तनहुँ १ मा खनाल र चितवन २ मा न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले तनहुँ १ को उपनिर्वाचनमा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उठाउने निर्णय गरेको छ ।

शनिवार (आज) पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

तनहुँ १ मा उम्मेदवार बन्न लागेका खनालको नाम शनिवार बिहान जिल्लाबाट आएका नेताहरूले बालकोट पुगेर सहमति जनाएका थिए ।

नेपाल प्रहरीका पूर्व आइजिपी समेत रहेका खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन् । उक्त नगरपालिका तनहुँ क्षेत्र नम्बर १ मै पर्छ ।

उनी मङ्सिर ४ को निर्वाचनमा काठमाडौँ ६ बाट उम्मेदवार बनेर रास्वपाका शिशिर खनालसँग दोस्रो भएका थिए ।

त्यस्तै, चितवन २ बाट नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस भएको थियो ।

न्यौपाने अनेरास्ववियुको राजनीतिमा स्थापित भएका जिल्लाका लोकप्रिय युवा नेता समेत हुन् ।

साथै, बारा २ मा भने आइतबार मात्र टुंगो लाग्ने भएको छ । बारा २ बाट जिल्ला कमिटीले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेल,प्रदेश कमिटी सदस्य राजेश साह र बन्दना सिंहको नाम सिफारिस गरेको छ ।

त्यस्तै, आजको सचिवालय बैठकले भीम रावलसँग संवाद गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा लेखराज भट्ट र कर्ण थापा रहेको टोलीको समेत गठन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 17 =