कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तुम्वाहाम्फेको निधन

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तेजमान तुम्वाहाम्फेको निधन भएको छ । विसं २०१५ को आम निर्वाचनमा निर्वाचन क्षेत्र नं २६ धनकुटाबाट निर्वाचित तुम्वाहाम्फेको शुक्रबार राति निधन भएको हो।

पार्टीको सातौँ महाधिवेशनपश्चात् जननायक वीपी कोइरालाको सभापतित्वमा रहेको पार्टीको केन्द्रीय कार्यसमितिमा सदस्य तुम्वाहाम्फेले नेपाली कांग्रेसको सङ्गठन निर्माण तथा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी तुम्वाहाम्फेको निधनबाट कांग्रेसले एक अनुभवी अग्रज नेतृत्वलाई गुमाएको बताए।

तुम्वाहाम्फेको निधनप्रति कांग्रेसले चैत २५, २६ र २७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र चैत २६ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गरिने बताएको छ।

स्वर्गारोहणको १३ औँ दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्लामा शोक पुस्तिका राख्नुका साथै १३ औँ दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने मुख्यसचिव पौडेलले बताए।

तुम्वाहाम्फेको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ।

“नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद तुम्वाहाम्फेको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ, उहाँले कांग्रेसको सङ्गठन निर्माण र प्रजातान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदान पार्टीमा सदा स्मरणीय रहनेछ”, सभापति देउवाले भनेका छन्।

सभापति देउवाले स्व तुम्वाहाम्फेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतक आत्माको चिरशान्तिको कामना साथ उनका शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + one =