चितवन-२ पनि सुरु हुनेभयो मतगणना

काठमाडौँ । चर्चित मानिएको क्षेत्र चितवन-२ को मतगणना १ बजेबाट सुरु हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने सहमति गरेको हो ।
मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । त्यहाँ रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसबाट जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।
मतगणनास्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वसाधारणलाई हिँड्न समेत रोक लगाइएको छ ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । त्यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका थिए । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रोलिङ्गी रहेका छन् ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले पदबाट हटाउने आदेशपछि उपनिर्वाचन भएको हो ।








