नेपालमा किन बढ्दैछ सामूहिक आत्महत्या ?

घटना १

झापामा तीन जना किशोरी एउटै रूखमा झुन्डिएर सामूहिक आत्महत्या गरे । झापाको कचनकवल गाउँपालिका ५, पाठामारीका तीन किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार उनीहरूले सामूहिकरूपमा रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् । प्रहरीले अनुसन्धान जारी रहेकाले अहिले नै घटनाको निष्कर्ष भन्न सकिने अवस्था छैन, तर घटना सामूहिक रूपमा आत्महत्या नै हो भन्ने निष्कर्षमा प्रहरी पुगिसकेको छ । प्रहरीका अनुसार दुईजना किशोरी एउटै हाँगो र एकजना अर्को हाँगोमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । झुन्डिएको अवस्थामा भेटिएकाहरूमा कचनकवल ५ निवासी पञ्चम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीय छोरी कल्पना छन् ।

अभिभावकका अनुसार गाउँकै चिया बगानमा काम गर्ने ती किशोरीहरू शनिवार घरबाट घुम्न भनेर हिँडेका थिए । शनिवार चिया बगान पनि बिदा हुने भएकाले घुम्न निस्किएका उनीहरू बेलुकासम्म नफर्किएपछि खोजी थालिएको थियो । शनिवार राति अबेरसम्म नआएपछि अभिभावकहरूले खोजी गरेका रहेछन् । आइतवार बिहान साढे सात बजेतिर सुनकोसी चिया बगानस्थित बयरको रूखमा उनीहरू झुन्डिएको भेटिए ।

घटना २

तीन वर्षअघि चन्द्रागिरि नगरपालिका–४, थानकोटका विनय लामिछाने धादिङ आदमघाट बजारस्थित ससुराली हिँडे । ३५ वर्षीय विनयका साथमा थिए, पत्नी जमुना रेग्मी लामिछाने, दुई वर्षे र ६ महिने छोरा । कान्छो छोराको पास्नी थियो ।

विनय ससुराली कटेर बेनीघाट पुगेर मात्र ओर्लिए । र, सबै एकसाथ त्रिशूली नदीमा हेलिए । विनयको त प्रहरीले उद्धार गर्‍यो तर पत्नीको ज्यान गयो, दुवै सन्तान बेपत्ता भए । प्रहरीको प्रारम्भिक अनुसन्धानले मिटर ब्याजको ऋण तिर्न नसकेपछि उनीहरूले आत्महत्याको बाटो रोजेको देखियो । थानकोटस्थित घरमा प्रहरीले फेला पारेको ‘सुसाइड नोट’ मा धेरैलाई पैसा तिर्न बाँकी उल्लेख थियो ।

घटना ३

चार वर्षअघि चितवनको भरतपुर महानगरपालिका–१८, शशीनगरमा एकै परिवारका तीनजनाले आत्महत्या गरे। सहरी क्लिनिक टोलकी ३५ वर्षीय आमा माया आलेमगर, १४ वर्षीय छोरी विनीता र १२ वर्षका छोरा विवेकले सलमा झुन्डिएर मृत्युवरण गरेका थिए । छोराले सुनाइड नोटमा लेखेका थिए, ‘बुबा, तपाईं हामीलाई नसोधी किन जानु भयो रु ममीले साह्रै दुःख मान्नु भएको छ ।’ नेपाली सेनामा कार्यरत उनका बाबु घटनाको दुई दिन अगाडि काठमाडौँ फर्किएका थिए ।

घटना ४

दुई वर्षअघि बझाङको सुर्मा गाविसमा एउटै रुखमा पासो लगाएर तीन बालिकाले सामूहिक आत्महत्या गरे, अघिल्लो वर्ष । सुर्मा गाविस–५ का १४ वर्षे जुनतारा पुजारा, १४ वर्षकै रेखा पुजारा र उनीहरूभन्दा एक वर्ष जेठी कविता बोहराले जङ्गलमा एउटै रुखमा नाम्लोले पासो लगाएर मृत्यु रोजेका थिए ।

पछिल्लो समय नेपालमा बर्सेनि आत्महत्याका घटना बढिरहेका छन् । सामूहिक आत्महत्याका श्रृंखला पनि भइरहेका छन् । सन् १९९० को दशकको तुलनामा अहिले आत्महत्याको दर ६० प्रतिशत वृद्धि भएको तथ्यांकले देखाउँछ । एक्लै आत्महत्याको निर्णयमा पुग्न तुलनात्मक रूपमा सहज होला तर सामूहिक आत्महत्याको निर्णयसम्म कसरी पुग्लान् ?

चितवनको सामूहिक आत्महत्या र धादिङको सामूहिक आत्महत्यामा सल्लाह भएको देखिन्छ । सामूहिक आत्महत्या सल्लाहबाटै हुने गरेको भेटिएको छ । सामूहिक आत्महत्यामा सबै जना राजी हुन्छन् ।

हरेक आत्महत्या पछाडि धेरै कारण हुनसक्छन् । तर, साझा समस्या भनेको सहनशीलताको अभाव नै हो । साना सन्तानलाई मार्ने वा मर्न प्रेरित गर्ने घटना अझ विस्मयकारी हुन्छन् । मनोविद् गोपाल ढकालका अनुसार क्षणिक आवेगमा आएर पनि आत्महत्या भइरहेका छन् । मानसिक सन्तुलन बिग्रेका कारणले पनि मानिसहरू आत्महत्या गरिरहेका हुन्छ । मनोविद् ढकालले भने, ‘सामूहिक आत्महत्या सल्लाहबाट हुन्छ, एउटाले प्रस्ताव गर्छ, अर्कोलाई आत्महत्याको लागि प्रेरित पनि गरिरहेका हुन्छ, अर्कोले आत्महत्या गर्न नमाने पनि प्रेरित गराउने काम सामूहिक आत्महत्यामा हुन्छ ।

उनका अनुसार अहिलेको पुस्तामा सहने शक्ति कम छ, अप्ठ्यारो स्थिति सामान गर्न सक्दैनन् । दुख परेपछि विकल्प आत्महत्या नै देख्छन् ।’ उनका अनुसार संकटसँग लड्ने मनोबल विकास गर्न नसक्दा मानिसहरूले आत्महत्या गरेका छन् । मनोविद् ढकालले भने, ‘कुनै घटनाले सबैलाई प्रभावित पारेको छ भने क्षणिक आवेगमा आएर सबैले आत्महत्या गर्छन् ।’

उनका अनुसार अधिक महत्वाकांक्षा राख्ने तर सोहीअनुरूप सफलता हात नपर्दा मान्छे विचलित हुन्छन् र संघर्ष होइन, मरणको बाटो रोज्छन् ।

‘सामूहिक आत्महत्याको एउटा कारण आक्रोश पनि हो । सुरुमै सबै मर्न सहमत हुँदैनन्, यस्तोमा एकले अर्कोलाई सहमत गराउन पटकपटक दबाब गर्छन्’ उनले भने, ‘आज मान्छेहरूलाई न आफूलाई अरूको साथ पाउँछु भन्ने विश्वास कम छ, आवेग बढी छ । मनलाई सन्तुलित गर्न सक्दैनन् । सबै कुरा भनेकै बेला चाहिएको छ, जब पाउँदैन, सहज बाटो अर्थात् आत्महत्यातिर लागिहाल्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *