सुशील कोइरालाले पाएका थिए त्यो बेला एमालेको समर्थन

काठमाडौँ । यतिबेला सरकार गठनको लागि दलहरुमा रस्साकस्सी चलिरहेको छ । निर्वाचन परिणाम आएको पनि एक साता बित्यो, तर अहिलेसम्म सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन । जनताले मिश्रित निर्वाचन परिणाम दिएका छन् । कुनै एउटा दलको बहुमत छैन । दुई वा दुई भन्दा बढी दलहरु मिलेर नै सरकार गठन गर्नुपर्ने देखिएको छ ।

निर्वाचनको परिणाम आएसँगै दलहरु सरकार गठनको विषयलाई शीरमा राखेर कुराकानी अगाडि बढाइरहेका छन्, तर आगामी सरकारको तस्बिर आइसकेको छैन, दलहरु कताबाट तस्बिर कोर्न लाग्ने हुन् त्यो पनि अहिले भन्न सकिने अवस्था छैन । एकभन्दा बढी दलहरुको सहभागितामा संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठन गर्नुपर्ने स्पष्ट छ ।
वर्तमान गठबन्धनको सरकार बनाउन बहुमत पुग्ने देखिएको छैन । यस्तो अवस्थामा गठबन्धनले अर्को सिके राउतको नेतृत्वको जनमत पार्टीलाई अगाडि सारेर सरकार गठन गर्ने दाउमा लागेको छ । एमाले प्रतिपक्षमा बस्ने बताइरहेको छ । धेरै दलहरु मिलेर सरकार गठन गर्दा स्थिर सरकार नहुने विषयमा पनि पछिल्लो समय चर्चा चलिरहेको छ ।

गठबन्धनभित्र पावर सेयरिङलाई लिएर कुराकानी भइरहेको स्रोतको भनाइ छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनको सरकारको प्रधानमन्त्री बन्न कोशिस गरिरहेका छन्् । कांग्रेसभित्र समानुपातिक गरेर जम्मा ३२ सिट जितेको माओवादीलाई प्रधानमन्त्री दिन नहुने चर्चा चलिरहेको छ ।

सत्ता गठबन्धन (कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा) सरकार गठन गर्न लागिरहँदा पावर सेयरिङमा कुरा नमिल्ने संकेत देखिन थालेको छ ।

गठबन्धनको प्रमुख घटक कांग्रेसले प्रधानमन्त्री आफूले राखेर राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, उपसभामुखलगायतमा पावर सेयरिङ गर्न खोजेको छ, तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ताकेका छन्, जसका कारण गठबन्धनभित्र पनि सरकार गठनको विषयलाई लिएर थप दरार पैदा हुन सक्ने देखिएको छ । यता, कांग्रेसभित्र सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शंशाक कोइराला, गगन थापा, प्रकाशमान सिंहलगायत प्रधानमन्त्री बन्न लाइनमा छन् ।
केही कांग्रेसका नेताहरुले ससाना दललाई मिलाएर अस्थिर सरकार बनाउनुभन्दा एमालेसँग मिलेर स्थिर सरकार दिन दबाब बढाएका छन् । नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘कांग्रेसले ६ दललाई मिलाएर अस्थिर सरकार बनाउनुको साटो एमालेसँग मिलेर स्थिर सरकार बनाउन खोजे हुन्छ, त्यसो गर्दा देशले निकास पाउँछ, अन्यथा अस्थिर सरकारले प्रधानमन्त्री थप्नेमात्र काम हुन्छ ।

कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपर्ने बताए । उनले भने, ‘साना दललाई मिलाएर अस्थिर सरकार बनाउनुभन्दा ठूला दुई शक्ति मिलेर स्थिर सरकार बनाउनुपर्छ, यसको लागि म आफैँ पहल गर्छु ।’ गच्छदारले कसैको पनि बहुमत नआएपछि अस्थिरताको चिन्ता बढेको हुनाले एमाले र कांग्रेस मिल्नुपर्ने बताए ।

नेता गच्छदारको यो भनाइप्रति कांग्रेसका केही नेताहरु सकारात्मक बनेका छन् । कांग्रेसका
एक केन्द्रीय नेताले भने, ‘कांग्रेस र एमाले मिलेर सरकार बनेको इतिहास छ, अब त्यो इतिहासलाई फेरि आवश्यक परेको खण्डमा फर्काउनुपर्छ ।’

विगतमा एमालेले तत्कालीन कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बन्न समर्थन गरेको थियो । ०७०–०७२ सम्म कांग्रेस–एमाले मिलेर नै सरकार बनाएका थिए । जतिबेला प्रधानमन्त्री माधवकुमार नेपाल थिए । त्यो बेला नेकपा माओवादी केन्द्र प्रतिपक्षमा बसेको थियो । ती नेताले भने, ‘माओवादी, नेकपा एस र अन्य पार्टीसँग मिलेर सरकार बनाउँदा कांग्रेसले आफ्नो धेरै भाग गुमाउनुपर्छ, पहिलो पार्टी बनेर पनि प्रधानमन्त्री पाउन पनि हम्मे पर्ने देखिएको छ, यस्तो अवस्थामा दुई ठ्ूला दल मिलेर सरकार बनाए हुँदैन ? यसो गर्दा कांग्रेसले धेरै भाग गुमानुपर्दैन ।’

माओवादीका युवा नेताहरु पार्टीलाई सत्ता प्रमुख ९प्रधानमन्त्री० पाउने गरी सरकारमा जान सुझाव दिएका छन्, अन्यथा प्रतिपक्षमा बस्न दबाब बढाइरहेका छन् । यसकारणले पनि प्रधानमन्त्रीको लागि माओवादीका अध्यक्ष प्रचण्डले दबाब बढाएका छन् ।

एमाले सरकारको दौडमा नरहेको बताइरहेको छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे एमाले प्रतिपक्षमा बस्ने बताए । उनले देशमा राजनीतिक अस्थिरता, आर्थिक अवस्था कमजोर बनेको खण्डमा समाल्न सरकारमा जाने बताए । उनले भने, ‘विगतमा एमाले र कांग्रेस धेरै पटक सरकारमा गएका छौँ, यो अवस्था नआउला भन्न सकिदैन, तर तत्काल सम्भव छैन ।’ उनले नेकपा एमालेको समर्थनमा तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भएको बताए । उनले भने, ‘त्यो बेला सुशील कोइरालालाई प्रधानमन्त्री एमालेले बनाएको हो नि, एमाले र कांग्रेस मिलेर नै संविधान निर्माण भएको हो, मिलेको इतिहास छ, भोलिका दिनमा देशलाई समस्या आएको खण्डमा कांग्रेस र एमाले मिलेर जान सकिन्छ ।’ उनका अनुसार सरकार नै बन्न सकेन भने एमाले अघि बढ्छ, तर अहिले एमालेको सोच भने प्रतिपक्षमा नै बस्ने रहेको छ ।

एमालेका नेता शेरधन राईले मकालु खबरको कुराकानीमा कांग्रेस–एमाले मिलेर पनि सरकार बनाउन सकिने बताएका थिए । देशलाई राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धि हासिलको लागि स्थिर सरकार बनाउनुपर्ने र त्यसको लागि एमाले र कांग्रेस मिल्नुपर्ने अवस्था आयो भने पनि मिलेर जानुपर्ने उनको भनाइ थियो । कांग्रेस र एमाले मिलेको खण्डमा १६७ सांसद पुग्छ । सरकार गठनका लागि १३८ सांसद आवश्यक पर्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *