सोलुखुम्बु : थुलुङ दुधकोशीमा सबैभन्दा कम बेरुजु, सबैभन्दा बढी माप्य दुधकाेशीकाे

साेलुखुम्बु । जिल्लाका ८ स्थानीय तहहरूमध्ये सबैभन्दा बढी बेरुजु माप्य दुधकोशी गाउँपालिकाको र सबैभन्दा कम थुलुङ दुधकोशी गाउँपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को ५९औं वार्षिक प्रतिवेदनमा लेखा परीक्षण प्रतिवेदनमा माप्य दुधकोशी गाउँपालिकाको सबैभन्दा बढी ९.३६ र थुलुङ दुधकोशी गाउँपालिकाको सबै भन्दा कम १.४५ प्रतिशत बेरुजु देखिएको छ ।
महालेखाको प्रतिवेदनअनुसार माप्य दुधकोशीको ६३ करोड ४० लाख ६ हजारको लेखा परीक्षण गर्दा ५ करोड ९३ लाख ३० हजार रुपैयाँ बेरुजु देखिएको छ भने थुलुङ दुधकोशीको १ अर्ब ४ करोड १२ लाख ५० हजारको लेखा परीक्षण गर्दा १ करोड ५१ लाख ४७ हजार बेरुजु देखिएको उल्लेख छ ।
त्यस्तै, सोताङ गाउँपालिकाको ५ करोड ३२ लाख ५२ हजार रुपैयाँ रकम बेरुजु रहेको छ । ६८ करोड ६५ लाख ५२ हजारको लेखा परीक्षण गर्दा ७.७६ प्रतिशत बेरुजु देखिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाको ४ करोड १५ लाख ६६ हजार बेरुजु रहेको महालेखाले प्रतिवेदनमा छ । ६५ करोड ८३ लाख १३ हजारको लेखा परीक्षण गर्दा ६.६१ प्रतिशत रकम बेरुजु देखिएको हो ।
लिखु पिके गाउँपालिकाको २ करोड ६९ लाख ९५ हजार बेरुजु छ । ५० करोड ८१ लाख ९१ हजारको लेखा परिक्षण गर्दा ५.३१ प्रतिशत रकम बेरुजु देखिएको हो । नेचासल्यान गाउँपालिकाको २ करोड ९८ लाख ८१ हजार रुपैयाँ बेरुजु पाइएको छ । ९१ करोड १२ लाख ९१ हजारको लेखा परीक्षण गर्दा ३.२८ प्रतिशत रकम बेरुजु देखिएको छ ।
यस्तै महाकुलुङ गाउँपालिकाको २ करोड २१ लाख १० हजार बेरुजु देखिएको छ । ७१ करोड १८ लाख ८० हजारको लेखा परीक्षण गर्दा ३.११ प्रतिशत रकम बेरुजु पाइएको हो ।
जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डको ३ करोड २८ लाख ४९ हजार रकम बेरुजु पाइएको छ । १ अर्ब ४१ करोड ४६ लाख ७३ हजारको लेखा परीक्षण गर्दा २.३२ प्रतिशत रकम बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।








