रवीन्द्र मिश्रले भने- व्यक्तिभन्दा माथि नागरिकता !

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले नागरिकता विधेयक राष्ट्रिय सभाले फिर्ता गर्नुपर्ने बताएका छन् ।

नागरिकता विधेयक पारित भएपछि पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले नागरिकता विधेयकका कतिपय प्रावधान देशको हितमा नरहेकोले विधेयक फिर्ता हुनुपर्ने बताएका हुन् ।

उनले विधेयकका कतिपय कुरा सकारात्मक पनि रहेको भन्दै उनले खास गरी नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्कालै नागरिकता दिने व्यवस्था घातक हुने बताए । उनले भने, ‘यसका कयौँ प्रावधान सकारात्मक छन् तर नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाह लगत्तै नेपाली नागरिकता दिन सकिने व्यवस्था घातक छ ।’

संसदीय समितिले त्यस्ता महिलालाई ७ वर्ष नेपालमा निरन्तर बसोबास गरेपछिमात्र नागरिकता दिन गरेको सिफारिस सहितको विधेयक फिर्ता लिएर सो प्रावधान हटाइ सरकारले नयाँ विधेयक पेस गर्नु झनै घातक विषय रहेको उनको भनाइ छ ।

उनले अन्तर्राष्ट्रियस्तरमा पनि नागरिकताका सवालमा अनेकौँ प्रावधान रहेको अवस्थामा नेपालमा पनि वैवाहिक अंगीकृतको सवालमा प्रावधान राखिनुपर्ने जिकिर गरे । उनले भने, ‘अन्तर्राष्ट्रियरूपमा पनि धेरै देशमा आफ्ना नागरिकसँग विवाह गर्ने विदेशी नागरिकलाई निरन्तर ५/७ वर्ष बसोबास गरेपछि र अन्य कतिपय सर्तहरू पूरा गरेपछिमात्र नागरिकता दिने गरिन्छ । विदेशीहरूसँगको विवाहका सन्दर्भमा, नेपालीहरूको धेरैजसो बिहाबारी हुने भारतमा पनि सो समयसीमा ७ वर्ष तोकिएको छ ।’

त्यस्तै, उनले नागरिकतालाई व्यक्तिभन्दा माथि राखेर हेरिनुपर्ने बताए । ‘नागरिकताको विषयलाई व्यक्तिभन्दा माथि राखेर देशको बृहत्तर हितको परिप्रेक्ष्यमा हेरिनु पर्छ’, उनले भने, ‘नेपालमा निरन्तर रूपमा नागरिकताको विषयलाई राजनीतिकरण गर्नु राजनीतिक बेइमानी, गैरजिम्मेवारपना र राष्ट्रघात हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =