एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद गरिएको छैन – कांग्रेस

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद नभएको बताएका छन् ।

काँग्रेस र एमाले दुई ठूलो पार्टी मिलेर सरकार बनाउनुपर्छ भन्ने आम धारणा बन्न गएको दाबी गर्दै उनले सो सम्बन्धमा ठोस संवाद भने भई नसकेको प्रस्ट्याएका हुन् ।

बुधवार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा प्रमुख सचेतक लेखकले काँग्रेसले तत्काल सत्ता समीकरण भत्काउन खोज्यो भन्ने भनाई पनि सत्य नभएको जिकिर गरे । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत दिगो विकास, सुशासन, विकास र समृद्धि संविधानमा उल्लेख गरिएकाले त्यसका लागि पनि ठूलो दलहरूबिच सहकार्य हुनुपर्ने उल्लेख गर्दै उनले त्यसलाई सरकारमा जाने विषयमा रुपमा चित्रण गर्न नहुने बताए ।

प्रमुख सचेतक लेखकले भने ‘पहिलो कुरा त हामीले नयाँ समीकरण बनाउन खोज्यौ भन्ने कुरा र अहिलेको समीकरणलाई भत्काउनका लागि हामी हतार गरिराखेका छौं भन्ने कुरा होइन । राजनीतिमा वार्ता, संवाद, छलफल निरन्तर भइरहन्छ । र नेपाली काँग्रेस देशकै सबैभन्दा ठूलो पार्टी भएको नाताले संघीय संसदमा मात्रै होइन, ७ वटै प्रदेशमा ठूलो पार्टी भएको नाताले हामीले अरु पार्टीहरूसँग निरन्तर संवाद गर्ने, छलफल गर्ने कुरा त स्वाभाविक हो नि । तर हामी आजै त यो समीकरण भत्काउने, भोलि नै समीकरण भत्काउने भनेर हतारिएको होइन । र, त्यस्तो छैन । त्यसमा म एउटा कुरा प्रष्ट गर्न चाहन्छु ।

अर्को कुरा एमालेसँग मिलेर सरकार बन्छ कि भन्ने जहाँसम्म कुरा छ । यसका बारेमा कुनै ठोस संवाद भएको छैन । एमालेसँग बसेर कुनै औपचारिक, अनौपचारिक रूपले ल अब सरकार बनाऔँ, यसरी बनाऔँ, यो गरौं भन्ने कुनै कुरा भएको छैन । तर यहाँहरू जस्तै मैले पनि के देखिराखेको छु भने एउटा आम धारणा देखिन्छ । एउटा आम धारणा के देखिन्छ भने यो समीकरणहरू बन्ने, फेरि भत्किने, फेरि बन्ने, फेरि भत्किने अस्थायी खालका हुन थाले । साना दलहरूलाई समेट्नु पर्ने, दलहरुका बीचमा कुरा नमिल्ने, यसले अस्थिरता ल्याएको हुनाले कमसेकम ठूल्ठूला दल मिलेर बनाउने हो कि रु भन्ने एउटा आम धारणा बुझ्छु म । त्यो आम नागरिकमा जुन धारणा छ ।

त्यो काँग्रेस भित्र पनि छ । त्यो एमाले भित्र पनि छ । त्यसकारण त्यसले अव सरकार नै बन्न लागेको हो कि भन्ने रुपमा कहिलेकाहीँ अभिव्यक्त हुने, प्रकट हुने हुन्छ । तर त्यसरी सरकार नै बनाइहाल्ने तहसम्मको वार्ता, संवाद भएको छैन । तर मेरो एउटा कुरा के छ भने मैले केही दिन अघि पनि बोलेको थिएँ–कमसेकम हामी ठूला राजनीतिक दलहरू मुलुकका आधारभूत विषयहरूमा हाम्रा बीचमा निरन्तर संवाद, छलफल, सहकार्य, सहमति हुनुपर्छ भन्ने मलाई लाग्छ । किनभने हामीले मुलुकमा शान्ति ल्याउँदा, शान्ति प्रक्रिया अगाडि बढाउँदा पनि हाम्रो बीचमा सहमतिले सम्भव भएको हो । संविधान, अन्तिम संविधान पनि सहमतिले सम्भव भएको हो ।

अहिलेको जारी संविधान पनि सहमतिले सम्भव भएको हो । अहिले पनि मुलुकमा केही यस्ता कुरा छन । जस्तो उदाहरणका लागि भनौँ न । अब संविधान जारी भएको ८ वर्ष भईसक्यो नि । संविधान आफैले पनि केही विषयहरूमा रिभ्यु गर है भनेको छ । जस्तो आयोगहरू छन नि । यसको बारेमा संविधान आफैँले के भन्यो भने अहिले यो आयोग बनेका छन् । १० वर्ष पछि यसको बारेमा फेरि पुनरावलोकन गर्ने भन्ने खालको छ । १० वर्षमा त संविधान आफैँ पनि हेर है, समीक्षा गर है भनिराखेको हुनाले ८ वर्ष संविधान जारी भएको भईसक्यो । संविधानको अभ्यास गर्दाखेरि कतिपय राम्रा कुराहरू भएका छन् ।

कति त जटिलता पनि देखिएका छन । केही चुनौती पनि देखिएका छन । यसको समीक्षा गरेर ती, जटिलता, चुनौतीहरूको पहिचान गर्ने हो कि त । त्यो कसले गर्ने त रु त्यो त कमसेकम यो संविधान निर्माणकर्ता, यो संविधानलाई रक्षा गर्छौं भनेका, संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई सुदृढ गर्छौं भनेका दलहरूले संवाद गरेर गर्ने त होला नि । जस्तो अन्तर्राष्ट्रिय सम्बन्धका विषय भए । सुशासनका विषय भए ।

आर्थिक समृद्धिसँग जोडिएका ठूला आयोजनहरू भए । भौतिक पूर्वाधार, विकासकाका सवालहरू भए । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत दिगो विकास, सुशासन, विकास र समृद्धि । यी चार वटा त हाम्रा संविधानका फण्डामेन्टल कुरा हुन् नि । यति कुरा गर भनेको तोकेको छ नि । यस्ता कुरामा निरन्तर संवाद गर्दा बिग्रँदैन भन्छु म । यो सरकार बनाउनका लागि होइन । त्यसकारण सरकार बनाउने कुनै ठोस कुरा भएको छैन ।’

प्रमुख सचेतक लेखकले संविधानमा देखिएको जटिलता र चुनौतीको सामना गर्न पनि ठूला दलहरूबिच संवादको आवश्यकता रहेको औँल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *