उपनिर्वाचनमा उपेन्द्र यादव जित निश्चित छ : पूर्ण बस्नेत

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुने बताएका छन् ।
उपनिर्वाचनबारे बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त कुरा बताएका छन् । ’उपेन्द्र यादवले संघीयता र समानुपातिक समावेशीताको मुद्दालाई स्थापित गराए । यिनले मुलुकको परिवर्तनका खातिर जेल जीवन व्यतित गरेका छन् । राजनीतिक मुद्दा खेपेका छन् । यिनी जनताको खातिर आफूलाई समर्पित गरेका एक अथक योद्धा हुन्,’ बस्नेतले भने ।
उनी परिवर्तन, जनताको सुख, समृद्धि र मुलुकको हितका लागि चिन्तन गरिरहने एक राजनीतिक चिन्तक हुन् । मधेस र पहाडलाई भावनात्मक रूपमा जोड्ने काममा उनको महत्त्वपूर्ण योगदान छ, बस्नेतले बताए ।
उनले भने, ‘उपेन्द्र यादवले कहिल्यै गुनासो गर्दैनन् । हारदेखि भाग्ने र जितमा मात्तिने यिनको स्वभाव छैन । यिनको एउटै उद्देश्य छ, उत्पीडित समुदाय र श्रमजीवी वर्गको मुक्ति । नेपालको राजनीतिलाई उपेन्द्र यादव चाहिन्छ । जनताको साथ, सहयोगले उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुन्छन् । ’








