान र प्रविधिको विकाससँगै अघि लैजानुपर्छ । नेपालको आफ्नो बहु आयामिक पहिचानलाई कायम राख्दै फरक पहिचानका साथ विश्वमा नै नेपाली चलचित्रलाई स्थापित गराउन कलाकार, उद्यमी, पत्रकारको आवश्यकता छ । यसले जीविका पार्जन पनि हुन्छ सँगै यसले देशको ख्याति पनि अघि बढाउँछ । हामीले पहिचान दिन सक्नुपर्छ । राज्यको ध्यान पनि यस क्षेत्रमा जानुपर्छ । चलचित्र क्षेत्रमा त लाग्ने तर गास, बासको लागि नै समस्या छ भने किन लाग्ने ? यस कारण यस क्षेत्रबाट पनि देशलाई अघि बढाउन सकिन्छ भन्ने हिसाबमा हामी सबै जानुपर्छ । अहिले हरेक क्षेत्रमा राजनीति घुसेको छ, यो चलचित्र क्षेत्रमा राजनीति नघुसाइ अघि बढाउनुपर्छ । त्यो भन्दा पृथक् ढङ्गबाट चलचित्र क्षेत्रलाई लैजान सक्नुभयो भने राम्रो होला, तर कलाकार सबै पार्टीका भातृ संस्थामा बाँडिन जानुभयो भने माया मान्ने धेरै हुँदैनन् । नियुक्तिका लागि पार्टीमा लाग्नुभयो भने कसैको पनि माया पाउनु हुन्न, सबैको माया पाउने संस्था बन्न सक्नुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले चलचित्र र चलचित्र पत्रकारहरूलाई थप माथि उठाउन सरकारले आवश्यक ध्यान दिन जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *