सेल्सम्यानसँगै भयो ‘यौटा सपनाको अवसान’

काठमाडौँ । म बाचेको छु । त्यसकारण सपना देख्दछु । होइन, होइन म सपना देख्छु त्यसकारण बाच्दछु । अर्थात् जुन दिन म सपना देख्दिन त्यसदिन म मरेतुल्य हुनेछु । यी सपनाहरू नै हुन् जसले मलाई हरेक दिन बाच्न प्रेरित गर्दछ । हो, ‘यौटा सपनाको अवसान’ हेरेपछि यस्तै महसुस गर्न सकिन्छ ।

अमेरिकी नागरिक आर्थर मिलरले लेखेका ‘डेथ अफ अ सेल्सम्यान’ नाटकलाई नेपालीमा रूपान्तरण गरेर ‘यौटा सपनाको अवसान’ बनाइएको हो । यस नाटकलाई विप्लव प्रतिकले अनुवाद गरेका छन् भने अनुप बरालले परिकल्पना तथा निर्देशन गरेका छन् । गोविन्द पराजुलीले निर्माण गरेका ‘यौटा सपनाको अवसान’ ले बीरेनप्रताप कार्कीको सपनालाई मुख्य विषयवस्तु बनाएको छ ।

अँध्यारोमा मुरलीको धुनसँगै एकोहोरो बनेको बीरेन बिजुलीको पोलमा गाडी ठोक्काएर आत्महत्याको प्रयास गर्छन् । नाटकको सुरुमा आत्महत्याको प्रयासमा रहेका वृद्ध सेल्सम्यान बीरेनलाई मञ्चमा उभ्याइएको छ । उक्त प्रयास असफल भएपछि बीरेन थकित मनस्थिति लिएर घर फर्कन्छन् ।

घरमा उनका पत्नी लीला पर्खेर बसेकी हुन्छे । ६ महिनादेखि सम्पर्कविहीन सनुपप्रताप (जेठा छोरा) र रोजगारका लागि टाढा अपार्टमेन्टमा बस्ने सगुनप्रताप (कान्छा छोरा) दुवै त्यसदिन घर फर्केका हुन्छन् । घर पुग्दा उनका दुवै छोराहरू सुतिसके पनि लीला प्रतीक्षामा हुन्छिन् ।

त्यसपछि सूक्ष्म ढंगबाट कथावस्तुलाई अघि बढाइएको छ । असल हुनु र सफल हुनुबिचको भेद केलाउन नसक्दा बीरेनको मनस्थिति खलबलिएको छ । सन्तानको प्रगति र पत्नीको सुखलाई आफ्नो सपना ठान्ने बीरेन किन आत्महत्याको प्रयासमा छन् ? के बीरेनको सपना पूरा भएन ? आफ्नोनिम्ति सपना देख्ने मान्छे दुखी हुन्छन् या सुखी ? बीरेनको आत्महत्याको प्रयास जारी रहन्छ ? बीरेनलाई बचाउन सफल होला कि नहोला ? यिनै प्रश्नहरूको उत्तर नाटकको बाँकी अंशमा देखाइएको छ । प्रत्येक कुराको अन्त्य निश्चित छ । सपनाको पनि उदयसँगै अवसान होला तर,  अन्त्य छ’ भन्दैमा सपना देख्न छाड्नुहुन्न भन्ने सन्देश नाटकले दिएको छ ।

‘यौटा सपनाको अवसान’ नाटक बौद्धिक नाटक हो । जसमा सेल्स, बिजनेस, करियर जस्ता अङ्ग्रेजी शब्दहरूको प्रयोग भएका छन् । अङ्ग्रेजी बाहेकका भाषाहरू सरल, सुबोध्य र सुगठित नै रहेका छन् । असांगठानिक ढाँचामा लेखिएको नाटकमा विभिन्न अडियो, लाइट, ध्वनि र सङ्गीतको प्रयोग भएका छन् । यी प्रयोगहरूले नाटकमा भावबोधकै काम गरेको छ । नाटकमा कलाकारहरूको पोसाक, मेकअपलाई पनि विशेष ध्यान दिइएको छ । सबैभन्दा राम्रो पक्ष कलाकारहरूको अभिनय र सेट डिजाइन हो । सेट डिजाइनले गर्दा नाटक यथार्थ झैँ लाग्छ । कोठामा राखिएको फोटोफ्रेम र झुमरजस्ता साना कुरालाई पनि निर्माण  पक्षले विशेष ध्यान दिएका छन् ।

नाटकमा  पात्र चयन एकदमै राम्रो छ । विविधपात्र भएको यस नाटकमा लीला, बीरेन, सनुप, सगुन चन्द्रवीर, बादल र अन्य पात्रहरू पनि तरहेका छन् । नाटकमा बीरेनको भूमिका निभाएका रोयले जवान र वृद्ध दुवै बीरेन  बनेर कथावस्तु अगाडि बढाएका छन् ।  त्यस्तै दिया मास्क (लीला), दिव्यदेव र जीवन गौतम (सनुपप्रताप), विकास जोशी र अभिषेक खड्काले (सगुनप्रताप)को भूमिका निभाएका देखिन्छन् ।

दर्शकलाई यिनै पात्रहरूले कहिले खुसी त कहिले दुखी बनाउँछन् । नाटक दुखान्तमा टुङ्गिएपनि एउटा नयाँ सपना बुन्दै पात्रहरू खुसी भएका देखिन्छन् । नाटकको धेरै राम्रा पक्षहरू हुँदा हुँदैपनि सूक्ष्म घटनालाई सूक्ष्म ढंगबाट प्रस्तुत गरिएको हुँदा एकदमै लामो बन्नपुगेको छ । आरोहअवरोह र अत्यधिक द्वन्द्वले नाटकलाई दुर्बल बनाएको देखिन्छ ।

चैत १० गतेदेखि प्रदर्शनमा आएको ‘यौटा सपनाको अवसान’ नाटक मण्डला थिएटरमा प्रदर्शन भइरहेको छ । प्रदर्शन भएसँगै नाटकले अत्यधिक दर्शकको साथ पाइरहेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *