कमल थापा भन्छन्- राजा र राजसंस्थाकाे माया अझै छ (भिडिओसहित)

काठमाडाैँ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले आफूलाई राजा र राजसंस्थाकाे माया र सम्मान अझै भएकाे बताएका छन् । बिहीबार विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपालमा समाहित भएका नेता/कार्यकर्ताहरूलाई स्वागत गर्दै उनले यस्ताे बताएका हुन् । ४०/५० वर्षसम्म राजा र राजसंस्थासँग निकटकाे सम्बन्ध बनाएर काम गरेकाले पनि आफूसँग त्याे रहिरहेकाे उनले बताएका छन् । ‘मैले आफैँले झन्डै ५० वर्षसम्म राजा र राजसंस्थासँग निकट रहेर काम गरेँ । अझै मसँग राजा र राजसंस्थाप्रति सम्मान छ ।’
तर उनले आफू देश, काल, परिस्थिति, जनभावनाअनुरूप चलेकाे प्रष्टाेक्ति दिएका छन् । ‘कतिपय निर्णयहरू मन भारी बनाएर पनि देश र जनताकाे पक्षमा गर्नुपर्छ । यसैगरी राप्रपा नेपाल चलिरहेकाे छ,’ उनले भनेका छन् ।
उनले राजसंस्थाकै पक्षमा रहेकाहरूलाई पनि राप्रपा नेपालकाे वरपर गाेलबद्ध हुन आग्रह गरे । उनले राप्रपा नेपाल नेपालकाे एक वैकल्पिक राजनीतिक शक्ति भएकाे दाबीसमेत गरेका छन् । उनले भनेका छन्, ‘यदि तपाईं कांग्रेस-कम्यनिष्टबाट वाक्क हुनुहुन्छ भने, देशमा बलियाे राष्ट्रवादी शक्तिकाे पक्षमा हुनुहुन्छ भने, धर्म परिवर्तन, बेराेजगारबाट मुक्ति चाहनुहुन्छ भने, नेपालाई हिन्दू राष्ट्र बनाउन चाहनुहुन्छ भने आउनुस् हामी एकसाथ हिँडाैँ । राजसंस्थाकै पक्षमा हुनुहुन्छ भने पनि आउनुस् ।’








