पार्टीले पाउने मन्त्रालयको टुंगो छैन कांग्रेसलाई मन्त्रीको सूची बनाउनै हतार

गुट-उपगुट मिलाएर मन्त्री बनाउने देउवाको चाहना

काठमाडौँ । राष्ट्रपति निर्वाचन सकिएपछि अब ९ दलीय सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्र सरकारमा भागबन्डाको विषयले प्रवेश पाएको छ । त्यसो त झन्डै दर्जन दल पुग्न लागेको गठबन्धनमा कांग्रेसले पाउने मन्त्रालयहरूको भागबण्डा मिलाउनु पनि चानचुने कुरा होइन । दलीय भागबन्डा कहिले मिल्छ टुंगो छैन ।

तर, नेपाली कांग्रेसभित्र मन्त्री बन्ने आकांक्षीहरुको दाबी भित्रभित्रै सुरु भइसकेको देख्न थालिएको छ । मन्त्रालयहरूको दलीय भागबण्डा टुंग्याएपछि पार्टीभित्र मन्त्री बन्ने र बनाइनेको नामबारे छलफल हुन सकेको भए सुल्टो हुन्थ्यो । अनुभव र विद्वताका आधारमा दलका नेताहरूले मन्त्रालय रोज्न वा दलका नेताले मन्त्री बनाउने पात्र छान्न सहज हुने थियो । तर, मन्त्रालय कुन-कुन आफ्नो भागमा पर्छ भन्ने ठेगान नै नभई कांग्रेसभित्र मन्त्रीहरूको दाबीहरू प्रस्तुत हुन थालेका छन् । सूची बनाउने काममा नेतृत्व लाग्न थालिसकेको छ ।

कांग्रेसले आफ्ना नेताहरूलाई कसको नेतृत्वमा सरकारमा पठाउने भन्ने विषयमा सकस महसुस गरिरहेको पाइएको छ । मंसिर ४ को निर्वाचनपछि देशको पहिलो शक्तिको रूपमा उभिएको कांग्रेसमा पार्टीभित्र गुट र उपगुट मौलाएका कारण पनि सरकारमा सहभागीहरूको सूची तयार गर्न कांग्रेसलाई सकस भएको स्पष्ट देखिन्छ ।

कांग्रेसभित्र शीर्ष नेताहरू नै सरकारमा पार्टीको नेतृत्व गरेर जाने इच्छा देखाइरहेको पाइएको छ । कांग्रेस कार्यसम्पादन समितिका एक नेताका अनुसार यो पटक देउवाले शीर्ष नेता तथा नयाँलाई अवसर दिने तयारी गरेका छन् । सबै गुट उपगुटलाई मिलाएर जाने तयारी पनि छ । ती नेताले भने, ‘यसअगाडि उहाँले राष्ट्रपतिमा पुराना र असल नेतालाई अवसर दिनुभयो । अब सरकारमा कांग्रेस सहभागी गराउँदा पनि गुटगत रूपमा मिलाएर लाने तयारीमा हुनुहुन्छ । केही नयाँ र केही शीर्ष नेताले अवसर पाउनुहुने छ ।’

उनका अनुसार यसपटक कुनै आकस्मिक परिवर्तन नभए उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसले आफ्ना नेताहरूलाई सरकारमा पठाउने तयारी गरेको छ । उनी सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् ।

नयाँ मन्त्रीहरूको सूचीमा प्रकाशशरण महत, जीवन परियार, सीता गुरुङ, आरजु देउवा, शशांक कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, बद्री पाण्डे, धनराज गुरुङ, एनपी साउद, डिकमान लिम्बू, राजेन्द्र बजगाईँ, राजन केसीलगायत छन् ।

यी नेताहरूले पाउने मन्त्रालय नटुंगिएको भएपनि उपसभापति खड्का कांग्रेसका तर्फबाट मन्त्रीहरूको नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री लिने सम्भावना छ । उनको नेतृत्वमा देउवाले कांग्रेसलाई सरकारमा पठाउने इच्छा समेत राखेको देउवा निकट एक नेताले बताए । यसबारे खड्काले मकालुखबरसँग भने, ‘हामीले यसबारे कुनै छलफल गरेको छैन । उपराष्ट्रपति निर्वाचनको तयारीमा छौँ । कसको नेतृत्वमा जाने भन्ने विषयमा छलफल भएको नै छैन । पहिला ९ दलीय गठबन्धनको भागबन्डा मिलाऊँ अनि आफ्नो पार्टीमा छलफल गरौँ भन्ने छ ।’

नेता प्रकाशमान सिंहले पनि पार्टीका मन्त्रीहरूको नेतृत्व गर्दै सरकारमा जान इच्छा देखाएका छन् तर, पूर्णबहादुरले सरकारको नेतृत्व गरेर सरकारमा गए सिंह मन्त्रिमण्डलमा सामेल नहुने स्रोतको दाबी छ । सिंह काठमाडौँ १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । सिंहले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा नै जाने इच्छा देखाएका हुन् । यद्यपि देउवाले उनलाई ब्याक राखेर पूर्णबहादुरलाई पठाउने योजना गरेको स्रोत बताउँछ । स्रोतले भन्यो, ‘पूर्णबहादुर सकारमा नेतृत्व गरेर गएभने प्रकाशमान ज्यू जानु हुन्न । उहाँले आफ्ना लाइनका नेता पठाउनुहुन्छ ।’

अर्का नेता डा. शशांक कोइराला पनि उपप्रधानसहित कृषि मन्त्रालय वा परराष्ट्र मन्त्रालय पाए सरकारमा जाने मनस्थितिमा छन् । उनलाई पनि देउवाले एउटा मन्त्रालय दिन सक्ने सम्भावना छ । कोइरालाले नवलपरासी पूर्व १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी निकट स्रोतका अनुसार देउवाले यो पटक उनलाई अवसर दिने योजनामा छन् । स्रोतले भन्यो, ‘शशांक जी कांग्रेस पार्टीको पुरानो विरासत भएको मान्छे हो । सभापति ज्यू र केन्द्रीय कमिटीले उहाँले रोजेका दुई मन्त्रालय मध्ये एक मन्त्रालय दिने तयारी गर्नुभएको छ ।’

यता दुई महामन्त्रीमध्ये एक जना नेता पनि सरकारमा सहभागी हुने तयारीमा छन् । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापामध्ये एक सरकारमा सहभागी हुने छन् । थापाले अर्थ मन्त्रालय लिन खोजेको चर्चा राजनीतिक वृत्तमा भइरहेको भएपनि थापा आफैँले मकालुखबरसँग भने अर्थ मन्त्रालयमा आफ्नो अनुभव र विद्वता नपुग्ने भएकोले आफू त्यसमा नजाने बताएका छन् । थापा काठमाडौँ ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । महामन्त्री विश्वप्रकाश शर्माले भने हालसम्म मन्त्री बन्न दाबी प्रस्तुत नगरकोको कांग्रेस नेताको भनाइ छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तार गर्ने तयारी गरेका छन् । ३ गते उपराष्ट्रपतिको निर्वाचन छ । ५ गते प्रतिनिधि सभाको बैठक छ । सो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने छन् । उनले विश्वासको मत लिएपछि मात्र सरकार विस्तार गर्ने तयारी गरेको प्रचण्ड निकट स्रोत बताउँछ । हाल ९ दलीय गठबन्धन रहेका सबै दल सरकारमा जाने तयारीमा छन् । अहिले सरकारमा माओवादीका ४ मन्त्रीसहित प्रधानमन्त्री मात्र छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसका यी शीर्ष नेताले रोजेको सबै मन्त्रालय खाली छ । तर ९ बिच भागबण्डा गर्न बाँकी छ । त्यसो त राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई भोट हालेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि सत्तापक्षीय दल बन्न खोजेको देखिएको छ । तर, रास्वपालाई सरकारमा ल्याउन भने कांग्रेस र माओवादीले अनिच्छा प्रकट गरिरहेको बुझिएको छ ।

यसले गर्दा ३ राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको बेला रास्वपालाई पनि भाग लगाउनुपर्ने सकसबाट गठबन्धन बच्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *