युवाहरुले नबुझिकनै अब हामी देश चलाउँछौं भन्छन् : केपी ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ वर्षमै मन्त्री बन्न कानुनले पनि नदिने बताएका छन्।काठमाडौँमा आयोजित युवा, महिला र राजनीतिु विषयक अन्तरक्रियामा उनले राजनीतिमा पनि परिपक्वता चाहिने भएकाले नै त्यस्तो कानुन बनाएको बताए।

‘१८ वर्षमै मन्त्री त हुँदैन नि। २० वर्षमा मन्त्री भैहाल्दैन। कानुनले पनि पाइँदैन। वडा सदस्य हुन पनि २१ वर्ष उमेर पुग्नुपर्छ। यो यतिकै बनाएको होइन। अलिकति परिपक्वता चाहिन्छ भनेर बनाएको हो,’ उनले भने ।

पछिल्लो समय राजनीतिमा युवाहरुले स्थान नपाएको गुनासोलाई सम्बोधन गर्दै उनले थपे, युवाहरुले बुढा प्रोफेसरका पछि कति लाग्ने युवा नै प्रोफेसर हुनुपर्छ, मै प्रोफेसर हुन्छु, छोड भनेर हुँदैन। विद्यार्थी आफैँ प्रोफेसर बनेर हुँदैन। त्यसका लागि समय लाग्छ, उनले भने।

उनले एक दिन युवा पनि प्रोफेसर बन्नसक्ने र त्यसका लागि अथक मेहनतको आवश्यकता पर्ने बताए। काम गर्न अल्छी, पर्खिन धैर्यताको कमी, योगदानभन्दा बढी उपलब्धि र हैसियत खोज्ने, इमानबिनाको राजनीति गर्ने, पूरा नभएपछि असन्तुष्ट हुने, असम्भव र अनुचित आकांक्षा राख्ने, अनि प्राप्त नभएपछि उफ्रिने, उनले भने।

धेरै युवाहरुले नबुझिकनै अब हामी चलाउँछौं देश भन्ने गरेको उनको भनाइ थियो। उनले घरबाट बाहिर निस्केर म्याराथनमा दौडिन्छौं भन्दैमा स्वर्ण पदक नजितिने बताए। घरबाट कहिल्यै ननिस्किएको मान्छेले गफ दिएछ, यसपालाको विश्व म्याराथनमा स्वर्ण पदक मै जित्छु। त्यस्ता मान्छेहरु एक किलोमिटरमै स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्छ, उनले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *