रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश फुयाँलको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइ आज सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा हुने भएको छ । फुयाँलको इजलासमा परेको उक्त मुद्दा ८ नम्बरमा परेको छ ।

यसअघि मंगलबारका लागि सुनुवाइको पेसी तोकिए भएपनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि बुधबार १० बजेका लागि न्यायाधीश सिन्हारहितको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।

नेता लामिछानेविरुद्ध पासपोर्टसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधीवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध युवराज पौडेल (सफल) सर्वोच्च पुगेका थिए । उनले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।

यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो । त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए । प्रहरीले छानबिनपछि लामिछानेले राहदानी लिएको भएपनि त्यसको प्रयोग नगरेको भन्ने मुख्य आधार लिँदै मुद्दा दायर गर्नु नपर्ने राय दिएको थियो । सोही रायलाई महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो ।

अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग रिट निवेदकले गरेका छन् । नागरिकता दुरुपयोगको उजुरीमा लामिछानेलाई गैरकानुनी रूपमा उन्मुक्ति दिइएको दाबी सफलको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =