कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूले भने- गठबन्धन कायम राखाैँ

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरूले संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनबिचको तालमेललाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।
पार्टी कार्यालय सानेपामा मंगलबार बसेको बैठकमा धारणा राख्ने सदस्यहरूले स्थानीय तह निर्वाचनमा गठबन्धनबिचको तालमेल प्रभावकारी देखिएको भन्दै आगामी निर्वाचनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिएका हुन् ।
केही स्थानमा सन्तोषजनक नभएपनि अधिकांश स्थानमा तालमेलले राम्रो परिणाम दिएको उनीहरूको भनाई छ । यसअघिका कमीकमजोरीलाई सुधार गर्दै स्थानीय तहको मत परिणामका आधारमा अव तालमेल हुनुपर्ने सुझाव आएको कांग्रेस प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।
केही नेताहरूले पार्टीको फोरम बाहिर धारणा राख्ने क्रम बढेकाले यस्तो नगर्न सचेत गराइएको उनले बताए । महतले पार्टीभित्रको विमति र असन्तुष्टहरूले बैठकमा राख्न निषेध नगरिएको बताए ।
त्यस्तै उनले वर्तमान सरकार गठन भएको १ वर्ष पूरा भएको र सरकार सन्तोषजनक ढंगले चलेको दाबी गरे ।
बैठकमा मंगलबार रामचन्द्र पौडेल, चित्रलेखा यादव, उमा रेग्मी, जीपछिरिङ लामा, पदमनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना लगायतले धारणा राखेका थिए भने सह महामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा प्रदेश सभापतिहरूले मर्यादाक्रम नमिलेको भन्दै आपत्ति जनाएका छन् । केन्द्रीय कार्यसमितिको बैठक असार २९ गते दिउँसो १ बजे पुन बस्ने कांग्रेसले जनाएको छ ।








