ब्रेन ट्युमर र मुटुको जटिल समस्या भएका बिरामीको नोबेलमा सफलतापूर्वक शल्यक्रिया

विराटनगर । कुनै पनि शल्यक्रिया गर्नुअघि मुटुसहित शरीरका महत्त्वपूर्ण अंगको परीक्षण गरिन्छ । मुख्य अंगहरु चुस्तदुरुस्त रहेको यकिनपछि मात्र चिकित्सकले अप्रेसनको प्रक्रिया सुरु गर्छन् । मुख्य अंगमा खराबी देखिएमा अप्रेसनका क्रममा बिरामीको ज्यान जानसक्ने खतरा भएकाले अप्रेसन नै रोकिन्छ । तर, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मुटुको जटिल दीर्घ रोग भएका बिरामीको पनि ब्रेन ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।

सुनसरीको इटहरी–७ स्थित सुकल्प टोलकी लक्ष्मीदेवी कोइरालाको पिट्यूटरीग्लाण्डमा भएको ट्यूमरको शल्यक्रिया गरिएको हो । डीसीएम नामक मुटुको जटिल दीर्घ रोगका कारण ५५ बर्षीया कोइरालाको मुटुको रक्त प्रवाह क्षमता न्यून छ । जसका कारण शरीर कमजोर हुने र मुटुको चाल गढबढी भएर अप्रेसनका क्रममा ज्यान जानसक्ने जोखिम भएपनि नोबेलमा सफलतापूर्वक अप्रेसन गरिएको हो ।

नाकबाट दूरबिन छिराएर विना चिरफार कोइरालाको ब्रेन ट्युमर निकालिएको नोबेलका वरिष्ठ न्युरो सर्जन डा.प्रकाश काफ्लेले जानकारी दिए । ‘मुटुमा समस्या भएका बिरामीलाई अप्रेसन गर्ने क्रममा बेहोस बनाउँदा पुनः होसमा फर्काउन सकिन्छ कि सकिँदैन भन्ने एनेस्थेटिक च्यालेन्ज हुन्छ,’ डा.काफ्ले भन्छन्, ‘हामीसँग न्युरो, कार्डियोसहित एनएसथेसियाको राम्रो टिम भएकाले रिस्की अप्रेसन पनि सफलतापूर्वक गरेका छौं ।’

नोबेलको न्युरो सर्जरी विभाग प्रमुखसमेत रहेका डा.काफ्ले नेतृत्वको टिमले कोइरालाको ब्रेन ट्युमर निकालेको हो । अप्रेसनमा न्युरो सर्जन प्रा.डा.एडमण्ड जोनाथान, डा.प्रमोद चौधरी, मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल, डा.सहदेव ढुंगाना, एनएसथेसियोलोजिष्ट डा.बन्दना पौडेल, डा.सागर दाहालसहितको टिम सहभागी थियो । कोइराला दुई वर्ष अघिदेखि टाउको दुख्ने, बसेपछि उठ्न गाह्रो हुने, हात दुख्ने, सुनिने लगायत समस्याबाट पीडित थिइन् । आँखाको दृष्टि पनि घट्दै गएको थियो ।

समस्या बढेपछि उपचारका लागि उनलाई काठमाडौँ र भारतको सिलगुढी पनि लगियो । तर, मुटुको समस्याका कारण अप्रेसन गर्न नसकिने भन्दै डाक्टरले फर्काइदिएको लक्ष्मीका भाई भूपाल भट्टराई सम्झन्छन् । उनी भन्छन्, ‘जहाँ लगेपनि मुटुको समस्या छ, अप्रेसन गर्न सकिदैन भन्दै फर्काए, काठमाडौँ र सिलगुढीका अस्पतालले पनि फर्काएपछि केही उपाय नलाग्ने रहेछ भन्ने सोचेका थियौँ, अहिले नोबेलमा अप्रेसन भएपछि दिदीलाई ठिक छ ।’

अप्रेसनपछि निको भएर उनी अस्पतालबाट घर फर्किएकी छन् । अहिले उनको आँखाको ज्योति पनि फर्किएको छ । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल अस्पतालमा दक्ष चिकित्सक र अत्याधुनिक उपकरणका कारण जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 3 =