रविलाई रोजेको मन्त्रालय दिनुपर्छ, के त्याग गर्नुपर्छ म तयार छु : मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन् ।
शुक्रवार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रुपमा आयोजित २ दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएकोले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने बताएका छन् ।
उनले जनताले ठुला राजनीतिक दलहरूलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताए । उनले नेपालीहरू कोही पनि एक अर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताए । सबै राजनीतिक दल र नेताहरू गरिबीको विरुद्धमा एकजुट हुनुपर्ने र देश आर्थिक संकटमा सबै पार्टीलाई प्रतिपक्षमा नबस्न आग्रह गरे ।
उनले भने ‘जनताले भनेका छन्, तिमीहरूले होस पुर्याएनौँ भने दिन आउँदैछ, अझै आउँदैछ भनेको छ, त्यसैले मिलेर जाऔँ । धेरै विपरीत पार्टीलाई हामीले गाली गरेका छौँ, पानीमाथिको ओभानो बनेका छौँ, अब छोडिदिऔँ । कोही शत्रु होइनौँ हामी, हाम्रो शत्रु हो भने त्यो गरिबी हो । गरिबीको विरुद्धमा एकजुट होऔँ । र जो अत्यधिक मतले जितेर आउनुभएको छ, रवि लामिछानेजी उहाँलाई छानेको मन्त्रालय दिएर लैजाऔँ । जनताको विश्वासमाथि सम्मान गरौँ । सबै पार्टी प्रतिपक्षी नबसौँ, देश आर्थिक संकटमा छ, एउटै डुंगामा छौँ, प्वाल परेर पानी पसे त डुबिन्छ नि । देश रहे पो पार्टी रहन्छ, झण्डा रहन्छ, देशै नरहे के रहन्छ ? तर हामी यस्तो राजनीतिकरण भएका छौँ, जन्मिँदै झण्डा लिएर
जन्मिएको जस्तो ।’
मन्त्रालय मन्त्री किराँतीले नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरू नै रहेको आरोप लगाए । उनले वायुसेवा निगम खाने खुम्लेकीरा मन्त्रीहरू स्वयं रहेको बताए । मन्त्रीहरूले हरेक दिन आफू मन्त्रालयमा आएपछि करोडौँ रुपैयाँ खाने गरेको उनको भनाइ छ ।
उनले भगवान्हरू पनि आफ्नो स्थानमा बस्ने भएकाले मानिसहरू आफ्नो विज्ञतामा बस्नुपर्ने बताए । उनले अहिले राज्य सत्ताको सारा अङ्गहरू मृत्यु प्रायः रहेको दाबी गरेका छन् ।
उनले भने ‘वायुसेवा निगम खाने खुम्लेकीरा त मन्त्री नै पो रहेछ । प्रत्येक मानिस नियुक्तिमा पैसा उठाएको छ । हजार होइन, लाख होइन, क भन्दो रहेछ के क, क, एक दिन होइन, महिनौँ महिनासम्म क उठाएपछि कसरी हुन्छ । आफ्नो आफ्नो स्थानमा बस्नुपर्छ, भगवान् त आफ्नो स्थानमा बस्छन्, हामी त मान्छे हौँ । मान्छेको चाहीँ जम्मै स्थान, विज्ञता हुँदैन । अहिले राज्य सत्ताको सारा अङ्गहरू मृत्युप्राय छ । जति चिमोट्दा पनि ऐया भन्दैन, स्वार्थमा दौडिएका छन् । जनता अब जाग्नुपर्छ । दबाब जनताले दिनुपर्छ ।’
मन्त्रालय मन्त्री किराँतीले देशका कानुन संशोधन गरी अघि बढ्नुपर्ने बताए । उनले एउटा व्यवसाय दर्ता गराउन सात वटा मन्त्रालय, २२ वटा विभाग र २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘हामीले आवश्यक कानुन सच्याउनुपर्छ । हिमालमा गएर प्याराग्लाइडिङ गर्ने व्यवस्था हुनुपर्छ । हिमालमा स्काइ ड्राइभिङ गर्ने व्यवस्था हुनुपर्छ । हिमाल चढ्ने होइन, हिमाल भगवान् हो, परबाट ढोग्ने हो, भन्ने मानसिकताले बनाएको कानुन हो, समयअनुसार चल्नुपर्छ । तपाईँले एउटा व्यवसाय दर्ता गराउन जानुस्, सात वटा मन्त्रालय धाउनुपर्छ । २२ वटा विभाग धाउनुपर्छ । २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्छ भने व्यवसायी के हुन्छन् ? पर्यटनको क्षेत्रमा कानुन बनाउँदा तपाईँहरूको साथ चाहिन्छ । हाम्रो रगतमा भ्रष्टाचार छ, जतिसुकै भन्नुस् ।’
मन्त्री किराँतीले नेपालीहरूको रगत रगतमा भ्रष्टाचार रहेको बताए ।








