सुर्खेतमै बिउ उत्पादन : आत्मनिर्भर बन्दै कृषक

२२ प्रजातिका तरकारी र ६ प्रजातिका खाद्यान्न बालीको बिउ उत्पादन

सुर्खेत । जिल्लाका पूर्विपालिका स्थानीय तहका किसानहरूले बिउ उत्पादनमा आत्मनिर्भर बन्न थालेका छन् । गुर्भाकोट नगरपालिकाका १४ नम्बर वडा, भेरीगंगा नगरपालिकाको २ नम्बर वडा र सिम्ता गाउँपालिकाको १ नम्बर वडाका करिव एक हजार ६ सय ४५ जना  हरु बिउ उत्पादनमा आत्मनिर्भर बनेका हुन् ।

किसानहरूले बिउ उत्पादन गर्ने थालेपछि सुर्खेतमै बिउ उत्पादन हुन थालेको हो । बिउ उत्पादन हुनुपूर्व यहाँका स्थानीयहरू बिउका लागि बाहिर जानुपर्ने बाध्यता थियो । किसानहरू भेरीगंगाको छिन्चु र वीरेन्द्रनगरमा बिउका लागि जाने गर्दथ्ये । तर, हाल किसानहरूले आफ्नै बारीमा विभिन्न प्रजातिका बिउहरू उत्पादन गर्नथालेका छन् ।

गुर्भाकोट नगरपालिका–७ का लिलबहादुर थापाले निर्वाहमुखी कृषि गर्दै आएका छन् । थापाले आफ्नै घरमा खाद्यान्न बाली धान र मकैको बिउमा आत्मनिर्भर बनेका छन् । उनले आठ हेक्टर जमिनमा मकै, धान, गहँ, बदाम आदिको बिउ उत्पादन गर्दै आएका छन् । बिउबाटै वार्षिक दुईदेखि तीन लाखसम्म आम्दानी उनले गरिरहेका छन् । बिउ उत्पादनमा नौं सय बढी महिलाको सहभागिता रहेको छ ।

यस्तै, गुर्भाकोट नगरपालिका–७ का खड्कबहादुर खत्रीले पनि धानको बिउ उत्पादन गर्दै आएका छन् । परम्परागत खेतीबाट परिवारलाई खान पुग्ने धान पनि र्धौँ–धौँ उत्पादन गर्ने थापा हाल धानको बिउ बेचेरै वार्षिक लाखौ आम्दानीसमेत गरिरहेका छन् । उनले १० कठ्ठा जमिनमा हिउँदे र बर्खे गरी दुई सिजन भिण्डी र धान (सुख्खा चार) को बिउ उत्पादन गर्दै आएका छन् । ६ जना परिवार रहेको खत्रीको मुख्य आम्दानीको स्रोत अहिले बिउ उत्पादन बनेको छ । उनले वार्षिक रोग किरा र प्राकृतिक प्रकोपले असर नगरेको खण्डमा दुइदेखि तीन लाखसम्म आम्दानी गरिरहेका छन् ।

सुर्खेतका साविक मैनतडा, मेहेलकुना, साहरे, दहचौर र घुमखहरे गाविसहरूमा २०५२ सालमा वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवम् विकास केन्द्र (सिप्रेड)ले विभिन्न कृषक समूह गठन गरी तरकारी तथा तरकारी बिउ उत्पादन कार्यक्रम सञ्चालनमा ल्याएको थियो । सिप्रेडले सञ्चालन गरेको कृषि कार्यक्रमको प्रेरणा तथा कार्यक्रमले ल्याएको परिवर्तनलाई स्थानीयस्तरमा संस्थागत गर्ने हेतुले संस्थाकै प्राविधिक सहयोगमा २०५८ मंसिर १५ गते डिभिजन सहकारी कार्यालय बाँकेमा विधिवत दर्ता भएर पवित्र जनकल्याण कृषक सहकारी संस्था स्थापना भएको थियो ।

संस्थाको मुख्य उद्देश्य भनेकै बिउ उत्पादन र कृषि पेशालाई व्यवसायिकरण गर्दै कृषकहरुको आर्थिक स्थिति सवल बनाउने रहेको छ । आजभन्दा करिव १० वर्षअघि स्थानीय स्तरमै बिउ उत्पादन गर्ने गरेको सहकारीले हाल आएर पवित्र बिउ उद्योग स्थापना गरी देशका करिव ३९ जिल्लामा विभिन्न १० प्रजातिका हिउँदे, १२ प्रजातिका वर्षे तरकारी र ६ प्रजातिका खाद्यान्न बालीको बिउ उत्पादन गरी निर्यात गरिरहेको छ ।

स्थानीय स्तरबाट सुरु भएको संस्थाको बिउ उत्पादनको यात्रा अहिले देशव्यापी बनेको छ । संस्थाले गत आर्थिक वर्षमा वार्षिक करिव तीन करोडभन्दा बढि आम्दानीसमेत गरेको छ । सहकारीबाट उत्पादित बिउ सबैभन्दा बढी झापा जिल्लामा निर्यात भइरहेको छ । किसानदेखि किसानसम्म भन्ने नीति लिएको संस्थाले विभिन्न ३८ वटा कृषक समूह बनाएर बिउ उत्पादन र बजारीकरण गर्दै आएको छ । संस्थाले कृषकलाई घाँस काट्ने मेसिन, हाते ट्याक्टर, स्प्रे मेसिन तथा प्लाष्टिक टनेल, जैविक विषादी आदिमा सहयोग प्रदान गरेको छ ।

संस्थाले कृषक समूहमार्फत नौं सय महिला कृषकलाई एक सिजनमा ४५ हजारदेखि ७० हजारसम्म आम्दानी दिन सफल भएको छ । एक सय तीनजना कृषकहरुले वार्षिक ७५ हजारदेखि एक लाख ४० हजारसम्मको बिउ उत्पादनबाट आम्दानी गरी स्वरोजगारमा जोडिएका छन् । संस्थाले गत आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न जातका तरकारी तथा खाद्यबालीका बिउ बेचेर तीन करोड ६८ लाख ५१ हजार एक सय ५० रुपैयाँ बराबरको कारोवार गरेको छ ।

अघिल्ला दुई आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा क्रमश एक करोड १८ लाख र दुई करोड ३६ लाख बराबरको कारोवार गरेको छ । कर्णाली प्रदेशको एकमात्र बिउ उद्योग सञ्चालन गरेको सहकारीले महिलालाई क्षमता अभिवृद्धिसहित रोजगारी दिएको छ । पूर्णरुपमा महिलाहरुबाट सञ्चालित संस्थामा हाल करिव १५ जनाभन्दा बढी महिलाहरुले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *