बुद्धको फरक परिचय दिँदै नाटक ‘गच्छामि’

काठमाडाैँ । हामीलाई शाक्यमुनि ‘बुद्ध’ थाहा छ । जसले दुःखको कारण र निवारण पत्ता लगाउन राजसी सुख र गृह त्याग गरी भारतका विभिन्न ठाउँमा कष्टदायक तपस्या र खोज गरेका थिए । अन्ततः उनले भारतकै बोधगयामा बुद्धत्व प्राप्त गरी नेपालको कपिलवस्तु फर्किए ।

शाक्यमुनि बुद्ध नै नाटक ‘गच्छामि’को मुल पात्र हुन् । नाटक ‘गच्छामि’ले बुद्धको फरक परिचिय दिएको छ । पुण्य प्रसाईको ‘गौतम बुद्ध नाटक’ र बुद्धसम्बन्धि विभिन्न पुस्तकहरूलाई मूल आधार बनाएर लेखिएको नाटक ‘गच्छामि’मा बुद्धलाई महान संगठक, महान दार्शनिक र महान गुरुकासाथै महान् प्रेमीका रुपमा पनि देखाइएको छ ।

नाटकमा राजा, रानी, राजकुमार, राजकुमारी, सुन्दर युवती र सेवकहरू सहायक पात्र हुन् भने राहुल (बुद्धका छोरा) गौण पात्र हुन् । यिनै पात्रका माध्यमबाट कथावस्तुलाई अगाडि बढाइएको छ ।

लेखकले नाटकमा गौतम बुद्धको तपस्या, अर्ति,उपदेश र ज्ञान प्राप्तिका विषयलाई छायाँमा राखेर बुद्धत्व प्राप्त गर्नका लागि छोरा(राहुल), पत्नि(यशोधरा) र परिवारबाट वियोग हुनुपरेको घटनालाई प्रकाशमा ल्याउने प्रयास गरेका छन् । तिनै घटनाको माध्यमबाट बुद्ध कति महान् प्रेमी थिए भन्नेकुरा पुष्टि गरिएको छ ।
संसारलाई थाहा नभएको कुरा, शाक्यमुनि बुद्धका परिवारले बुद्धलाई ‘बुद्ध’ बनाउन गरेको योगदानको बारेमा नाटकमा चित्रण गरेको छ । साथै उनका आमा(गौतमी), बुबा(शुद्धोदन) र पत्नी (यशोधरा) र राज्यका अन्य महिलाहरूले पनि सन्यासी जीवनवरण गरेको अभिनय प्रस्तुत गरिएको छ ।

नाटक ‘गच्छामि’ले बुद्धका माध्यमबाट राज्यका शासक भएर साधारण जीवन जिउनसके मात्र जनताको सेवा गर्न सकिने, दुःखको मुल कारण मोह र सुख प्राप्तिको आशक्ति हो, तृष्णाको नियन्त्रण नै दुःखको मुक्ति हो, भन्ने जस्ता सन्देश दिएको छ ।

बुद्ध कसरी महान् प्रेमी बने ?, बुद्धलाई बुद्ध बनाउन उनका परिवारले के कसरी सहयोग गरे ?, बुद्धका परिवार र राज्यका महिलाहरू किन बुद्धजस्तै सन्यासी बने ? यी कुरा थाहा पाउन नाटक‘गच्छामि’ नै हेर्नुपर्छ ।

नाटकमा प्रयोग गरिएका पहिरन, गहना र सामग्रीले ईसापूर्व ५६३ तिर(बुद्धको जन्म)को समयलाई देखाएको छ । तात्कालीन राजकीय परिवेशलाई चित्रण गरिएको नाटक ‘गच्छामि’मा लेखकहरूले तात्कालीन भाषामा भने विचार पुर्याइएको देखिँदैन ।

अन्यत्र नाटकमा प्रयोग भएका विभिन्न लाइट र बारम्बार गुञ्जेको ‘बुद्धम शरणम गच्छामि’ जस्ता संगीतले दर्शकालाई मन्त्रमुग्ध बनाउन सफल भएको देखिन्छ ।
‘गच्छामि’ नाटकमा सुनिल पोखरेलको परिकल्पना र निर्देशन रहेको छ भने वीरेन्द्र हमालले सहनिर्देशन गरेका छन् । पुस २३ गतेसम्म मञ्चन गरिने भनिएको ‘गच्छामि’ अहिले कुञ्ज नाटकघरमा मञ्चन भइरहेको छ ।

तस्बिरहरू : सराेज बस्नेत 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *