शेखर समूहले भन्याे – पार्टी विधानअनुसार चलेन !

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीलाई विधि विधानबाट चलाउनका लागि ध्यानाकर्षण गराउने भएको छ ।

आइतबार काठमाडौँमा बसेको कोइराला समूहको भेलाले पार्टी नेतृत्वले विधिविधानलाई पालना नगरेको भन्दै यस बारे बैठकमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसले अरूलाई गाइड गर्ने भएकाले सबैभन्दा पहिले आफ्नो विधानलाई पालना गर्नुपर्ने बताए ।

उनले आफूहरूको पार्टीमा कुनै असन्तुष्टि नरहेको र सबैले कांग्रेस भन्ने बित्तिकै कुनै कांग्रेस भनेर प्रश्न सोध्ने अवस्था आउन दिन नहुने बताए ।

त्यस्तै केन्द्रीय समिति बैठकमा सरकारको समीक्षा, बजेटले पारेको असर, भ्रष्टाचारका बारेमा पनि छलफल हुने उनले बताए । भण्डारीले स्थानीय तहको समीक्षा गर्दै पार्टीलाई फाइदा हुने गरी मात्रै गठबन्धनभित्र तालमेल हुनुपर्ने धारणा राखे ।

सो समूहले भातृ सङ्गठनका विषयमा पार्टी सभापतिले सबैसँग छलफल गर्ने भनिए पनि अहिलेसम्म छलफल नै नगरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *