देख्नुभो नेपाली जनताको मुड ?

काठमाडौँ । उपनिर्वाचन दशकौँ लामो राजनीतिक विरासत बोकेका नेपाली कांग्रेस र नेकपा एमाले जस्ता प्रमुख दलहरूका लागि प्रतिष्ठाकै लडाइँ थियो । तर, नतिजा ठिक उल्टो आयो । तीन क्षेत्रमा भएको उपचुनावमा कांग्रेस-एमालेको आशातीत मत आएन ।

कांग्रेसले गत मंसिरमा भएको निर्वाचनमा जितेको एकसिट पनि गुमायो । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले बाजी मारे । कांग्रेस एक्लै चुनावमा लडेको थिएन । उसलाई सत्तारूढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समेत साथ दियो । चार-चारजना प्रधानमन्त्रीले तनहुँ पुगेर मत मागेका थिए । कांग्रेस उम्मेदवारले जिते मन्त्री बनाउने आश्वासन दिएका थिए ।

दल, तिनका शीर्ष नेताहरूको दलबल एकसाथ भएर के गर्नु ? मतदाताले साथ दिएनन् । कांग्रेस र रास्वपाका मत बाँडिदा आफूले जित्ने एमालेको दाबी थियो । एमालेले पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको थियो । तर, एमाले उम्मेदवारले विगतको भन्दा आधा कम मत ल्याए ।

कुरा तनहुँको मात्रै होइन । उपनिर्वाचनमा भएका तीनै क्षेत्रमा मतदाताले फरक सन्देश दिएका छन् । चितवन-२ मा रास्वपाका रवि लामिछाने विगतभन्दा बढी मत ल्याएर विजयी भए । कांग्रेस-एमालेले विगतको मतसमेत जोगाउन सकेनन् । उनीहरूकै गढ मानिएका क्षेत्रमा कम मत आयो । खासमा अधिकांशले यसपालि रविको भोट घट्ने आकलन गरेका थिए । बारामा भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनाव जिते ।

यो जनमत निर्माण भएको भर्खरै होइन । गत मंसिरको निर्वाचनभन्दा केही महिनाअघि मात्रै दर्ता भएको रास्वपाले अप्रत्याशित २० सिट जितेको थियो । जुन परम्परागत राजनीतिक दलविरुद्ध मतदाताको ठूलो विद्रोह थियो । सात दशक बढी समयदेखि नेपाली राजनीतिमा सक्रिय परम्परागत दलहरूले अपेक्षित काम गर्न नसकेको भन्दै जनता निराश छन् । उनीहरूको नैराश्यता आंशिक रूपमा मतमार्फत प्रकट भएको मात्रै हो । यो क्रम अझै बढ्दै जाने देखिन्छ ।

आगामी २०८४ सालमा हुने निर्वाचनमा अहिलेका प्रमुख दलहरूलाई निकै कठिन हुने आकलन राजनीतिक विश्लेषकहरूको छ । विश्लेषक पुरञ्जन आचार्य उपनिर्वाचनबाट रास्वपा परम्परागत सोचले ग्रस्त मूलधारका पार्टीका लागि सशक्त विकल्प भएर उदाएको बताउँछन् । ‘तत्कालै अर्को चुनाव छैन, भएको भए के हुन्थ्यो भन्ने हो तर अहिलेलाई रास्वपा सशक्त विकल्प भएर उदाएको छ,’ उनी भन्छन्, ‘यसले मूलधारका पार्टीहरूलाई अब सम्हालिएर, सुध्रिएर अघि बढ्न चर्को दबाब परेको छ ।’

गत मंसिरको जनादेशलाई पुराना पार्टीले गम्भीर रूपमा नलिएको परिणाम केही यस पटक भोगेको र धेरैचाहिँ २०८४ को निर्वाचनमा अझ व्यक्त हुने स्पष्ट संकेत देखिएको उनको भनाई छ । ‘यो पुराना पार्टीका लागि गम्भीर चुनौती हो, आगामी आमनिर्वाचनमा पुराना दलले अझ चुनौती सामना गर्नुपर्नेछ,’ उनले भने, ‘नेताका क्रान्ति, जेल बसेका कथा, सत्तामा पुगेपछि गर्ने वाचाले खास गरी युवा मतदाताको रोटी सेक्नेवाला छैन । त्यसैले उनीहरू स्वर्णिम वाग्लेजस्ता उम्मेदवार रोज्दै छन् ।’

अर्का राजनीतिक विश्लेषक डम्बर खतिवडाले उपनिर्वाचनको परिणामले कांग्रेस/कम्युनिस्टलाई मात्रै होइन राजावादीलाई पनि राम्रो शिक्षा दिएको बताए । ‘उपनिर्वाचन परिणामले कांग्रेस/कम्युनिस्टलाई मात्रै हैन, राजावादी मित्रहरूलाई पनि राम्रो शिक्षा दिएको हुनुपर्छ,’ उनको टिप्पणी छ, ‘देख्नुभो नेपाली जनताको मुड ? खुब राजा फर्किनै लागे भन्नुहुन्थ्यो नि ? कट्यो कतै पाँच सय भोट ? फोकटमा विचारभन्दा माथि देश भन्यो, साथीभाइलाई धोका, आफैँलाई दुःखको भारी ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =