ढाकाकुमारले दुर्गा प्रसाईँलाई मध्यस्थता गरिदिन आग्रह गरेपछि…

काठमाडौँ । सार्वजनिक विज्ञप्ति मार्फत घुस प्रकरण अस्वीकार गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अर्को अडियो सार्वजनिक भएको छ । यसअघि पहिलो अडियो सार्वजनिक गरेको कपुरकोटले त्यसपछि ढाका र उनको टिमले गरेको कुराकानी बाहिर ल्याएको हो ।

अडियो बाहिर आएपछि आफूलाई गाह्रो परेको भन्दै मिलाइदिन प्रसाईंसँग आग्रह गरिरहेको अडियोमा बुझ्न सकिन्छ । सुरुमा ढाकाका पीए र भाइ बताउने व्यक्तिले दुर्गा प्रसाईंसँग कुरा गर्छन् । पछि दुर्गा प्रसाईंका सहयोगीसँग भने ढाकाले नै कुरा गरेको अडियोमा खुल्छ ।

दुर्गा प्रसाईं र ढाकाको भाइ बताउँने व्यक्तिबीच यस्तो सम्बाद हुन्छ :-

पार्टीले कारबाही गर्यो, साधारण सदस्य पनि नरहने, सांसद पनि जाने दाइले भेट्न खोज्नु भएको छ ।

प्रसाईं सोध्छन्- मैले के गर्दा हुन्छ त भन्नु न । ढाका कुमार श्रेष्ठको त गल्ती होइन नि, माग्न लगाउनेको पो गल्ती हो त कुरा बुझ्नु भएन भाइ ।

जे भएपनि बीचमा दाइलाई पार्यो क्यारे लाटो, सोझो मान्छेलाई । त्यही त अब हजुरले यसो बुझिदिनु पर्यो यो कुरालाई ।

मैले के गरिदिउँ त भन्नु न त म सहयोग गरिहाल्छु नि ।

एकचोटी दाइले भेट्न खोज्नु भएको थियो हजुरलाई कता हुनुहुन्छ ?

म आज विरगन्जको कार्यक्रममा छु । मलाई भरे बेलुका भेट्नु भनिदिनु न त ल ।

वीरगन्ज कहाँ हुनुहुन्छ ?

वीरगन्ज यो कार्यक्रममा आइरछु नित । बैंक, लघुवित्त र सहकारीले सिध्याइहाल्यो। रवि लामिछानेहरु यस्तै लुट्न गएका छन् त्यहाँ । तपाईले बुझ्नुभयो । मलाई एउटा कुरा चित्त नबुझेको क्या। सांसद बनाउँदा पनि पैसा लिने, मन्त्री हुँदा पनि पैसा लिने यो त भएन नि पार्टी अध्यक्षहरुको ।

यो त खोइ अब के हो दाइहरुको बुझिएन क्यारे। त्यही त दाइले एकचोटी कुरा गर्न त भन्नु भएको थियो ।

त्यसपछि ढाका कुमारले दुर्गा प्रसाईंका सहयोगी यदु गौतमलाई फोन गरेर दुर्गा प्रसाईले यदि मेरो बारेमा पोजेटिभ बोलिदिनु भयो भने केही हुन्थ्यो कि एउटा माहोल बन्थ्यो कि भनेका थिए ।

सुरुमा यदुले कुरा गरेको सुनिन्छ, ढाका बोलेको भने सुनिँदैन ।

पछि लाउडस्पिकरमा आउज बनाउँछन् । अनि ढाकाले भन्छन्, ‘दुर्गा प्रसाईजीले केही अडिओको बारेमा पोजेटिभ बोलिदिनु भयो भने सहयोग हुन्थ्यो भन्ने हो ।’ त्यसपछि यदुले त्यो विषयमा भरे सल्लाह गरौँला अहिले म बाटोमा छु भन्दै फोन राख्छन् ।

यसअघि ढाकाले अडिओ आफ्नो नभएको भन्दै खण्डन गरेका थिए। आइतबार उनले २ करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको थियो । तर रास्वपाले उनलाई २४ घण्टे स्पष्टिकरण सोधिसकेको छ। त्यसको जवाफ बुझाइसकेका पनि छन् । संसदमा समेत सोमबार यो विषय छानविन हुनु पर्ने आवाज उठेको छ ।

रास्वपाले तीन दिनभित्रमा छानविन प्रतिवेदन तयार हुने र त्यसपछि कारबाही बारे निर्णय लिने जनाएको छ । अहिले ढाकालाई सांसद र रास्वपाको साधारण सदस्यमा समेत काम नगर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *