नेपालमा निरन्तर चिनियाँ चासो किन ?

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपालको चरण दिने भ्रमणमा छन् । नेपाल आएको पहिलो दिन नै उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग छुट्टाछुट्टै भेट गरेका छन् ।
प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्रमन्त्री खड्कालाई सिंहदरबारमा भेटेका उनले नेपाली भूमिमा चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको प्रस्ट सन्देश दिएका भेटमा सहभागी परराष्ट्रका अधिकारीहरू बताउँछन् । लिउलाई स्वागत गर्न कांग्रेसबाट दिनेश भट्टराई, एमालेबाट राजन भट्टराई, माओवादीबाट सुरेन्द्र कार्की विमानस्थल पुगेका थिए ।
चार दिने नेपाल भ्रमणमा आएका लिउलाई आइतबार बेलुकी परराष्ट्र मन्त्री खड्काले रात्रिभोज दिए । चिनियाँ विदेश विभाग प्रमुख लिउले आज (सोमबार)सुन्दरीजल क्षेत्र भ्रमण गर्ने कार्यक्रम छ । त्यसपछि उनीले सोमबारै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने छन् । उनले माओवादी केन्द्रका अध्यक्ष दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पनि होटलमा भेट्ने कार्यक्रम रहेको छ ।
मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । त्यसपछि उनको माओवादीका नेता उमेश स्थापितलाई पनि भेट्ने कार्यक्रम छ । लिउ बुधबार बेइजिङ फर्कने छन् । लिउको भ्रमणलाई नेपालमा विशेष चासोका रूपमा हेरिएको छ । पछिल्लो समय नेपालमा चिनियाँ चासो बढेको पनि बढेको देखिन्छ । अमेरिकी सहयोग सम्बन्धी एमसीसी अनुमोदन गर्ने वा नगर्ने भनी नेपालमा बहस हुन थाले यता अझ चिनियाँ पक्षको नेपाल भ्रमण बाक्लिएको छ ।
पछिल्लो समय नेपालमा चिनियाँ चासो बढेको छ । अमेरिकी सहयोग सम्बन्धी एमसीसी अनुमोदन गर्ने वा नगर्ने भनी नेपालमा बहस हुन थाले यता अझ चिनियाँ पक्षको नेपाल भ्रमण बाक्लिएको छ ।
२०७६ को असोज ६-७ मा सी चिनफिङ विचारधारामाथि सीपीसी र तत्कालीन नेकपाबीच काठमाडौँमा भएको छलफलमा सहभागी हुन सीपीसी विदेश विभागका तत्कालीन प्रमुख सोङ ताओ नेपाल आएका थिए । त्यसबेला तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सोङबीच दुई पार्टीबीच भ्रातृ सम्बन्ध स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर समेत भएको थियो ।
२०७६ असोज २५-२६ मा चीनका राष्ट्रपति सी चिनफिङले दुई दिने राजकीय भ्रमणमा नेपाल आए । उक्त भ्रमण चीनबाट उच्च स्तरमा २३ वर्षपछि भएको नेपाल यात्रा थियो ।
२०७७ मङ्सिर १४ मा चीनका रक्षा मन्त्री वेई फेङहे एक दिने नेपालको औपचारिक भ्रमण गरे । त्यसबेला नेपाल र चीनबीच सैन्य सहकार्यको बारेमा पनि छलफल भएको थियो ।
२०७७ पुस ५ मा तत्कालीन केप ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेपछि विकसित घटनाक्रमसँगै नेकपा छिन्नभिन्न भयो ।
त्यसबेला तत्कालीन बदलिँदो राजनीतिक परिस्थितिलाई बुझ्नका लागि बेइजिङबाट चार सदस्यीय विशेष टोलीको नेतृत्व गर्दै सीपीसी विदेश विभागका तत्कालीन उपप्रमुख कुओ येचौ नेपाल आएका थिए । अहिले सीपीसी का विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने नेपाल भ्रमणमा छन् ।








