प्रतिनिधिसभामा नागरिकता विधेयक पेश

काठमाडौँ । सरकारले प्रतिनिधिसभामा नागरिकता ऐन संशोधन विधेयक पेस गरेको छ।
पेस गर्नु अघि सांसदहरूले दर्ता गरेका विरोधका सूचनालाई प्रतिनिधिसभाका बहुमतले अस्वीकृत गरिदियो ।
त्यसपछि सभामुखले अनुमिति दिएपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेस गरेका हुन् । विधेयकमा संविधानले निदिृष्ट गरे बमोजिम नागरिकता प्रदान गर्ने सम्बन्धी व्यवस्था रहेको बताए । यो सँगै प्रतिनिधिसभामा नागरिकता ऐन संशोधन विधेयक अगाडि बढेको छ ।
बुधवार गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक पेस गर्न अनुमति मागेका थिए । तर, तीन जना सांसदहरूले अगाडि नबढाउन माग गर्दै विरोधका सूचना दर्ता गरेका थिए ।
नेकपा एमालेका सांसद भीम रावल र शेरबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए ।
विरोधको सूचना दर्ता गर्नुको कारण दिँदै एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेस गरिसकेको अवस्थामा विधेयक फिर्ता लिएर नयाँ ल्याउनु राज्य व्यवस्था समितिकै अवहेलना भएको तर्क गरे ।
एमालेकै अर्का सांसद तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्म विपरित भएको बताए ।
नेमकिपाका सांसद सवालले भने खुला सीमा नियमन गर्नुपर्ने, संघ र प्रदेशको अलग अलग नेपाली नागरिकताको व्यवस्था गर्नुपर्ने लगायतका माग राखे ।
तीनै जना सांसदले विरोधको सूचना फिर्ता लिएनन् । तीन वटै विरोधको सूचनालाई प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरिदियो । त्यसपछि गृहमन्त्री खाँणले विधेयक प्रतिनिधिसभामा पेस गरेका हुन् ।








