१४औँ राष्ट्रिय बाल नाटक महोत्सव सुरु, २९ नाटक समावेश (तस्बिरसहित)

काठमाडौँ । १४औँ राष्ट्रिय बाल नाटक महोत्सव सुरु भएको छ। शैली थिएटरको आयोजनामा संस्थागत विद्यालय संघ नेपाल (इसान) को सहकार्यमा भइरहेको महोत्सवको आइतबार रुसी सदन कमलपोखरीमा उद्घाटन भएको छ। विगत १३ वर्षदेखि शैली थिएटरले आयोजना गर्दै आइरहेको नाटकको १२ र १३औँ महोत्सव भने कोरोना महामारीको कारण भर्चुअल रूपमा सम्पन्न गरिएको थियो ।

आइतबारदेखि सुरु भएको १४औँ बालनाटक महोत्सव ९ दिनसम्म सञ्चालन गर्ने तयारी रहेको छ । महोत्सवमा प्रतियोगी र अप्रतियोगी गरी २९ वटा विभिन्न विधाका नाटक समावेश रहेको शैली थिएटरका कार्यकारी संयोजक सविन न्यौपानेले बताए ।

२०६६ सालदेखि शैली थिएटरले आयोजना गर्दै आइरहेको नाटक महोत्सवमा नवराज बुढाथोकीद्वारा निर्देशित नाटक ‘सुनौलो माछा’ बाट नाटकको मञ्चन शुरूवात भएको थियो । त्यसवर्ष महोत्सवमा ६ वटा नाटकहरू समावेश रहेका थिए ।

नाटक महोत्सवमा निर्णायकको भूमिकामा नाट्यकर्मीहरू बाबुराम रेग्मी, किशोर अनुराग र कान्छी महर्जन रहेका छन् । शैली थिएटरले बालबालिकाका बिषयबस्तुलाई केन्द्रमा राखी विगत १३ वर्षदेखि हरेक वर्ष राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आइरहेको छ । १४ औँ राष्ट्रिय बाल नाटक महोत्सवमा समावेश नाटकहरु माघ २९ गतेदेखि फाल्गुन ८ गतेसम्म रूसी सदन कमलपोखरी र रातोपुल स्थित शैली थिएटरमा मञ्चन हुने छन् ।

तस्बिरमा, महोत्सवको दोस्रो दिन मञ्चन भएको नाटक ‘यान्त्रिक युग’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *