बन्देजको नीतिबाट शैक्षिक समस्या समाधान हुन सक्दैन : अध्यक्ष पाण्डे (भिडिओसहित)

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले राज्यले अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै प्राप्त गर्नसक्ने वातावरण सिर्जना गर्नसक्नुपर्ने बताएका छन् । आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिलेको राज्यको नेतृत्व समयानुकूल परिवर्तन नहुँदा पुरानै मानसिकतामा शिक्षा ऐनहरू बन्ने गरेको बताए । नेपाली विद्यार्थीको आवश्यकताअनुसारको शिक्षा नीति बनाउन नसक्दा विद्यार्थीहरू विदेश जाने क्रम बढेको उनले बताए । उनले एनओसी बन्द गरेर मात्रै समस्या समाधान हुन नसक्ने बताए । बन्देजको नीतिबाट मात्रै देशको सम्पूर्ण समस्या समाधान हुने हो भने राहदानी दिन बन्द गर्नुपर्ने अध्यक्ष पाण्डेको भनाई छ ।
उनले भने, ‘बहुदल, गणतन्त्र, त्यसपछिका कुराहरू आए । १४ वर्ष जेल बसेको कुरा आए । त्याग, तपस्याभित्र पनि ल्याएको एउटा व्यवस्थाभित्र पनि अब उहाँहरू आउटेडेट हुनुभयो । उहाँहरूले समय र आम जनताको आवश्यकता, नेपाली विद्यार्थीको आवश्यकताअनुसारको शिक्षा नीति कोर्ने र विश्वविद्यालयबाट त्यही किसिमको शिक्षा दिने सोचमा परिवर्तन नआएको कारणले आम नेपाली विद्यार्थीहरूले हामीलाई अहिले राम्रो शिक्षाको आवश्यकता छ । शिक्षा रोजगारीसँगै जोडिन्छ । केही वर्ष यहीँ पढेर पनि त्यही सरकारले ल्याएको फ्रि भिसा फ्रि टिकटमा नीतिअन्तर्गत खाडी जानुभन्दा मेरो परिवार सम्पन्न छ, म विकसित हुन्छु भन्ने सोचले नेपाल बाहिर पढ्न जान लागेका छन् । बन्देजको नीतिबाट मात्रै देशको सम्पूर्ण समाधान हुन्छ भने राहदानी दिन बन्द गरौँ, सबै नेपालमै बसेर खेतबारी जोत्ने, कलकारखाना चलाउनेतिर लाग्छन् । होइन भने हाम्रो शिक्षाभित्र अन्तर्राष्ट्रिय रूपमा हाम्रा विद्यार्थीले प्राप्त गर्नसक्ने अवसर यही सिर्जना गर्नुपर्छ ।’
अध्यक्ष पाण्डेले नेपालको शिक्षामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर सिर्जना गर्नुपर्ने बताए ।
राज्यले अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै प्राप्त गर्न सक्ने वातावरण सृजना गर्न सक्नु पर्छ : प्रकाश पाण्डे,अध्यक्ष, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) pic.twitter.com/35dYhY8f6Y
— Makalu Khabar (@makalukhabar) April 30, 2023








