अर्थमन्त्रीलाई कालाे झण्डा देखाउने यूथ कांग्रेसका कार्यकताहरू प्रहरी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को राजीनामा माग गर्दै सिंहदरबार दक्षिण गेटअघि कालो झण्डा र ब्यानरसहित प्रदर्शन गर्ने यूथ कांग्रेसका नेता/कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेकाे छ । उनीहरूले ‘भ्रष्ट अर्थमन्त्री राजीनामा दे’लगायतका नारा लगाउँदै कालाे झण्डासहित प्रदर्शन गरेका थिए । प्रहरीले १२ जना प्रदर्शनकारीलाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखेकाे छ ।
यूथ कांग्रेसका नेता मनाेज पुरीकाअनुसार उनीहरूमाथि ज्यादतीपूर्ण व्यवहार गरेर प्रक्राउ गरिएकाे हाे ।
अर्थमन्त्री शर्मामाथि करकाे दर निर्धारण व्यापारिक घरानाका व्यक्तिहरूकाे संलग्नामा गरेकाे आराेप छ । उनकाे राजीनामा सडकदेखि सदनसम्ममा मागिँदै आएकाे छ । तर उनले राजीनामा नदिने दाेहाेर्याउँदै आएका छन् ।
सदनमा समेत प्रमुख प्रतिपक्ष दल नेकपा [एमाले]ले राजीनामा माग्दै आएकाे छ भने सत्तारुढ दल नेपाली कांग्रेसकै कतिपय नेताहरूले पनि उनले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगनकुमार थापालगायतका नेताहरूले अर्थमन्त्री शर्माकाे राजीनामा माग्दै आएका छन् ।









