आगामी निर्वाचनमा पनि अहिलेकै गठबन्धनबीच तालमेल हुन्छ : प्रवक्ता डा. महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा पनि अहिलेकै गठबन्धनबीच तालमेल हुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले स्थानीय निर्वाचनको नतिजा सन्तोषजनक आएको हुनाले अहिलेको गठबन्धन कायमै रहने दाबी गरे ।

पत्रकारहरूको जिज्ञासामा उनले भने, ‘मलाई विश्वास छ, यो गठबन्धन टुट्दैन, शीर्ष नेताहरू समेत गठबन्धन भत्काउने पक्षमा छैनन्, जोडेर जानेहरू पक्षमा छन् ।’ विषम परिस्थितिमा कांग्रेसको नेतृत्वमा सरकार बनेको भन्दै उनले अहिलेको गठबन्धनलाई दह्रोसँग अगाडि बढाउने बताए ।

नेता महतले पार्टीको विधान र निर्णय विपरीत कोही पनि बाहिर जान नसक्ने बताए । उनले हिजो स्थानीय तहको चुनावमा गलत गर्ने नेताहरूको कारबाहीको बारेमा प्रष्ट पार्दै भने, ‘जो प्रस्तावक, समर्थक बस्या छ, पार्टीको निर्णय विपरीत छ, त्यो स्वतः पार्टीमा रहँदैन भन्ने विधानमा व्यवस्था छ, कसैले केही गर्न सक्दैन ।’

प्रवक्ता महतले भोलिका दिनमा फेरि पार्टीको अनुशासनमा आएमा पार्टीले फेरि ल्याउन पनि सक्ने बताए ।  उनले भने, “सरकारमा रहेर देशको विकास कसरी गर्न सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान गएको छ ।” उनले भ्रातृ सङ्गठनले यही साउन महिनाभित्र पूर्णता पाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seventeen =