जबरासँगको बयानमा एमाले नरम, गठबन्धन गरम !

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बयान जारी छ । बुधबार साढे चार घण्टा भएको बयानका क्रममा सांसदहरू कोही नरम त कोही गरम रूपमा प्रस्तुत भए ।

विशेषगरी सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले कडाकडा प्रश्नहरू सोधेका थिए । जबराले त्यसमा जमेरै सवाल जवाफ गरे । सत्तारुढ गठबन्धनमा रहेका सांसदको सवाल जवाफमा जबराले प्रश्नमाथि प्रतिप्रश्न गरे । उल्टै उनीहरूलाई गलाउने प्रयास गरे । तर, यस्तोमा एमालेका सांसदहरूले जबरालाई सहज हुने गरी नरम प्रश्नहरू गरे । नेकपा एकीकृत समाजवादीको पार्टीको वैधानिकतासँग जोडिएको तत्कालीन अवस्थामा एमालेले कारबाही गरेका १४ जना सांसदको मुद्दाको विषय उठाए । महाअभियोग  समयमै अगाडि नबढेको र अधिवेशन सकिएर नयाँ अधिवेशनमा ल्याइएकाले अवैधानिक रहेको जबराको जिकिरमा लोली मिलाए ।

एमालेका विष्णु पौडेलले १४ जना सांसदको कारबाहीको प्रश्न उठाएका थिए । पार्टी अनुशासन हुने तर, पार्टी अनुशासन उलङ्घन गर्ने विरुद्ध कारबाही गर्दा सदर नभएपछि न्याय माग्न गइएकोमा ढिलाइ भएको भनी राखे । पौडेलको भनाइ नकाटेरै जबराले पनि आफूलाई महाअभियोग लगाइएको कारण त्यही भएको बताए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले डराएर आफूमाथि महाभियोग दर्ता गराएको जबराको जिकिर छ । भन्छन्, ‘फागुन १ गते माधव नेपालको मुद्दा (१४ जना सांसदको मुद्दा) थियो । गठबन्धनलाई सिध्याउन खोज्ने, छाती पिटेर यी हामीले महाभियोग ल्याएको हो भन्नुभयो । यी हामीले सिध्यायौं भन्नुभएको हो । यसरी अगाडि बढाउँदै लैजाँदा त भइहाल्छ नि । यो भन्दा बढ्ता दुःखद के छ र ?’

अझ गम्भीर रूपमा आफूमाथि लागेका आरोपहरूको खण्डन गर्नै आफूमाथि प्रश्न उठाउनेहरूमाथि प्रतिप्रश्न गरिरहँदा जबराले एमाले अध्यक्ष केपी ओलीको भने प्रशंसा गरे ।

जबराले बयानमा भनेका छन्, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अति शालीन, अति दूरगामी नेता हुनुहुँदो रहेछ । उहाँलाई सबै सूचना थाहा रहेछ । यस्तो बदमासी गर्ने न्यायाधीशहरूलाई पनि उहाँले महाभियोग लिएर आउनु भएन ।’ अर्थात्, एमालेले भन्दै आएको प्रतिनिधिसभा पुनस्थापना गर्ने संवैधानिक इजलासमा रहेका सबै न्यायधीशलाई आफूसँगै मुछ्ने प्रयास जबराले गरेका छन् ।

सांसद यशोदा सुवेदीले ‘न्यायाधीशहरुलाई समेत मिलाएर काम गर्न नसक्नु कार्यक्षमताको प्रश्न भएको र कार्यक्षमता नभएपछि महाअभियोग लगाउने आधार तयार भएको’ भनी प्रश्न गरेकी थिइन् । जबराको जवाफ दिए, ‘२८ गते (प्रतिनिधिसभा पुनर्स्थापना भएको दिन) अगाडि मैले के गरेँ ? २८ गते पछि मैले के गरेँ ? र म माथि प्रस्ताव (महाअभियोग) आयो ?’ जबराले भने, ‘गलत भए पाँचै जना गलत हुन्छ । नेतृत्व सबै कुरा हैन, दण्डित भए सबै दण्डित हुनुपर्दैन ?’

आफूमाथि प्रश्न उठाएर सर्वोच्च अदालतभित्रै आन्दोलन गर्ने नेपाल बारका पूर्व अधिकारीहरू, सर्वोच्च बारका पूर्व अधिकारीहरू र पूर्व न्यायाधीशहरूमाथि समेत उनले गम्भीर आरोपहरू लगाए । आन्दोलन गर्नेहरूले आफूसँग विभिन्न पदमा बार्गेनिङ गरेको उनको दाबी छ ।

महाअभियोग सिफारिस समितिको अभिलेख अनुसार जबराले भनेका छन्, ‘तत्कालीन बारका अध्यक्ष र महासचिवले न्यायाधीश माग गर्नुभएको थियो । अर्का पूर्णमान शाक्यको पनि स्वार्थ स्पष्ट थियो । यो विषय बोल्दा पनि नहुने, नबोल्दा पनि नहुने आरोपित भएर बस्नुपर्ने ।’ जबराले महाअभियोग प्रस्तावलाई प्रतिनिधि सभा पुनस्थापना र नयाँ सरकार गठनसँग समेत जोड्ने प्रयास गरेका जबराले एमालेले भन्दै आए झैँ कारबाही ? भए प्रतिनिधिसभा पुनस्थापना गर्ने पाँचै जनालाई कारबाही गर्नुपर्ने जिकिर गरे । निलम्बित प्रधानन्यायाधीश जबराले यसैमा थपेका छन्, ‘बेन्चको कुरा आयो । हरिकृष्ण कार्की हरेक मुद्दा हेर्न पन्छिनु हुन्छ (हुन्थ्यो) । ओलीजीको एजी (महान्यायाधिवक्ता) भएको भन्नुहुन्छ (हुन्थ्यो) । तर, आफूलाई स्वार्थ परेको मुद्दा हेर्नुहुन्छ (हुन्थ्यो)’ ।

समितिमा रहेका लालबाबु पण्डितले पनि जबरालाई सहज हुने गरी प्रश्न गरे । महाअभियोग अधिवेशन सकिएपछि सकिन्छ हैन र ? यसको कानुनी व्याख्या के हो ?  जबरालाई पण्डितको प्रश्न थियो । जबराले जवाफ दिए, त्यो हो, ‘यो प्रस्ताव (महाअभियोग) निष्क्रिय भैसकेको म बुझ्दछु । संसदीय समितिको सम्मानका लागि यहाँ हाजिर भएको हुँ ।’

एमालेका सांसद विष्णु पौडेलले जबरालाई प्रश्न गरे, ‘यदि यहाँ यही निष्कर्षमा हुनुहुन्छ भने हामीले अब कुन बाटो जाँदा उपयुक्त हुन्छ ?’ जबराले जवाफ दिए, ‘मेरो पर्मरमेन्सको हिसाबले निर्णय गर्न उहाँहरू स्वतन्त्र हुनुहुन्छ । मेरो हिसाबले यो प्रस्ताव जुन अधिवेशनमा आएको हो सोही अधिवेशनमा अगाडि नबढेका कारण स्वतः निष्क्रिय भइसक्यो, स्वतः खारेज भइसक्यो ।’

एमाले नरम भइरहँदा सत्तारुढ गठबन्धनमा रहेका दलहरू खासगरी नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका सांसदहरूले गरम प्रश्नहरू गरेका थिए । बुधबार सबै राजनीतिक दलका संसदीय दलको कार्यालयमा जबरालाई सोधिने प्रश्नहरूबारे समीक्षात्मक छलफल चलेको थियो । सोही छलफलका आधारमा जबरासँगको बयानमा सांसदहरू प्रस्तुत भएका थिए । जबरासँगको बयान बिहीबार पनि निरन्तर चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *