प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक, प्रधानन्यायाधीश नियुक्तीको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएका छन् । आगामी शुक्रबार बिहान ९ बजे सिंहदरबारमा बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्न सिफारिस गर्ने छ। दलहरुले चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएर निलम्बन गराएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चल्दै आएको छ।

नेपाल बार र सर्वोच्च बारले प्रधानन्यायाधशि र न्यायाधीश चाँडो नियुक्त गर्न दबाब दिँदै आएको थियो। यसअघि कामु प्रधानान्यायाधीशको रुपमा दीपक कार्कीले काम गरेका थिए। अहिले हरिकृष्ण कार्कीले कामुका रुपमा नेतृत्व गरिरहेका छन्।

संवैधानिक परिषद्ले कार्कीलाई नै प्रधानन्यायाधीश नियुक्त नियुक्ति गर्न सिफारिस गर्ने सम्भावना छ।

सोमबार बिहान मात्रै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए।

प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन्।

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बस्ने संवैधानिक परिषदको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य रहने भएपनि हाल कानुन मन्त्री छैनन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =