संघ सरकारले कानुन निर्माणमा ढिलाइ गर्दा प्रदेशमा समस्या आयो : मन्त्री लेखी

काठमाडौँ । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संघ सरकारले कानुन निर्माणमा ढिलाइ गरिरहेकाले प्रदेशमा कानुन कार्यान्वयनमा समस्या देखिएको बताएका छन् ।

कानुन दिवसको अवसरमा गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले संघ सरकारले कानुन निर्माणमा तदारुकता नदेखाए प्रदेशहरूमा कानुन कार्यान्वयनमा समस्या रही रहने बताएका हुन् । उनले संघ सरकारलाई कानुन निर्माणमा ढिलाइ नगर्न आग्रह समेत गरे ।

मधेस सरकारले कम समयमै आवश्यक कानुन निर्माणको दिशामा धेरै काम गरेको दाबी गर्दै मन्त्री लेखीले सो को कार्यान्वयनमा जटिलता देखिएकोप्रति चिन्ता व्यक्त गरे । यो समस्या समाधान गर्नका लागि गृह, सञ्चार तथा कानुन मन्त्रालयले विभिन्न क्षेत्रका सम्बन्धित व्यक्तिसँग छलफल तथा संवादलाई अगाडी बढाएको जानकारी दिए । उनले संविधानको पालन तथा ऐन कानुनको पालना तीन तहका सरकार प्रमुख, राज्यका हरेका निकायमा प्रतिनिधित्व गर्नेहरूले गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा गृह,सञ्चार तथा राज्य मन्त्री शारदा थापाले जनताले हामी प्रदेश सभा सदस्यहरूको भूमिकाका विषयमा स्पष्ट नरहेको बताए । उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेलले मधेसमा कानुनहरू निर्माण भएपनि जनताहरूका बीचमा सो को जानकारी नहुनु चिन्ताको विषय रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *