वर्षेनी घट्छन् गण्डकीमा एसईई दिने विद्यार्थी, यो वर्ष ४ हजार कम

पोखरा । अघिल्लो वर्षसम्म खासै प्रभाव पार्ने गरी नघटेका विद्यार्थी अहिलेको परीक्षामा भने निकै कम भएका छन् । २०७५ सालदेखि ४७ हजार र ४८ हजारको हाराहारीमा वर्षेनी विद्यार्थी एसईई परीक्षामा सहभागी हुन्थे । तर अहिले उक्त दर निकै घटेको देखिन्छ । २०७८ सालको एसईईमा ४७ हजार ३ सय ४५ जना विद्यार्थीले एसईई दिएकोमा अहिले ४३ हजार १ सय ६४ जना मात्रै सहभागी छन् ।
२०७७ मा ४८ हजार ९ सय ७७, २०७६ मा ४७ हजार ५ सय ८० र २०७५ मा ४८ हजार ६३ जना विद्यार्थीले एसईई दिएको तथ्याङ्क छ । पछिल्लो समय नेपालका विद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै गएको छ । एकातिर जन्मदर न्यून हुनु र अर्कोतिर नेपालीहरूको विदेश पलायनका कारण पनि विद्यार्थीको संख्या कम भएको विज्ञहरू बताउँछन् ।
विद्यालय तहमा मात्रै होइन उच्च शिक्षा पढ्ने विद्यार्थी झनै निकै कम छन् । गण्डकीको नीति तथा योजना आयोगको पछिल्लो तथ्याङ्कले गण्डकी प्रदेशमा १५ देखि २४ उमेर समूहका करिब ४० प्रतिशत विद्यार्थी माध्यमिक तहपछि युनिभर्सिटी भर्ना नहुने देखाएको छ । जसमा पुरुषको संख्या बढी छ । अधिकांश विदेश जाने वा विदेशका लागि प्रोसेस गरेर बसेको देखिन्छ ।
यसैबीच, गण्डकीमा यो वर्ष ४३ हजारले मात्रै एसईईमा सहभागिता जनाएका छन् । साधारणतर्फ ४१ हजार ५ सय १६ र प्राविधिकतर्फ १ हजार ३ सय ७६ विद्यार्थीले परीक्षा दिँदै छन् । ग्रेड वृद्धिको परीक्षामा २ सय ७२ जना सहभागी भएका प्रदेश शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिका आचार्यले जानकारी दिए । सबैभन्दा बढी कास्की जिल्लामा १० हजार ४ सय ४२ जना विद्यार्थी सहभागी छन् भने सबैभन्दा कम मनाङमा छन् ।








